बाढी–पहिरोबारे पूर्वसतर्कता जरूरी

Home Feature समाचार

केही दिनदेखि काठमाडौंको मौसमले सबैले महसुस गर्दै आएका छन् । कतिले वातावरणीय प्रभावको कुरो गरे भने कतिले चैते मौसम हो, हावाहुरी त सामान्य हो भन्ने कुराले त्यसलाई ढाकछोप गरे । तर वैज्ञानिक वा सम्बन्धीत विषयका विद्हरुले भनेको कुरामा ढाकछोप गर्न सकिन्न । यद्यपि हाम्रो देश वातावरणका हिसाबले सुन्दर मानिन्छ । यहाँको भूमिमा अत्यधिक गर्मी हुने ठाउँ पनि छ । प्रायः पानी परिरहने पोखरा पनि छ । हिमाल पनि छ, पहाड पनि छ । हरियाली पनि छ, नदीहरुमा जल प्रवाहको अकन्टक गति बेगसित बगिरहेको पनि छ । अर्थात रमणीय भूगोल छ हामी बस्दै आएको ।
हाम्रो यो सुन्दर भूगोलको रक्षा गर्ने तिर अहिलेसम्मका कुनै पनि सरकारले विशेष वास्ता गरेको देखिँदैन । यदि राज्यले ध्यान दिन्थ्यो भने २०७२ सालको भैँचालोमा चिराचिरा पारेको सिन्धुपाल्चोकको पहाडी भूमिका धेरै जनतालाई बाढी र पहिरोको जोखिमबाट मुक्ति दिनेथियो होला । तर त्यस्तो भएन । यो तर्साउन खोजेको होइन । यो त समय छँदै सबैको यतातिर ध्यान जाओस भन्ने हो । यदि त्यता ध्यान नदिने हो भने पोहोरको मेलम्ची बजार जस्तै अरु कुनै सहर बजारको अवस्था त्यस्तो हुनसक्छ । किनभने जब पर्छ त्यस पछि मात्रै सरकारले चेत्छ र जब पहिलो चरणको राहत वा सहयोगको काम गर्छ, बाँकी गर्नुपर्ने कामहरु सबै बिर्सिन्छ । अनि भोलिका दिनमा फेरि पनि त्यस्तै समस्या आउँदा फेरि तिनका घैँटामा घाम लाग्छ ! सोचेभन्दा बढी गर्मी चम्किएको छ । काठमाडौंलाई एसी भने पनि काठमाडौं पनि अहिले गर्मी र लामखुट्टेका लागि चिनिन थालेको छ । काठमाडौंमा घरैघर बनेको छ, जसले काठमाडौंलाई
कुचुक्क मात्रै होइन प्रदुषित पनि बनाएको छ । तर नगरपालिका वा महानगर पालिकाहरुले सहरलाई कसरी सुन्दर र स्वच्छ राख्ने भन्ने तर्फ ध्यान दिएका छैनन् । र दिने अवस्था पनि देखिँदैन । किनभने पालिकाहरुको निर्वाचन अब एक महिना भन्दा अलिकति दिन मात्रै बाँकी छ । र कतिपयलाई निर्वाचनमा कसरी जित्ने भन्ने चिन्ता सुरु भएको छ, जनताको समस्याको चिन्ता भन्दा । समस्याहरु जस्ताका त्यस्तै छन् । बाढी पहिरोको समस्या उस्तै छ । फेरि पनि दुइचार दिन पानी दर्केर पर्ने हो भने समाचारमा आउन थाल्छ ।, यो ठाउँमा बाढीले यति घर बगायो त पहिरोले यो डाँडा सखाप । त्यसैले राज्यले त्यस्ता स्थानहरुको पहिचान गरी किन त्यस्ता समस्याको हल गर्न सक्दैन । यता तिर त सबै पालिकाहरुको ध्यान जानु पर्ने हो ? किनभने भोग्ने त पालिकाले नै त हो ।