जनतासँग कुनै सरोकार छैन ?

Home Feature समाचार

फेरि आम जनताले महँगीको मार खेप्नुपर्ने बेला आएको छ । यो मार माथिदेखि तलसम्म, जुनै समूहका मानिस हुन्, तिनको थाप्लोमा पर्ने निश्चित छ । अझै, मध्यमवर्गीय र निम्नवर्गीयलाई विना हेलमेटको टाउको डन्डा बर्सिएभन्दा कम हुन्न होला । सम्पन्नलाई पनि हेलमेट माथिको मार भएको छ । मार त आखिरमा मार नै हो । रन्थन्याउँछ नै । तर, हेलमेट नभएकाहरुको अवस्था के हुन्छ ? त्यतातिर कसैले पनि सोचेको देखिँदैन । न त आयल निगमले । न त सरकारले । न त उपभोक्ताहरुको हक हितका ठूला ठूला कुरा गर्ने उपभोक्ता समितिहरुले नै । आखिर किन भइरहेको छ नेपालमा यस्तो ? आखिर किन नेपालीहरुमाथि सरकारी अत्याचार भइरहेको छ ? खै, कसले बोल्ने यतातिर ।
आयल निगमले एकै पटक पाँच रुपैयाँ बढायो पेट्रोल, डिजेल र मट्टितेलको भाउमा । अहिलेको पेट्रोलको भाउ १५० पुगिसकेको छ । डिजेलको भाउ पनि त्यही अनुपातमा बढेको छ । र यही भाउले सबैतिर असर गरेको छ । पेट्रोल डिजलको भाउ बढनाले सामान ढुवानीको भाउ बढेर गएको छ र ढुवानीले वस्तुको मूल्यलाई आकाशमा पु¥याएको छ । पेट्रोलियम पदार्थको मूल्यका कारण तिउन तरकारी चामल दाल र खाने तेलमा समेत मूल्य बढेर गएको छ । र त्यसको असर सबैभन्दा बढी सामान्य नागरिकलाई परिरहेको छ । जसको अवस्था साच्चिकै नाजुक छ । अहिले आएर फेरि सार्वजनिक यातायातको भाँडा दर बढाउने चर्चा बाहिर आएको छ । यसरी सार्वजनिक यातायातको भाउ बढने
हो भने त्यसले सबैभन्दा बढी आम नागरिकको खल्तीलाई असर गर्ने निश्चित छ । बसमा यात्रा गर्दा १५ रुपैयाँले पुग्ने ठाउँमा अहिले २०÷२२ रुपैयाँ ठटाउन थालिसकेका छन् । आजको महँगीको यो अराजक अवस्था हेर्दा लाग्छ सरकार नै छैन यो देशमा । यदि सरकार थियो भने त्यसले जनताको हक हितलाई बढि हेर्ने थियो । तर सरकारले त्यस्तो कहिले पनि गरेको देखिँदैन । खबर अनुसार भारतबाट पेट्रोल किन्दा ९० रुपैयाँको हाराहारीमा पर्छ रे । तर सरकारले कर यति थोपरेको छ कि कर मात्रै ६० रुपैयाँ तिर्नुपर्छ उपभोक्ताले । यदि सरकारले जनताको हितलाई ध्यानमा राख्ने हो भने करको दरभाउ कम गरेर जनतालाई राहत दिन सक्दैन ? तर सरकार गर्न चाहँदैन । किनकी सरकारमा बसेका पार्टीहरुको दाउ जनतालाई सुख दिनु भन्दा आफूले चरम सुख लिनु मात्रै छ । त्यसैले त अहिलेको गठबन्धनलाई सामाजिक सन्जालमा ठग बन्धन भनिँदै आएको छ । तर पनि सरकारले यता सोचेको छैन । किनकी सरकारलाई जनतासँग कुनै सरोकार नै छैन ।