कोरोनाबारे नेताहरुको लापरबाही

समाचार

काठमाडौं । कोरोना भाइरसको महामारी बढ्दो क्रममा छ । तर राजनीतिक दलहरुको भेला र सम्मेलन भने रोकिएको छैन । दलहरुले महाधिवेशन गरेका छन् । कोही अधिवेशनमा छन् । कसैलाई जितको रौनक छ । केही न केही चलि नै रहेको छ । नेताहरु भेला र सम्मेलन गरेर भाषण गर्न रोकिएका छैनन् । हाल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेता नारायणकाजी श्रेष्ठ संक्रमित छन् । उनीहरु संक्रमित भएपछि अहिले सबै शीर्ष नेताहरु कन्ट्याक्ट ट्रेसिङमा परेका छन् । प्रचण्डलाई सामान्य ज्वरो आएपछि शुक्रबार बेलुकी स्वाब परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको थियो ।


प्रचण्ड शुक्रबार बिहान मात्रै प्रधानमन्त्री निवास बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकमा सहभागी भएका थिए । उक्त बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेपाली कांग्रेसका नेताहरू रामचन्द पौडेल, उपसभापति पूर्णबहादुर खड्का, मन्त्री ज्ञानेन्दबहादुर कार्की संलग्न थिए । माओवादी नेताहरू नारायणकाजी श्रेष्ठ र देवप्रसाद गुरुङ पनि बैठकमा सहभागी थिए । नारायणकाजी त संक्रमित भइसकेका छन् । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, महासचिव वेदुराम भुषाल, जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायत सहभागी थिए । प्रचण्डलाई कोरोना भएपछि त्यहाँ उपस्थित सबै नेताहरु कन्ट्याक्ट ट्रेसिङमा परेका हुन् । अरु त अरु प्रचण्डलाई कोरोना भएको जानकारी पाएपछि प्रधानमन्त्री देउवा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न ओली निवास बालकोटमा पुगे । यसबाट शीर्ष नेताहरु एक आपसमा कन्ट्याक्ट ट्रेसिङमा परेका छन् ।
प्रचण्डका स्वकीय सचिव रमेश मल्ललाई पनि कोरोना भएको थियो । त्यसअघि प्रचण्डलाई बधाई दिन आएका र उनीसँग बैठकमा रहेका नेता तथा कार्यकर्ताहरूलाई पनि कोरोना संक्रमण भेटिएको थियो । यसको मतलब माओवादीको हालै सम्पन्न आठौं महाधिवेशनमा धेरै नै संक्रमित भएको हुनसक्ने आशंका जन्मेको छ । सबै जिल्लाबाट महाधिवेशनमा आएकाहरु फर्किसकेका छन् । अर्थात् कोरोना उनीहरुबाटै सबै जिल्लामा फैलिएको हुन सक्छ । तिनै प्रचण्डलाई बधाई दिनेहरु धेरै थिए । ती सबै ट्रेसिङमा छन् । मातृका यादव, हरिबोल गजुरेल, डोरप्रसाद उपाध्याय, रामप्रसाद सापकोटा, सुवोध शेर्पाली, अनेरास्ववियु (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंह, वाइसीएल अध्यक्ष सुमन देवकोटा लगायतलाई पनि कोरोना संक्रमण भएको छ । यसबाट स्पष्टै भएको छ कि नेताहरु कोरोना फैलाइरहेका छन् । अझै पनि यस किसिमका भेला र सम्मेलन भएका छन् । यिनीहरु नै कोरोनाका संवाहक हुन् । सरकारले जस्तोसुकै कडाइ गरे पनि नेताहरुको गतिविधिमा कडाइ नभएसम्म कोरोना घट्नेवाला छैन ।