बाहबुँदे दिल्ली सम्झौतापछि कम्युनिष्टहरुसँगको सहकार्य नेपाली कांग्रेसका लागि ठूलो घाटा भयो

Uncategorized अन्तर्वार्ता

शंकर भण्डारी – केन्द्रीय सदस्य, नेपाली कांग्रेस


आगामी जेठ ३० गते स्थानीय निकायको निर्वाचन हुने मिति नजिकिएसँगै देश चुनावमय बन्दै गएका छ । देशका ठूला पार्टीका शिर्ष नेता देखि साना पार्टीका नेताहरु चुनावमा आफ्नो पक्षको महोल सृजना गर्न देश दौडाहामा निस्केका छन् । चुनावको सरगर्मी जति तातेको छ । त्यतिनै सत्तारुढ गठबन्धनभित्र चुनावी समीकरण र गठबन्धनको विषय पनि पेचिलो बन्दै गएको छ । सत्तागठबन्धनमा रहेका नेकपा माओवादी (केन्द्र) ,नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) सरकारको गठबन्धनसँगै चुनावी गठबन्धनको पक्षमा देखिएका छन् । यो विषयमा कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा पनि सकारात्मक देखिएका छन् । केही दिनयता देश दौडाहामा निस्किएका प्रधानमन्त्री देउवा तीनै तहको निर्वाचनसम्म गठबन्धन आवश्यक रहेको बताउने गरेका छन् । देउवा वर्तमान गठबन्धनलाई कायम राख्न चाहन्छन् किनभने उनलाई कांग्रेसले गठबन्धन नभए फेरि बाम गठबन्धन बन्ने आशंका छ ।
यतिबेला माओवादी केन्द्र र एकीकृत समाजवादीलाई चुनावी गठबन्धन आवश्यक छ । कांग्रेससँग गठबन्धन नभए माओवादी कतै फेरि एमालेसँग तालमेल हुने त होइन भन्ने आशंका देउवामा छ । तर प्रधानमन्त्री देउवाको दल कांग्रेस भित्र भने गठबन्धन गर्ने कि नगर्नेमा तीब्र मतभेत देखिएको छ। महामन्त्री गगन थापा देखि कांग्रेसका अधिकांक्ष केन्द्रीय नेताहरु कांग्रेसले गठबन्धन गर्न नहुने मत राख्दै आएका छन् । कांग्रेसभित्रै डा. शेखर कोइराला समूह भने कम्युनिष्टसँग गठबन्धन गर्न नहुने पक्षमा छ । कोइराला समूह भने केन्द्रबाट हुने कुनै पनि निर्णय नमान्ने पक्षमा छन् । गठबन्धन गर्ने नगर्ने विषयमा मतभेद जारी रहेका बेला प्रधानमन्त्री देउवा कै निकट रहेका पूर्वमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारी पनि कम्युनिष्टसँगको गठबन्धनले कांग्रेसलाई हित नहुने बताउँछन् । भण्डारीले कांग्रेस अब कसैसँग गठबन्धन नगरी चुनावमा होमीने बताएका छन् ।उनै भण्डारीसंग समसमायिक राजनीतिक, सत्तागठबन्धन र चुनावी गठबन्धनको विषयसँग केन्द्रित रहेर गरिएको कुराकानीको मुख्य अंश ः
कांग्रेसका अधिकांश नेता यतिबेला चुनाव प्रचार प्रशारका गाउँ गाउँ पुगेका छन् । तपाईं पनि गाउँमै हुनुहुन्छ, कांग्रेसको माहौल कस्तो पाउनु भएको छ ?
हो म तनहुँमा छु । हाम्रो पार्टी भित्र आपसी हार्दिकता र सद्भावको कमी भएको छ । हामीले पार्टीलाई अनुशासित ढंगले ब्यवस्थापन गर्न नसकिरहेको अवस्था रहेको छ । त्यसले गर्दा तनहुँको सन्दर्भमा तपाईंले मलाई सोध्नु भएको हो भने बिगतमा त्यही कारणले हामीले २०७४ को निर्वाचनमा प्रदेश र संघमा पराजित हुनुप¥यो ।
यद्यपि पालिका तहको निर्वाचनमा हामीले जिल्ला समन्वय समिति गठन गर्न सकेको थियौँ र हामीले नेतृत्व गर्ने अवसर आएको थियो । तनहुँ जिल्ला एउटा ऐतिहासिक जिल्ला हो । प्रजातान्त्रिक आन्दोलनले नेपाल कांग्रेस पार्टी संगठनको दृष्टिकोणल म आफै नेतृत्वमा रहँदै गर्दा पार्टीमा हिजोको साख पनि गिर्दै गएको सर्वत्र अनुभूति सबैले गरेको अवस्थामा मलाई दुख पनि लागेको छ । त्यसकारण मेरो प्रयत्न के छ भने सबै साथीलाई मिलाएर, सबै नेतालाई मिलाएर र सबै जना मिलेर अव निर्वाचन जित्ने काँग्रेस बनाएर अव अघि बढ्नु पर्छ भन्ने मेरो चिन्तन र सोच रहेको हुनाले त्यही अनुरुप म अहिले क्रियाशील रहेको छु ।
तपाईं अहिले गाउँगाउँ घुमिरहेको अवस्थामा त्यहाँको गाउँ ठाउँका कांग्रेसका समर्थक, शुभेच्छुक र कार्यकर्ताहरु गठबन्धनको विषयमा के भन्छन् ?
नेताहरुले भनिहाल्नु भयो भन्दैमा सबै कुरा हुन्छ भन्ने कुरा मान्ने अवस्थामा छैन । मैले बुझे अनुसार गठबन्धनको पक्षमा पार्टीका र जिल्ला तहका नेता साथीहरु हुनुहुन्न । त्योे कुरामा म पनि स्पष्ट छु । यो एक दुई वटा निर्वाचनको मात्र कुरा होइन, समग्रमा विशेषगरी १२ बुँदे दिल्ली सम्झौतादेखि कांग्रेसले जसरी कम्युनिष्टहरुसँग सम्झौता गर्दै हामी अगाडि आयौँ । त्यहीँबाट गल्ती भएको छ । त्यसकारण कुनै पनि अवस्थामा कहिले पनि कम्युनिष्टहरुसँगको सहकार्य कांग्रेसको हितमा हुँदैन । कांग्रेसका लागि अनुकूल हुँदैन । यो कुरा वीपीले पहिले नै परिभाषित गरिसक्नुभएको थियो । वीपीले त्यही बेला आफ्नो स्पष्ट दृष्टिकोण राखिसक्नु भएको थियो । कम्युनिष्टहरुसँगको सहकार्यले कम्युनिष्ट बलियो हुँदै गएको र कांग्रेसको संगठन कमजोर हुँदै गएको वर्तमान अवस्था हो । त्यसकारण हाम्रो प्रतिस्पर्धा नै कम्युनिष्टहरुसँग हो । हामीले चुनाव जित्ने नै कम्युनिष्टहरुलाई पराजित गरेर हो । जोसँग चुनावमा प्रतिस्पर्धा गर्नु छ उही सँग मिलेर जानु भन्नु अत्यन्तै अब्यवहारिक र अराजनैतिक विषय हो ।
भर्खरै तपाईंले भन्नु भएको कुरा नेपाली कांग्रेसको नेता शंकर भण्डारीको भनाइ हो कि, त्यहाँका स्थानीयको हो कि, कांग्रेस पार्टीको भनाइ हो ?
देशभरिका धेरै भन्दा धेरै पार्टीका नेता साथीहरुको भनाइ दृष्टिकोण र बुझाई हो ।
तपाईं कम्युनिष्टहरुसँगको सहकार्यले नेपाली कांग्रेसलाई नाफा भन्दा घाटा बढी भएको भन्नु भयो । तपाईंहरुले प्रत्यक्ष २३ सिट जितेको पार्टी अहिले सरकारको नेतृत्व गरेको छ । तपाईंहरु अहिले आफ्नो ढंगले अरु प्रदेशहरुमा पनि सरकार बनिरहेको अवस्थामा त्यति बेला त तपाईंलाई कम्युनिष्टहरु कै साथले त्यहाँ पु¥याएको हो नि । अनि यति सजिलै कम्युनिष्टहरुले हामीलाई अप्ठेरो पा¥यो कसरी भन्नु भयो ?
कुरा के छ भने हामी ३० वर्ष पञ्चायतसँग हामी लड्यौँ । हाम्रा धेरै नेताहरु जेल बस्नु भयो । धेरै नेता साथीहरुले धेरै प्रकारको यातना भोग्नु भयो । कतिपय साथीहरु पञ्चायत शासकहरुबाट मारिनु भयो । तर हामी आफ्नो विचार, सिद्धान्त, नीति र कार्यक्रम लिएर टिकेका थियौँ र २०४६ सालको आन्दोलनको परिवर्तनको नेतृत्व हामीले गर्न सकेका थियौँ ।
त्यसकारण गठबन्धन गरेर रुपमा चित्त बुझाउने ठाउँ त रहन्छ । तर दीर्घकालीन रुपमा गठबन्धनले कांग्रेसलाई फाइदा पु¥याउँदैन । र अर्को कुरा यो सरकार हामीले बनाउनु पर्छ भनेर बनाएको होइन । कम्युनिष्टले जनतालाई धोका दिएका कारण, जनमतलाई अपमान गरेका कारण हामीले देशप्रतिको जिम्मेवारी सरकारको नेतृत्व गरेका हौँ । त्यसकारण यो सरकार हाम्रो रहरले भन्दा पनि कम्युनिष्टको कारणले हामीले नेतृत्व गरिदिनु परेको अवस्था हो ।
त्यसकारण कांग्रेस अब भोलिको दिनमा आफ्नो विचार, नीति, सिद्धान्तले जनताको विश्वास जितेर विगतमा भएका कमिकमजोरीलाई सुधार्दै देश निर्माणको अभियानको नेतृत्व गर्ने पाटीको रुपमा अगाढि बढ्नुपर्छ । त्यसैले अब जनतालाई कांग्रेस र कम्युनिष्टमा के–के फरक छ भन्ने कुरा आम जनताले बुझ्न पाउनु पर्छ । त्यसैले कांग्रेसका तल्लो तहको नेता देखि पार्टीका धेरै नेताहरु गठबन्धन गर्नु हुँदैन भन्ने पक्षमा देखिनु भएको छ ।
यो कुरा त पहिले तपाईंको पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले बुझ्नु प¥यो नि ! उहाँ त गठबन्धन गरेर नै जाँउ भन्दै हुनुहुन्छ । तपाईंले गठबन्धन हुँदैन भनेर हुन्छ र ?
तपाईंले सही कुरा गर्नु भयो । अब हामी केन्द्रीय समितिको बैठकमा यो विषयमा पनि बृहत छलफल हुन्छ । एउटा कुरा के छ भने हामीसँग बिगतको पनि अनुभव छ । विगतमा २०७४ सालमा भएको केही स्थानीय तहको निर्वाचन र केही संघीय निर्वाचनको अनुभूती पनि छ । देशभरको कार्यकर्ता साथीहरुलाई त्यो बेला भएको गठबन्धनले कांग्रेसलाई नोक्सान भएको अनुभूती गरेका छन् । त्यो बेला चितवनको मेयरदेखि डा.बाबुराम भट्टराईलाई जिताएको विषयले कांग्रेसका लागि नोक्सान भएका कारण साथीहरुले अत्यन्तै गम्भिर रुपमा लिनुभएको छ । त्यसैले अब नेताले भन्दैमा पार्टीका नेता कार्यकर्ताले मानिहाल्छन् भन्ने अवस्था छैन । त्यसकारण अब समयमा नै हामी सचेत भएर कांग्रेस आफै र एक्लै चुनाव जित्ने संगठन निर्माण बनाउने तर्फ लागेर बलियो पार्टी बनाएर एक्लै चुनाव जित्ने बाटोमा अगाढि बढ्नु पर्छ ।