उपेन्द्र यादवले बाबुराम भट्टराईलाई कारवाही गर्न मिल्दैन

अन्तर्वार्ता

गंगानारायण श्रेष्ठ – नेता, जसपा


विवाद उत्कर्षमा पुगेको जनता समाजवादी पार्टी (जसपा) अन्ततः फुट्ने पक्का भएको छ । संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले काठमाडौंमा र अध्यक्ष उपेन्द्र यादवले वीरगञ्जमा समानान्तर विस्तारिक बैठक आयोजना गरेपछि जसपा फुट्ने पक्का भएको हो । विधान अनुसार पार्टी विभाजन हुन बाँकी रहेपनि राजनीतिक हिसावले भने पार्टी विभाजित भइसकेको छ । भट्टराई पक्षको भेलामा जम्मा दुई जना सांसद मात्र सहभागी भएका थिए भने केन्द्रीय सदस्यको संख्या पनि सार्वजनिक गरिएको छैन । उपेन्द्र यादव पक्षले भट्टराईलाई कारवाही गर्ने चेतावनी दिइरहँदा भट्टराई समूहले भने विधान अनुसार यादवले भट्टराईलाई कारवाही गर्न नसक्ने दाबी गर्दै आएको छ । भट्टराई पक्षले यादव एकलौटी ढंगले अगाडि बढेको आरोप लगाउँदै पार्टी पुनर्गठन गर्ने बताउँदै आएको छ । अब विचार र सिद्धान्त मिल्ने दलसँग एकता र ध्रुवीकरण गर्दै अगाडि बढ्ने तयारी गरिहेका भट्टराई पक्षका नेता गंगानारायण श्रेष्ठसँग गरिएको कुराकानीको अंश ः
तपाईंहरुले औपचारिक रुपमा पार्टी विभाजन गर्नु भयो, केन्द्रीय समितिको विस्तारित बैठक पनि सकियो के–के निर्णय गर्नुभयो ?
पार्टी पुनर्गठनको निर्णय गर्दै दुई दिनसम्म चलेको केन्द्रित समितिको बैठक सम्पन्न ग¥यौं । अब पार्टी विभाजन गरेको भन्दा पनि हामीले पार्टी पुनर्गठन गरेका हौं । हामीले उपेन्द्र यादवलाई वीरगञ्जको बैठक स्थगित गर्नुस्, एकै ठाउँमा बैठक गरौं भनेका थियौं । त्यसका लागि उहाँ तयार हुनु भएन । रुपान्तरणका लागि हामीले अन्तिमसम्म पनि प्रयाय ग¥यौं । तर उहाँ तयार नभएपछि हामी पुनगर्ठन गर्ने निर्णयमा पुग्यौं ।
तपाईंहरुले जसपलाई पुनर्गठन गरिरहँदा तपाईंहहरुसँग कतिको मान्छे छन्, अब जसपाबाट मात्रै दिने कि बाहिरबाट पनि मान्छे लिने हो ?
त्यो त अब सल्लाह गर्दै जाने हो । सुरुमा हामीले पार्टी पुनर्गठन गरिसकेपछि थप कार्यनीति त्यो पुनर्गठित पार्टीले गर्छ । यो काम चाँडै हुन्छ । हामीले पुनर्गठित पार्टीको नामका विषयमा अहिले छलफल गरिरहेका छौं, चाँडैं टुंग्योमा पुग्छौं । जनता समाजवादी पार्टीभित्र हाम्रा जुन प्रकारमा मुद्दाहरु थिए, ती सबै विचार र मुद्दाको अपनत्व हामीले लिने हो । ती हामीले नै अगागि सारेका विचार र मुद्दाहरु हुन् । त्यसमा केही विषयहरु थप गर्दै समृद्ध गर्दै लैजान्छौं । खासगरि समानुपातिक समावेशी लोकतन्त्रको जगमा हामीले हाम्रो पुनर्गठित पार्टीलाई चलाउँछौं । त्यसमा समामुहिक नेतृत्व प्रणाली लागू गर्छौं । अब निर्वाचन पनि आइरहेको छ, निर्वाचनमा हामी एकदमै लचिलो भएर आवश्यकता हेरेर अन्य राजनीतिक दलसँग गठबन्धन पनि गर्छौं निर्वाचनमा । यिनै कार्यक्रमहरु अगाडि बढाउँछौं ।
पार्टी पुनर्गठन गरेसँग अब तपाईंहरु पाँच दलीय गठबन्धनबाट बाहिरिने हो?
होइन, हामीले त्यस्तो घोषणा कहाँ गरेका छौं र ? हामीले त्यस्तो घोषणा गरेका छैनौं । तर आवश्यकता अनुसार हामी जोसँग पनि गठबन्धन गर्न तयार हुन्छौं ।
उपेन्द्र पाँचदलीय गठबन्धनमा हुनुहुन्छ, अब तपाईंहरु कुन गठबन्धनमा जाने हो त ?
अहिलो अर्को गठबन्धन बनेको छैन । अर्को कुरा हामीले पाँच दलीय गठबन्धनबाट निस्कियौं भनेर घोषणा पनि गरेका छैनौं । के मात्रै हो भने पाँच दलीय गठबन्धन र आवश्यकता अनुसार अन्य दलसँग पनि गठबन्धन गरेर जान हामी तयार छौं ।
तपाईंहरुले पुनर्गठन गरेको पार्टीमा जसपाका कति जना सांसद छन् ?
यो विषयमा हामीसँग यति जना र उतिजना भनेर संख्या गणना गर्न उचित ठान्दैनौं । बाबुराम भट्टराई, महेन्द्र यादव हुनुहन्छ । अन्य सांसदको नाम समय आएपछि बताउँला । हामीले पहिलादेखि नै भन्दै आइरहेका छौं, कि हामीसँग दश जना भन्दा बढी सांसद हुनुहुन्छ, र उहाँहरुको नाम समय आएपछि सार्वजनिक गरिन्छ ।
केन्द्रीय समितिमा कतिजना तपाईंहरुसँग छन् ?
केन्द्रीय समितिका कति जना साथीले हस्ताक्षर गर्नु भएको छ भनेर मैले बुझ्न पाएको छैन । अहिले न उपेन्द्रजीसँग केन्द्रीय सदस्यको बहुमत छ, न हामीसँग बहुमत छ । दुवैतर्फ बहुमत पुग्ने अवस्था देखिँदैन । केही सदस्यहरु यता पनि सहभागी नहुने र उता पनि सहाभागी नहुने जुन खालको अवस्था देखिएको छ, यस्तो अवस्थामा अब के हुन्छ अहिले ठ्याक्कै भन्न सकिँदैन । कानुनी रुपमा हामीले पार्टीलाई पुनर्गठन गर्ने बेलामा यी सबै नाम सार्वजनिक हुन्छ ।
त्यसोभए अब तपाईंहरु उपेन्द्र यादवलाई कारवाही गर्ने तहमा पुग्नुभएको हो ?
अहिले हामी कसैलाई पनि कारवाही गर्ने तिर जाँदैनौं । अहिले पनि उपेन्द्र यादवजी आउनुभए हुन्छ ।
तर उपेन्द्र यादवले त बाबुराम भट्टराईलाई कारवाही गर्छौं, काठमाडौंमा बसेको बैठक विधान विपरित छ भन्नु भएको छ नि !
हाम्रो आँखाबाट हेर्दा उहाँ अनुशासनहीन भएर बैठक बोलााउनु भएको छ । त्यसो हुनाले उहाँले गरेको कारवाहीको कुनै अर्थ रहँदैन । पार्टीको बहुमत सदस्य उपस्थित नभएको बैठकले कसरी कारवाही गर्न मिल्छ ? उहाँले कारवाही गर्ने नैतिक बल कसरी राख्नु हुन्छ ? अर्को कुरा उहाँले बाबुराम भट्टराईलाई कारवाही गर्न सक्नुहुन्छ ? हाम्रो विधानले त आफू भन्दा तल्लो निकायलाई कारवाही गर्छ वा आफू बराबरकोलाई बारवाही गर्छ । बाबुराम भट्टराई संघीय परिषद अध्यक्ष हो, महाधिवेशन नभएको अवस्थामा सर्वोच्च संरचना भनेको संघीय परिषद हो । अनि संघीय परिषद उपेन्द्र यादव मातहत रहने संरचना हो र ? बाबुराम भट्टराई उपेन्द्र यादव मातहतमा रहेको कार्यकर्ता हो र ?
तर संघीय परिषद अध्यक्षलाई बैठक बोलाउने अधिकार छैन भन्ने पनि त कुरा आएको छ ?
विशिष्ट अवस्थामा विशिष्ट ढंगले बैठक बोलाइन्छ । हाम्रो विधानले बैठक बोलाउन नपाइने भनेको छैन । विधानमा बैठक बोलाउने धाराहरु छन् । सामान्य अवस्था भएको भए ठिकै हो कि संघीय परिषद अध्यक्षले बैठक बोलाउने होइन । तर सामान्य अवस्थाभन्दा बाहिर जाँदा खेरी पार्टीका २५ प्रतिशत केन्द्रीय सदस्यहरुले बैठक बोलाउन सक्छन् ।
जसपा विभाजन पछि अब तपाईंहरुको राजनीतिक यात्रा के हुन्छ ? माओवादी केन्द्रसँग एकता नगर्ने हो ?
माओवादी केन्द्र जाने भन्ने होइन । अहिले हामीले पार्टी पुनर्गठन गरेका छौं । यो पुनर्गठित पार्टीमा छलफल गर्छौं । यो पुनर्गठन कहीँ मिसिन वा प्रवेश गर्न गरेको त होइन नि । हामी कहीँ प्रवेश गर्ने होइन, तर पार्टीको विचार मिल्यो भने पार्टी धु्रवीकरण वा एकीकरण चाहीँ हुन सक्छ । एउटा व्यक्ति वा समूह भए कतै प्रवेश गर्ने कुरा हुन्छ, हामी त पार्टी नै पुनर्गठन गरिरहेका छौं । यो पार्टीले आफ्नो विचार र कार्यक्रम मिल्ने पार्टीसँग एकता वा ध्रुवीकरण गर्न सक्छ ।
महन्थ ठाकुरले नेतृत्व गरेको लोपसासँग तपाईंहरुको पार्टीको एकता हुन्छ ?
म कुनै पनि पार्टीको नाम लिन चाहन्न । तर, हाम्रो विचार र कार्यक्रम मिल्ने पार्टीसँग एकता वा ध्रुवीकरण गर्न सक्छौं । अहिले नै यो पार्टी वा त्यो पार्टी भन्ने छैन ।
आगामी निर्वाचनमा तपाईंहरुको पार्टी एक्लै चुनावमा जान सक्छ ?
एक्लै चुनावमा जान नसक्ने भन्ने होइन । तर अहिलेको अवस्थामा एक्लैभन्दा पनि गठबन्धन गरेर जाँदा राम्रो हुन्छ भन्ने नेता कार्यकर्ताको सुझाव आएको छ ।
एमालेसँग पनि चुनावमा तपाईंँहरुको तालमेल हुन सक्छ ?
एमालेसँग पनि हुन सक्छ । कांग्रेससँग र माओवादी केन्द्रसँग पनि तालमेल हुन सक्छ । विचार र सिद्धान्त मिल्ने सबै दलसँग हामी तालमेल र ध्रुवीकरण हुन सकछ । अहिलेको निर्वाचन प्रणाली अनुसार पनि चुनावमा तालमेल गरेर जाँदा राम्रो परिणाम आउन सक्ने अवस्था छ । त्यसैले तालमेल गर्ने विषयमा हामी खुला छौं ।