प्रधान न्यायाधीशविरूद्ध महाअभियोग दर्ता

समाचार

काठमाण्डौ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध हिजो संसद सचिवालयमा महाभियोग प्रस्ताव दर्ता भएको छ । महाअभियोग प्रस्तावमा ९८ जनाले सांसदले हस्ताक्षर गरेका छन् । महाअभियोग दर्ता गर्नेमा सांसदहरू गगन थापा, मीनेन्द्र रिजाल, पुष्पा भुसाल, देव गुरूङलगायत छन् । संसदमा महाअभियोग दर्ता भएपछि अब प्रधानन्यायाधीश राणा स्वतः निलम्बनमा परेका छन् ।
मन्त्रिपरिषदमा भागबन्डा खोजेको, विभिन्न मुद्दाहरूमा सौदाबाजी गरेको आरोप लागेका प्रधानन्यायाधीश राणाविरूद्ध न्याय क्षेत्रभित्रैबाट आन्दोलन भइरहेको छ ।
केही समयअघि सर्वोच्चका न्यायाधीशहरूले नै राणाको राजीनामा माग्दै इजलास बहिष्कार गरेका थिए । नेपाल बार एसोसिएसनले उनको बहिर्गमन माग गर्दै अहिलेसम्म आन्दोलन गरिरहेको छ । नेपालको संविधानको धारा १०१ (२) मा संविधान र कानूनको गम्भीर उल्लंघन गरेको, कार्यक्षमताको अभाव वा खराब आचरण भएको वा इमान्दारीपूर्वक आफ्नो पदीय कर्तव्यको पालन नगरेको वा आचारसंहिताको गम्भीर
उल्लंघन गरेको कारणले आफ्नो पदीय जिम्मेवारी पूरा गर्न नसकेको आधारमा प्रतिनिधि सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको एक चौथाइ सदस्यले नेपालको प्रधान न्यायाधीश वा सर्वोच्च अदालतका न्यायाधीश, न्याय परिषद्का सदस्य, संवैधानिक निकायका प्रमुख वा पदाधिकारीका विरुद्ध महाभियोगको प्रस्ताव पेस गर्न सक्ने उल्लेख छ । उक्त प्रस्ताव प्रतिनिधि सभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको कम्तीमा दुई तिहाइ बहुमतबाट पारित भएमा सम्बन्धित व्यक्ति पदबाट मुक्त हुने व्यवस्था गरिएको छ ।