प्रचण्ड कम्रेडलाई प्रधानमन्त्री बन्ने ठूलै चटारो– हुन्छ के ?

यताउताका कुरा

आउँदो चुनावमा गठबन्धनलाई इन्द्रजात्राको लिङ्गो तानेझैं घिच्याउँदै लैजाने । चुनावमा आफ्नो पार्टी तेस्रो भए पनि एमाले र कांग्रेससँग बार्गेनिङ गर्ने । मलाई बनाउन त प्रधानमन्त्री भनेर ललाई फकाई गर्ने । नेपालको राजनीतिमा तेस्रो पार्टी प्रधानमन्त्री बनेका थुप्रै उदाहरण छन् । एकताका राप्रपा तेस्रो पार्टी थियो–त्यतिखेर सूर्यबहादुरले कांग्रेसको वैशाखी र लोकेन्द्रबहादुरले कम्युनिष्टको वैशाखीमा सरकारको नेतृत्व गरेको हो । धम्क्याएर, घुक्र्याएर वा फकाएर भए पनि पहिलो वा दोस्रो बनेको पार्टीको वैशाखी टेक्न पाए प्रधानमन्त्री पक्का । हाल पनि कम्रेड प्रचण्ड कहिले समाजवादी मोर्चाको त कहिले वामपन्थी एकताको ढ्याङ्ग्रो ठोक्दै हिँडेका छन् । आपूmलाई विश्वेश्वर कोइरालाको समाजवादको ब्याज खाएको ठान्ने कांग्रेस अझै पनि समाजवादी हुँ भन्दै हिँडेको छ–त्यस अर्थमा अहिलेको सत्ता गठबन्धन जस्तै कांग्रेससहितको समाजवादी मोर्चा बनाउन नसकिने कुरै भएन । अबको चुनावपछि आफ्नो दाउ र भाउ बढाउँदै गएर प्रधानमन्त्री बन्ने प्रचण्ड इच्छा तुहिएर नै जान्छ भन्न सकिँदैन । यतिखेर कम्रेड प्रचण्डलाई प्रधानमन्त्री बन्ने ठूलो चटारो छ ।
कामै न गरी फल कहाँ ? सुतेको सिंहको मुखमा मृग पस्दैन भन्ने बुझेका प्रचण्ड अहिलेदेखि नै दौडधूपमा छन् । चुरो कुरो के भने दक्षिणका राष्ट्रले आशीर्वाद नदिएसम्म प्रधानमन्त्री बन्ने कुरा आकाशको फल आँखातरी मर जस्तै हुने भएकाले दक्षिण हानिएका थिए–त्यहाँका प्रधानमन्त्रीले भेट दिएनन्, हैसियत घट्यो भन्नेहरू पनि छन्, तर म पिटेजस्तो गर्छु तँ रोए जस्तो गर्नु शैलीमा मोदीले म तपाईकै हुँ– एकपल्ट भेट नदिएको जस्तो नाटक गरौं न भनेका त होइनन् । प्रधानमन्त्री पद साह्रै बलियो हुने हुनाले होला–त्यहाँ पुगेको मान्छे तल झर्न पटक्कै मान्दैन, गलहत्याउनु पर्छ, नपत्याए ओली कम्रेडलाई सोधौं । जो छ–ऊ पनि ओर्लन चाहँदैन नपत्याए देउवाकाजीलाई सोधौं । अब कहिले प्रधानमन्त्री बन्न पाइएला भन्ने चटारो प्रचण्डमा छ, तर अंगुर अमिलो भएझैं उनी भावी प्रधानमन्त्रीको हैसियतमा मात्र रहने हुन् कि ?। आपूm ताक्ने मुडो बञ्चरो ताक्ने घुँडो–प्रधानमन्त्री पद ताक्दा ताक्दै उमेरले नेटो काट्ने हो कि ?। रहर गर्नु पाप होइन, पाउनु न पाउनु अलग कुरा ।


पार्टीको हैसियत


गृह मन्त्रालयको काम शान्ति सुरक्षा हो कि पार्टीको हैसियत बुझ्ने । गर्न न पर्ने काम निर्वाचनमा कसले कति सिट जित्न सक्छ भनेर पत्ता लगाउने काम ग¥यो । ल्हासा जाने कुतीको बाटो भनेझैं आफ्नो जिम्मेदारीबाट बाहिर गरेर काम गरे पनि ठूला भनिने पार्टीलाई झस्को पस्ने परिणाम देखाएको छ । कुतीदेखि नून नबिसाइ ल्याएँ भन्ने छोरालाई तेरो खुट्टी देख्दै चाल पाएँ भन्ने आमाको जवाफ जस्तो हामी एक्लाएक्लै लडे पनि बहुमत ल्याउँछौं भन्ने पार्टीको हैसियत खोजवीनले पत्ता लगाइदिएको छ । एमालेलाई घमण्ड छ–हाम्रो संगठन ठूलो छ–भोट त हाम्रै पार्टीको भागमा ह्वारह्वारती खस्दछ । तर आपूmले भने जस्तो नहुने । स्थानीय तहको चुनावमा पार्टी सदस्य भन्दा कम भोट परेकोले नै भविष्य निर्धारण गरेको छ ।
कांग्रेसमा देउवालाई गठबन्धनसँग मिलेर धेरै सीट जित्ने र पहिलो भएर सरकार बनाउने रहर छ तर पार्टीभित्रकै एकथरि हामी गठबन्धनमा नलागे पनि सरकार बनाउन सकिन्छ भनेर घुक्र्याउँदैछन् तर अघिल्लो पल्टको चुनावले देखाइसकेको छ । माओवादी केन्द्र पहिलो हुन्छु भन्दैन तर लड्डू लडे चिनी भरे गर्दै आफ्नो भाग बढाउने दाउमा छ । नेकपा समाजवादी भन्न त एक्लै भए पनि धेरै सीट जित्छौं भन्छ, गृहमन्त्रालयले देखाइदियो हैसियत । अनि जति नै गरे पनि गठबन्धन टेको उसको लागि जरुरी छ । आज जुट्ने भोलि फुट्ने हैसियतको जसमा र लोसपा कता जाने हुन्–हेर्न बाँकी छ ।

प्रदेश कुन देश

संघीयता भए त के के त खाइन्छ पाइन्छ भन्नेहरू यतिखेर लौवा अब त प्रदेश नै अभिषाप ठान्न थालेका छन् । प्रदेश भनेको झगडाको केन्द्र पो भएको छ । मुख्यमन्त्रीदेखि मन्त्री पद पाइने, सधैंभरि मन्त्रीज्यू भनेर सम्बोधन हुने अनि के चाहियो र ?। पहिले पहिले केन्द्रमा मात्र मन्त्री हुन्थे, एकपटक मन्त्री भएपछि सधैंको मन्त्रीज्यूको सम्मान र नाम पाइने तर प्रदेशका मन्त्री वर्षामा च्याउ उम्रेझैं उम्रने, कमाउने काममा सधैं ढिलोढिलो हुने अनि मन्त्री पद गयो कि सडकछाप भइने । पार्टी पार्टी पिच्छे मुख्यमन्त्री खाने लोभाम ङारङार ङुरङुर गरिरहने । नाम गठबन्धन काम कसरी सकिएला गाँठो फुकाउन भनेर त्यतै ध्यान दिने । एमाले त प्रदेश सत्ताबाट बाहिरियो तर सत्तामा पुगेकाहरूमा एकथरिलाई कसरी सत्ता टिकाइराख्ने चिन्ता अर्काथरिलाई कसरी सत्ता हत्याउने भन्ने पिरलो । अनि आपसमा झगडा । काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भनेझैं गर्नुपर्ने जनताको काम तर गर्ने आफ्नो र आफन्तको काम । बजेट सक्ने, त्यसका लागि आफन्तको नाममा खोलेको संस्थालाई सहयोग पु¥याउनेदेखि नातेदारको शालिक राख्नेतिरको चिन्ता । नेता भएपछि धाकधुक देखाउनुपर्ने, नत्र कसले गन्ने ।
सबभन्दा सजिलो सडक बनाउने, आउँदो बर्खामा पहिरो जाओस् कि मूल काटिएर पानी आउनै बन्द होस्–त्यसको खोजीनीति किन गर्ने ?। आपूmले त्यति नसके सालालाई वा ज्वाइँलाई डोजर किन्न लगाउने, भाडामा लिने, आफन्त पोस्ने, राष्ट्रिय ढुकुटी चुस्ने, जनतालाई महँगीले ढाड सक्ने । अनि भए त संघीयता र प्रदेशको स्वाद । केन्द्रबाट गएको पैसा विकासमा नलगाएर के भो त ?। आफ्नो विकासमै देशको विकास–आखिर नेताजीहरू नेपालकै नागरिक न हुन्, उनीहरूको प्रगति उन्नति र कमाई नै देश विकास हो भन्ने सम्झनु पर्छ । तर प्रदेश भनेको जनता चुस्ने थलो हो कि भन्न थालेका छन् जनता । संघीयता मानिसकिएको छ, त्यो एक प्रकारले भालुको कन्पट सावित भएको छ–समाइराखौं सबैतिर चौपट, छाडिदिऊँ झम्टने डर । यस्तै हो अब प्रदेश भनेको अर्कै देश हो कि जस्तो भएको छ । प्रदेशमा एककप चियाको २१० रुपियाँ पर्छ रे, प्रदेश भएपछि त्यहाँ पाँचतारे होटल बने होलान्–अनि छाप्रे पसल बदलिए पाँचतारे होटेलमा ।


अमेरिकी भाइः
किन नेपाल आई


नेपालका लागि साग सिस्नु सब बराबर । तर कसलाई आफ्नो मान्ने कसलाई पराया मान्ने निकै सकस भएको छ । एकपल्ट अमेरिकाबाट ठूलोबडो मानिस आउँछ, ऊ फर्केर जान नपाउँदै चीनको ठूलो मान्छे आइपुग्छ । उसलाई कुराको चुरो पत्ता लगाउनु छ–अमेरिकाले के भनेर गयो । त्यसको लगत्तै फेरि अमेरिकी मन्त्री हान्निएर काठमाडौं आए । कतै आपूmले पहिले बनिबनाउ गरेर गएको योजना फेल त भएन । त्यसो त उनीहरूले तलब ख्वाएर राखेका नेपालका ठूलाबडा हुँ भन्नेबाट नै पत्ता लगाइसकेका हुन्छन् । तर आफ्नो आँखाले देखे जस्तो अर्काको आँखाबाट हेरेर कहाँ हुनु । नेपालका लागि चीन र अमेरिकासँगको सम्बन्ध जेठी माग्ने पानी कान्छी माग्ने घाम म एक्लो बुढो कतातिर जाम जस्तो छ–अमेरिका एकथोक भन्छ चीन अर्कै थोक–दुईटाको बीचमा सन्तुलन मिलाएर राख्ने कूटनीतिक कुशलता कुना पसेजस्तो छ । अनि के गर्ने कसो गर्ने–दोधार ।
अमेरिका भन्छ–के चाहिन्छ म दिन्छु, चीनको जस्तो महँगो ब्याजको सापटी होइन–पूरापूर सहयोग । चीन भन्छ–अमेरिकाले सैनिक गठबन्धनमा घुसाएर नेपालको तटस्थ परराष्ट्र नीति हिन्द महासागरमा डुबाइदेला । अब यस्तो दोहोरोच्यापोबाट नेपाललाई उतार्ने बहादुर को निस्कला । तर सबै बहादुर दुवैलाई चित्त दुखाउन खैरियत ठान्दैनन् । अर्काको थर्की हेर्छन् वर्कीफर्की–आपूmले दाउ मार्न सकेको होइन । त्यसैले जोजो आउँछु भन्छन्–हार्दिक स्वागत गर्नु बाहेक के नै गर्न सकिन्छ र ?। भर्खरै आएर फर्केका अमेरिकी भाइलाई राम्रै मन मिलाएर पठाए होलान् ।


अन्त्यमा–
जनार्दन शर्मालाई शुक्रबार राति गहिरो निद्रा परेको मात्र होइन, मन्त्री बनेको सपना देखे ।