चारतारे झण्डामा चारै गुटको भिडन्त

समाचार

काठमाडौं । हुनत लोकतन्त्रको ब्युटी भनेको नै ब्याटेडबाट निर्णय हुनु होला । तर खिचडी पाकेजस्तै सबै चिज एकैठाउँमा पकाउँदा कसको स्वाद खोज्ने त्यसभित्र ? ठ्याक्कै खिचडी पाकेजस्तै भएको छ अहिले नेपाली कांग्रेस । प्रजातन्त्रका लागि लडेको कांग्रेस लोकतान्त्रिक थिति बसाल्ने नाममा गुट उपगुट हुँदै चुनावमा पनि अस्वस्थ प्यानल खडा गरेर आगामी पाँच वर्षका लागि आफ्नो नेतृत्व हत्याउन प्रयासरत छ । नेताहरु आपसमा काटमार गर्न मात्र बाँकी छ सबै बाँकी हत्कण्डा अपनाइसकेका छन् ।
तीन तहका आगामी निर्वाचनसहित समग्र राजनीतिमा कांग्रेसलाई अब्बल बनाउन भन्दै नेताहरू प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका हुन् । सभापतिका दाबेदार रामचन्द्र पौडेलले सक्रिय राजनीतिबाट बिदा लिएका छन् भने शेरबहादुर देउवा कांग्रेसमा अझै पनि आफ्नो नेतृत्वको औचित्य पुष्टि गर्ने प्रयासमा छन् । उनलाई चुनौती दिन युवाको समूहको नेतृत्व गर्दै शेखर कोइराला अघि सरेका छन् ।


त्यस्तै प्रकाशमान सिंह र विमलेन्द्र निधीको उम्मेदवारीले प्रतिस्पर्धालाई पेचिलो बनाएको छ । सभापति पदमै उम्मेदवारी दिएका कल्याण गुरुङ र युवराज न्यौपानेले पनि लोकतान्त्रिक प्रतिस्पर्धालाई नै प्रवर्धन गरेका छन् । प्रधानमन्त्रीसमेत रहेका देउवा फेरि पनि सभापतिमा दोहोरिन आफ्ना तर्फबाट कुनै पनि कसर बाँकी नराख्ने मनस्थितिमा देखिएका छन् । पहिलो चरणमा विजयी हुन नसकेमा दोस्रो चरणमा शेखर, प्रकाशमान र विमलेन्द्र मिल्न सक्छन् भन्नेमा देउवा सतर्क छन् । त्यसैले उनले कृष्णप्रसाद सिटौलासँग समीकरण बनाएका छन् । सिटौलासँगको समीकरण गरेर प्रदीप पौडेललाई महामन्त्री र उमाकान्त चौधरीलाई सहमहामन्त्री बनाएपछि देउवा पक्षमै असन्तुष्टि प्रकट भएको थियो ।
दुईमध्ये एक महामन्त्रीमा प्रकाशशरण महत र अर्कोमा पौडेल उम्मेदवार भएपछि यही पदका दाबेदार बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, एनपी साउदले असन्तुष्टि पोखेका थिए । ‘तर अहिले नै समीकरण नगर्ने हो भने चुनाव दोस्रो चरणमा जान सक्छ, दोस्रो चरणमा हार्न सकिन्छ, सभापति हारे सबै सकियो, महामन्त्री जितेर के गर्ने ?’ देउवाको यो भनाइपछि यी नेताहरूले केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गरे । डा. शेखरले पदाधिकारीमा प्रभावशाली नेताहरूको टिम बनाएर देउवासामु कडा चुनौती प्रस्तुत गरेका छन् । उनले पदाधिकारीमा युवा नेताहरू चन्द्र भण्डारी, धनराज गुरुङ, गगनकुमार थापा, बद्री पाण्डे, देवराज चालिसे, जीवन परियारलाई जोडेका छन् । विगतमा रामचन्द्र र शशांक कोइराला दुवैको विश्वास जित्न सबैलाई उनले टिममा समेटेका छन् । तर कोइराला परिवार भने एकजुट देखिएन । ‘समूहबाट साझा उम्मेदवार छान्न नसकेकामा दुःखी’ भाइ डा. शशांक दाजु शेखरको टिमले मनोनयन गर्ने कार्यक्रममा सहभागी भएनन् । उनी आफ्नो उम्मेदवारी दिएर निवासतर्फ गइसकेका थिए । मनोनयनपछि भने शेखरको टिम शशांक निवास महाराजगन्जमा पुगेको थियो । कोइराला परिवारकै सदस्य नेता महेश आचार्यले कुनै पनि टिमको फेरो समातेनन् । उनले प्यानल बाहिरबाट उपसभापति पदमा उम्मेदवारी दिएका छन् । ‘म पार्टी संगठनका समस्यालाई उठाएर अघि बढेको छु । गुट र नेता मिलाउन लागेको छैन,’ उनले भने, ‘पार्टी राम्रो बनाउन चाहन्छु ।’ कोइराला परिवारबाट गणेशमान परिवारमाथि बारम्बार अन्याय भयो भनेर आवाज उठाउँदै आएका सिंहको प्यानलबाट अन्तिम घडीमा गिरिजाप्रसाद कोइरालाकै छोरी सुजाता उपसभापतिमा उम्मेदवार बनेकी छिन् । सुजाताले गणेशमान र कोइराला परिवारको विरासतका रूपमा प्रकाशमानको टिम अघि बढेको उल्लेख गरेकी छिन् ।
१३ औं महाधिवेशनमा पनि पदाधिकारीमा जान कोइराला परिवारमा प्रतिस्पर्धा चलेको थियो । शशांक महामन्त्रीको उम्मेदवार बनेपछि शेखर र सुजाताले सघाएका थिए । गिरिजाप्रसाद कोइरालाको
राजनीतिक जीवनमा महत्वपूर्ण सहयोगी बनेका शेखरले अहिले सुजाताबाट भने सहयोग पाउन सकेनन् । देउवा सरकारमा उपप्रधानमन्त्रीसहित मन्त्री बन्न खोजेकी उनका लागि शेखर र शशांकले अडान नलिएको भन्दै असन्तुष्ट थिइन् । सुशील कोइरालाको निधनपछि आफ्नो नेतृत्वमा रहेको समूह विभाजित बनेपछि पौडेल पनि शेखर र प्रकाशमान दुवैको मनोनयनमा सहभागी भएनन् । देउवा र कोइरालाले प्यानलसहित उम्मेदवारी दिए पनि सिंह र निधीको समूह भने सीमित पदमा अघि सरेको छ । सिंहको समूहबाट उपसभापतिमा सुजाता र महामन्त्रीमा विश्वप्रकाश शर्मा उम्मेदवार बनेका छन् । निधी पक्षबाट उपसभापतिमा दिव्येश्वरी शाह र महामन्त्रीमा राजाराम कार्कीले उम्मेदवारी दिएका छन् । सभापतिमा उम्मेदवारी दिएका गुरुङ नेविसंघका पूर्वअध्यक्ष हुन् र न्यौपाने गोरखाका युवा नेता हुन् । जेसुकै भए पनि यसपालि टिम खिचडी बनेको छ । १३ औं महाधिवेशनमा देउवा, पौडेल र सिटौलाको स्पष्ट लाइन थियो । अहिले लाइन पनि तितरवितर भएको छ । खिचडी नै भएको छ । देउवाको मुखपत्र बनेर ५ वर्ष बिताएका प्रवक्ता विश्वप्रकाश नै देउवाको टिममा नअटी प्रकाशमानतिर लागे । आखिर योभन्दा बिजोग के होला । त्यतिमात्र हैन कांग्रेस भनेको त हामी नै हो भनी गौरबसँगै घमण्ड गर्ने कोइराला परिवार तितरवितर हुनु त झनै दुर्भाग्य नै हो ।