पाँचदलीय गठबन्धनले एमालेलाई हराउन सक्दैन युवराज ज्ञवाली – उपाध्यक्ष, नेकपा एमाले

अन्तर्वार्ता


नेकपा (एमाले)को जिल्ला अधिवेशन देशभर एकसाथ भइरहेको छ । तयारी के भइरहेको छ, कस्तो नेतृत्व ल्याउदै हुनुहुन्छ ?
पुस २३ गते पहिलेको निर्धारित समय अनुसार देशभर एकैपटक जिल्ला अधिवेशन हुँदैछ । त्यसको उद्घाटन पार्टीको केन्द्रीय कार्यालयको कन्ट्रोल रुमबाट पार्टी अध्यक्ष केपी शर्मा ओली गर्नुभएको छ । साथै, उहाँले देशभरी एकसाथ भर्चुअल माध्यमबाट सम्बोधन पनि गर्नुभएको छ । तर, केही जिल्लामा त्यहाँको विशेष कारणले गर्दा आज नहुन सक्छ । सबै ठाउँमा राम्रो तयारी भइरहेको छ । मैले बुझ्दा देशभरि नै पार्टीका नेता कार्यकर्ताहरुले भव्य तयारी गरिरहनु भएको छ । नेतृत्व छनोटको लागी सकेसम्म सर्वसम्मत गर्ने प्रयास भइरहेको छ ।
उसोभए सबैठाँउ सर्वसम्मत हुन्छ, अथवा निर्वाचन हुन्छ ?
यसको लागि सकेसम्म सबै जिल्लामा सर्वसम्मत प्रयास भइरहेको छ । किनभने अब चुनाव पनि आइसकेको छ । पार्टीलाई एकतावद्ध रुपमा अगाडि बढाउनपर्नेछ । सबै जना एकढिक्का भएर जानुपर्छ । अब अहिले अवस्थामा एकथरि साथीहरुले पार्टी विभाजन गरेका छन् । त्यसले थोरै भएपनि नोक्शान पुर्याउन सक्छ । तर, त्यति ठूलो नोक्सानी त हुँदैन । त्यसैकारणले गर्दापनि हामी सकेसम्म सर्वसम्मतरुपमा अगाडि बढ्नेछौं । तर, त्यसो हुन नसकेका ठाउँमा भने निर्वाचनकै माध्यमबाट हामीले जिल्ला नेतृत्व चुन्ने प्रयास गर्नेछौं ।
तपाईंहरुले किन सर्वसम्मतिमा जोड दिनुभएको ? पार्टीभित्र लोकतान्त्रीक पद्धतिबाट निवार्चित भएर आउदाँ राम्रो हुन्थ्यो होला नि होइन ?
होइन, हामीले दबाब र जबरजस्ती कसैलाई पनि गरेका छैनौं । दुई प्रक्रिया खुल्ला रहेको छ । सर्वसम्मति गरेर एकअर्कालाई साथ दिने हो भने राम्रो नै हुन्छ । त्यसो हुनसकेन भने निर्वाचन पद्धति छ । म पनि अहिले दाङमा छु । मैले यहाँ कसैलाई पनि यसो गर उसो गर भनेर भनेको छैन । यहाँका अन्य नेताहरुले पनि दबाव दिने कुरा हुँदैन् । आकांक्षीहरु धेरै नै छन् । धेरे वर्ष देखि पार्टीमा काम गरेका नेताहरु हुनुहुन्छ । उहाँहरुको आकांक्षा हुनु स्वभाविक पनि हो । त्यसैले सबैभन्दा राम्रो भनेको सर्वसम्मति हो । तर, त्यसो हुन सकेन भने निर्वाचन छ । निर्वातनलाई रोक्ने कुरा पनि हुँदैन् ।
नेकपा (एमाले) फुटेपछि तपाईंहरुलाई देशभरि घाटा भएको छ, जिल्लामा पनि त्यत्तिकै असर परेको छ । अनि अहिले पनि जिल्लामा प्रतिष्पर्धा गर्ने नेताहरु छन् र ?
हिजो नेकपा (एमाले)लाई बनाउन लाग्नुभएका नेताहरु नै आजको अवस्थामा एमालेलाई धुलो चटाउने भनेर लाग्नुभएको छ । पाँच दलीय गठबन्धन बनाएर एमालेलाई सिध्याउने अभियानमा पनि लाग्नुभएको छ । एमालेलाई जित्न नेपाली काँग्रेसले पनि सक्दैन् । अन्य पार्टीको त कुरा नै नगरौ । नेपालको राजनीतिमा नेकपा (एमाले)सँग एक्लाएक्लै प्रतिष्पर्धा गर्नसक्ने क्षमता कसैसँग पनि छैन् । गाउँगाउँ र जिल्ला–जिल्लामा त्यस्तो अवस्था देखिन्छ । त्यसैले पाँच दल मिलेर एमालेलाई हराउन सकिन्छ कि भन्ने उहाँहरुको प्रयास हो । सबै मिलेर आएपनि एमालेलाई हराउन धेरै गाह्रो छ । एमालेको नेतृत्व गरेका नेताहरुनै अहिले एमाले सिध्यान लाग्नुभएको छ । यो धेरै दुःखद कुरा हो । नेपालको कम्युनिष्ट आन्दोलनलाई सिध्याउन योजनावद्द ढंगले काम भइरहेको छ । त्यसलाई तोड्नको लागि एमालेका सम्पूर्ण नेताहरु एकढिक्का भएर लागनुपर्ने अवस्था रहेको छ । जसले यो पार्टीलाई एकतावद्ध बनाउनुपर्छ भनेर लागेका छन् ति सम्पूर्ण नेताहरु एकतावद्ध हुन जरुरी छ । कतिपय चित्तनबुझेका कुराहरु हुनसक्छन् । केहि व्यक्तिगतकुरा होलान, कतिपय सांगठनित कुरा होलान, कतिपय कार्यशैली र प्रवृतिका कुराहरुपनि हुनसक्छन् । तर, ति कुराहरुलाई बसेर आपसमा समझदारी गर्नुपर्छ भन्ने कुरा हो । एउटा नयाँ अवस्या के छ भने अहिले पार्टीभित्र कुनै गुटबन्धी छैन् । तर, आफ्ना(आफ्ना व्यक्तिगत कुरा र व्यक्तिगत धारणा सबैका हुन्छन् । त्यस्ता व्यक्तिले आफ्ना कुरा प्रष्टरुपमा राख्न पाउन्छन् । माथिदेखी तलसम्म सबैले आफ्ना कुरा राखिरहेका छन् । पार्टी कुनैपनि पदमा गएर काम गर्ने चाहना धेरैको हुन्छ । तरपनि ति मध्य को राम्रो भनेर छलफल गरेर अगाडि बढ्नु नै सबैभन्दा राम्रो कुरा हो ।
झलनाथ खनालले अहिलेको अवस्थामा निर्वाचन भयो भने नेकपा (एमाले)ले एकसिट पनि जित्दैन भन्नु भएको छ । यस विषयमा तपाईं के भन्नुहुन्छ ?
हामीपनि जनातका बिचमा हिँडिरहेका छौं । देशभरिका जनताको भावना बुझीरहेका छौं । नेकपा (एमाले)लाई पराजित गर्न सकिदैन् भनेर नै उहाँहरुले गठबन्धन गर्नुभएको होइन् र ? उहाँहरु आफ्नो पार्टीले एक सिट पनि जित्न सकिदैन् भनेर आफैमाथि विस्वास नभएर गठबन्धन गर्नुभएको छ । उहाँहरु एक्लैले जितेर देखाएर भइहाल्यो नि । नेकपा (एमाले) अहिलेको अवस्थामा निर्वाचन भए बहुमत नभएपनि ठूलो दल बन्ने त निश्चित छ । अब अहिले हुन लागेको राष्ट्रियसभाको निर्वाचनमा पहिलेनै निर्वाचित भएका प्रतिनिधिहरुले मत दिने भएको हुँदा यसपटक केहि समस्या हुन सक्छ । यो साँचो कुरा हो । तर, अब आउने नयाँ चुनावमा यस्तो अवस्था हुँदैन् ।
राष्ट्रियसभाको निर्वाचनमा नेकपा (एमाले) ले एक सिट पनि जित्ने अवस्था छैन होइन ?
पुराना प्रतिनिधिहरुले गर्दा यसपटक त्यसो हुनसक्छ । तर, जनताले प्रत्यक्षरुपमा भोट हाल्ने जुन निर्वाचन हुन्छ त्यसमो नेकपा (एमाले)ले शानदार भोट ल्याएर विजय हुनेछ ।
नेकपा (एमाले)ले लामो समयसम्म संसद चल्न दिएको छैन् । किन एमालेले नेपालको राजनीतिलाई संकटग्रस्त बनाउन चाहेको ?
होइन, नेकपा (एमाले)ले यस्तो गर्न चाहेको होइन् । सत्तापक्ष र प्रतिपक्षबिचमा वार्ता, संवाद र कुराकानी हुनपर्छ । त्यसको आधारमा निष्कर्शमा पुग्नुपर्छ । अब अहिले प्रधानमन्त्रीले हाम्रो अध्यक्ष केपी शर्मा ओलीलाई भेट्ने कुरा पनि छ । रामचन्द्र पौडेलजीले भेट्नुभयो भन्ने कुरा पनि आएको छ । छलफल गरेर कतिपय विषयमा सहमतिपनि गर्नुपर्छ किनभने हामी सबै मिलेर लोकतन्त्र ल्याएका हौं । त्यसैले कतिपय साझा समस्याका विषयमा आपसमा समझदारी गरेर टुंग्याउनु पर्छ । मेरो विचारमा मलाई के लाग्छ भने नेताहरु बसेर अहिले संसदको गतिरोध जुन छ, त्यसलाई कसरी हल गर्ने भन्नेकुरामा लाग्नुपर्छ । भोली चुनावमा हामी प्रतिष्पर्धा गर्ने नै हो । जनताले जसलाई मत दिन्छन् त्यसलाई स्विकार गर्ने नै हो । तर, कतिपय विषयमा हामीले फेरीपनि सहमति गर्नुपर्ने नै हुन्छ । नेकपा (एमाले) जस्तो एउटा ठूलो पार्टीका एजेण्डा के हुन् ? किन संसदमा अवरोध गरिरहेको छ ? माग के हो ? यसलाई कसरी हल गर्ने भन्ने बारेमा छलफल गरेर टुंग्याउनु पर्छ । यसलाई धेरै लामो समय लगेर फाइदा हुँदैन । छिटोभन्दा छिटो यसको समाधान निकाल्न पर्छ ।
उसोभए अबका दिनमा एमाले लचिलो भएर संसद सुचारु गर्न सहयोग गर्छ ?
यस विषयमा हाम्रा पार्टी अध्यक्षसँग भेटेर सत्तारुढ दलका अध्यक्षहरुले, मुख्यरुपमा प्रधानमन्त्री ज्यूले नै भेटेर छलफल गर्नुपर्छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा र पुस्पकमल दाहालले ‘प्रचण्ड’ले बालकोट केपी शर्मा ओलीलाई भेट्ने चाहना व्यक्त गरिरहनु भएको छ, तपाईंहरुको पनि त्यतातिर ध्यान जानुप¥यो नि होइन ?
त्यो कुरा ठिक छ । उहाँहरुले अब भेट्नुहोला । छलफलबाट यो कुरालाई टुंगोमा पु¥याउनुपर्छ ।
तर, रामचन्द्र पौडेलले विभिन्न प्रस्ताव लिएर जानुभएको थियो । केपी शर्मा ओलीले मान्नुभएन नि ?
अब भेटघाट सुरु हुँदैछ । यसको एउटा समाधान निक्लिएला भन्ने विस्वास छ ।