शीर्षक मिलाउँदै बजेट झ्वाम्

समाचार

काठमाडौं । स्थानीय तहको निर्वाचन नजिकिँदै गएको बेला पालिका प्रमुखहरूले प्रमुख प्रशासकीय अधिकृतहरूलाई विभिन्न किसिमबाट दबाब दिन थालेपछि धमाधम बिदामा बसेका छन् । संघीय मामिला मन्त्रालयका अनुसार देशभर विभिन्न ठाउँमा प्रमुख प्रशासकीय अधिकृतहरूले बैशाख महिनाभर बिदामा बस्ने गरेका छन् । स्थानीय तहको चुनावको तिथि नजिकिँदै जाँदा मेयर–उपमेयर तथा गाउँपालिकाका अध्यक्ष–उपाध्यक्षको चर्को दबाबमा प्रमुख प्रशासकीय अधिकृतहरू परेका हुन् । पालिका प्रमुखहरूले पुरानो हिसाब मिलाउन तथा विभिन्न शीर्षकबाट आर्थिक उपार्जन गर्न कानून बाहिर गएर दबाब दिन थालेपछि अधिकृतहरुले बिदाको बाटो रोजेका हुन् । तर दुर्भाग्य उनीहरु यो क्षेत्रमा भ्रष्टाचार भएको छ भनेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निवेदन भने दिएका छन् । यसको मतलब उनीहरु पनि भागेदार देखिएको मन्त्रालय स्रोत बताउँछ । मन्त्रालयका अनुसार चुनाव नजिकिएको बेला देशभर ठाउँ–ठाउँमा पालिकाका प्रमुख र कर्मचारीबीच द्वन्द्व शुरु भएको छ ।
त्यसो त प्रमुख प्रशासकीय अधिकृत र जनप्रतिनिधिहरूबीच मनमुटाब बढेको गुनासो आउने गरेको मन्त्रालयका कर्मचारीहरू बताउँछन् । पालिका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतबीचको द्वन्द्व मधेस प्रदेशमा झनै बढेको मन्त्रालयका कर्मचारीहरू बताउँछन् । मन्त्रालयका अनुसार धेरैजसो पालिका प्रमुख र प्रमुख प्रशासकीय अधिकृत बीचको विवाद शुरुदेखि नै हो तर चुनावको मुखमा अहिले यो विवाद अरू बढेको हो ।
चुनावको मिति घोषणा भएपछि आफू अनुकूल कर्मचारी आफ्नो पालिकामा राख्न पालिका प्रमुखहरूले मन्त्रालयमा दबाब दिने गरेको मन्त्रालयका कर्मचारीहरू बताउँछन् । मन्त्रालयका अनुसार यो समस्या निर्वाचन आचार संहिता लागु हुनु अघिसम्म थियो । आचार संहिता लागु हुन अघिल्लो दिनसम्म पनि आफू अनुकूल कर्मचारी राख्न पालिका प्रमुखहरूले मन्त्रालयका उच्च कर्मचारीलाई दबाब दिने गरेको मन्त्रालयका एक कर्मचारी बत्ताउँछन् । स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले प्रमुख प्रशासकीय अधिकृत संघीय सरकारको मातहतमा हुने व्यवस्था गरेको छ । त्यसकारण पालिका प्रमुखहरूले चाहेर भए पनि आफ्नो कार्यालयमा प्रमुख प्रशासकीय अधिकृत फेर्न सक्दैनन् । त्यसैले प्रमुख प्रशासकीय अधिकृत फेर्न या आफ्नो अनुकूल राख्न पालिकाका प्रमुखहरूले विभिन्न माध्यमबाट संघीय मामिला मन्त्रालयका कर्मचारीहरूलाई दबाब दिने गरेका थिए ।
यतिसम्म कि प्रमुखहरू प्रमुख प्रशासकीय अधिकृत फेर्नकै लागि पालिका प्रमुखहरूले डेलिगेसन नै लिएर काठमाडौं पुग्ने गरेका थिए । निर्वाचन आयोगले चैत १५ गतेभित्र सबै स्थानीय तहमा निमित्त झिक्न सरकारलाई दिएको निर्देशन कार्यान्वयन भएन । मन्त्रालयका अनुसार २ सय १३ पालिका निमित्तको भरमा चलेका छन् ।
मन्त्रालयका अनुसार मन्त्रालयले आचारसंहिता लागु हुन अघि निमित्त झिक्न खोज्दा केही पालिका प्रमुखहरूले आफ्नो पालिकामा दरबन्दी अनुसार कर्मचारी नराख्न र निमित्तलाई नै जिम्मेवारी दिन मन्त्रालयका माथिल्लो तहका कर्मचारीहरूलाई दबाब दिने गरेका थिए । पुराना हुँदा हिसाबकिताब मिलाउन पाइने र निश्चित भाग छुट्टाए पुग्ने भएकाले उनीहरुले त्यसो गरेका हुन् । तर नयाँ जाँदा भने उसले खान पनि नपाउने र सजिलै प्रमुखले भनेका भरमा कागजात पनि नमिलाइदिने भएकाले निमित्तकै भरमा चल्न खोजिएको थियो । निर्वाचन आयोगले पुनः पालिकामा उठ्नका लागि राजीनामा दिनुपर्ने व्यवस्था गरेपछि उनीहरु समस्यामा नपरेका हैनन् । तर कर्मचारी पनि पैसा भनेपछि महादेवका त्रिनेत्रजस्तै गरेसँगै चुपचाप काम गराएर दक्षिणा बटुलेको मन्त्रालय स्रोत बताउँछ ।