जटिल बन्दै फोहोर व्यवस्थापन

समाचार

काठमाडौंको फोहोरले जहिले पनि काठमाडौंवासीको ज्यान खाने देखिएको छ । यसको कारण अरु केही होइन, काठमाडौंका जनता नै हुन्, जो नेताका गुलिया कुरामा फस्दै आएका छन् । फोहोर व्यवस्थापनको जिम्मेवारी स्थानीय निकायको हो भन्ने कुरामा कसैले नाई नभने हुन्छ । यसमा सबै सहमत हुन्छन् पनि । तर स्थानीयस्तरमा जम्मा हुने फोहोरको व्यवस्थापनमा कहिले पनि स्थानीय निकायका कोही प्रतिनिधिले पनि जिम्मा लिएको देखिँदैन । तिनको जिम्मामा त मात्रै विभिन्न किसिमका सिफारिस–पत्र, मुचुल्का, सरजमिन, ठेक्का पट्टा मात्रै रहेजस्तो लाग्दछ । किनभने तिनको ध्यान त्यस्ता विषयमा मात्रै धेरै गइरहेको देखिएको छ । यो समस्या आजदेखिको होइन । तीस वर्षअघि पनि फोहोरको समस्या यस्तै थियो । तर जति समस्या थियो काठमाडौं भित्री बजार वा सहरकोे मात्रै थियो । काठमाडौं बाहिर अझ रिङरोड बाहिर फोहोरको समस्या त्यति देखिएको थिएन । टाढाटाढा फोहोर फ्याक्ने ठाउँ बनाइएको थियो । र तिनको व्यवस्थापन पनि सही रुपमा हुँदै नै आएको थियो । तर ६३मा गणतन्त्रको आगमनसँगै सहरमा फोहोरको डुँगुर पनि बढ्न थाल्यो । फोहोरको व्यवस्थापनमा कसैले ध्यान दिएनन् । किनभने तिनले आफ्नो व्यवस्थापनलाई नै महत्वपूर्ण मान्न थाले । आज १५ वर्ष पछि पनि फोहोरको व्यवस्थापन हुन सकेको छैन । किनभने, फोहोरको व्यवस्थापन भन्दा फोहोरको नाममा गरिने राजनीतिलाई तिनले मौकाका रुपमा हेर्दै आएका छन् । त्यसैले फोहोरको व्यवस्थापन गर्न चाहनेहरुलाई तिनले कुनै जिम्मा नै दिँदैनन् । दिए पनि जिम्मा लिनेको दोहोलो काढ्ने गरी तिनको विरोधमा मानिस उठाउँछन् ।
आधाउधी फोहोर घरभित्रै पनि व्यवस्थापन हुन नसक्ने होइन । प्लास्टिकजन्य र नकुहिने फोहोरको व्यवस्थापनमा स्थानीय निकायका वडा कार्यालयहरुले नियमित ध्यान दिने हो भने त्यसको व्यवस्थापन सहज रुपमा हुनसक्ने देखिन्छ । तर फोहोरबाट पनि कमाउने नियत राख्नेहरुले त्यस्तो गर्न नदिएको धेरैले बताउँदै आएका छन् । फोहोरबाट ग्यास उत्पादन गर्नेहरु पनि अगाडि नसरेका हैनन् । फोहोरबाट मल उत्पादन गर्नेहरु पनि अगाडि नसरेका हैनन् । फोहोरमा मोहोर भनेर अगाडि नआएका पनि हैनन् । तर फोहोरको व्यवस्थापनका लागि उद्योगमा लगानी गर्नेलाई सरकारको सम्बन्धित निकायले कहिले अनुमति नै दिएन । फोहोरमा मोहोर खोज्नेलाई त छानीछानी खोट्टा हिर्काउन बाँकी राख्दैनन् सरोकारवालाहरुले । कसैको नियत ठिक छैन । सरकार चलाउनेहरुको नियत ठिक भएको भए आज भ्रष्टाचार यो रुपमा हुन्थेन । नेता र सरकारी कर्मचारीमा भ्रष्ट आचरण नहुँदो हो त सडकमा फोहोर पनि देखिने थिएन । काठमाडौं सफा हुनेथियो । त्यसैले काठमाडौंलाई सफा बनाउनलाई हरेक व्यक्तिले सोच्नु जरुरी भएको छ । जबसम्म नागरिकले नै यतातिर सोच्दैनन्, तबसम्म केही हुँदैन ।