कम्युनिष्ट एकता ः समस्या प्रचण्डमा

समाचार

काठमाडौं । अहिले नेकपा एमाले सबैभन्दा बेथिति निम्त्याउने दल बनेको छ । उसले लोकतन्त्रको धज्जी उडाउँदै र आफैंले लेखेको संविधान लत्याउँदै दुईपटक संसद विघटन ग¥यो । आफूले गरेका सबै नाजायज काम कारबाहीलाई पनि जायजको ट्याग लगाउन थाल्यो । केपी शर्मा ओलीले दोस्रो कार्यकाल भएको प्रधानमन्त्री कालमा गरेको प्रगति यत्ति हो । पुराना नेताहरुलाई सोध्ने हो भने ओलीले राणाकालमा भन्दा पनि बढी नै गरेका हुन् । ओली इतरका सबैजसो कम्युनिष्ट नेताहरुको बोली एउटै हुन्छ –ओलीले बढी गरे । माओवादी केन्द्रको कुरा छाडौं । माओवादी बाहेकका कम्युनिष्टहरुले गरेको निष्कर्ष नै यही हो (नेमकिपा बाहेक) ।
ओली आफ्नो दलबाहेक अरु कसैलाई पनि कम्युनिष्ट देख्न चाहन्नन् । त्योभन्दा अझ भित्र छिर्दा आफ्नो खेमा बाहेक सबै गैरकम्युनिष्ट र अपराधी देख्ने प्रवृत्ति ओलीमा छ । त्यही ओलीरोगलाई अन्त्य गर्न अहिले इतर कम्युनिष्टहरु एकजुटको प्रयासमा लागेका छन् । उनीहरुको उद्धेश्य दुईवटा छन् । एउटा ओली प्रवृत्तिको अन्त्य र अर्को नेपालमा कम्युनिष्ट पार्टीहरुको गतिलो प्रभाव । ओली प्रवृत्तिको अन्त्य गर्नका लागि उनका कुकार्यको भण्डाफोर गरेर जनतालाई बुझाउने हो भने चुनावले आफै ठेगान लगाउँछ । अर्कोतर्फ इतर कम्युनिष्टहरु एक भएर कम्युनिष्टको सच्चा प्रभाव जमाउनु जरुरी छ । चुनावमा
हराउनका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लागिसकेका छन् । उनले गत शुक्रबारमात्रै चितवनमा ध्वाँस दिँदै ‘आफूसँग बदला लिन खोजे ओली आफैं सकिने’ चेतावनी दिएका छन् । उनले ओली प्रवृत्तिको अन्त्यका लागि पाँच दलीय गठबन्धन बनेको जिकिर पनि गरेका छन् ।
माओवादीलाई सिध्याउन माडीमा राम सीताको नाटक मञ्चन गरिएको भन्दै उनले जनताको मन जितेर आएको पार्टीलाई सिध्याउने सपना कसैलाई नदेख्न चुनौती दिएर अब कसले कसलाई सिध्याउँछ हेर्दै जान पनि चेतावनी दिए । प्रचण्डले बुटवलमा गर्ने भनिएको एमालेको महाधिवेशन आफूलाई सिध्याउन चितवनमा सारेको भन्दै चितवनमा ठूलो राजनीतिक लडाईं हुने र त्यो महाभारतको कुरुक्षेत्र जस्तै बन्ने बताएका छन् । प्रचण्डले आफ्ना कार्यकर्ताहरुलाई तयारी अवस्थामा रहन निर्देशन पनि दिएका छन् । अर्थात् ओली उन्माद भयो भने त्यो महाभारतको कुरुक्षेत्रमा जस्तोसुकै कदम चाल्न सकिने चेतावनी उनको छ । यसबाट ओलीलाई हच्कन सतर्कमात्र गराइएको छैन परिस्थितिको आँकलन पनि गराइएको छ । मंसिर १० देखि १२ गतेसम्म एमालेले चितवनमा महाधिवेशन गर्न गइरहेको अवस्थामा जस्तोसुकै दुर्घटना निम्तिन सक्ने पनि अनुमान गर्न थालिएको छ ।
अर्कातिर प्रचण्डले ओली बाहेकका कम्युनिष्टसँग एकताको लागि गृहकार्य भइरहेको र त्यसका लागि विभिन्न चरणमा वार्ता भइरहेको बताएका छन् । यसका लागि उनले माओवादीका प्रवक्ता एवं पूर्वसभामुख कृष्णबहादुर महरालाई अगाडि सारेका छन् । महराले द्रूत गतिमा गैर ओलीलाई समेट्न खोजिरहेका छन् । विभिन्न चरणमा वार्ता पनि गरेका छन् । पहिले त माओवादीबाटै टुक्रिएर गएकाहरुलाई एकढिक्का गर्नुपर्ने चुनौती माओवादीसँग छ । जस्तो कि –डा. बाबुराम भट्टराईको समूह, मोहन वैद्य किरणको समूह र नेत्रबहादुर चन्द विप्लवको समूह । भट्टराई, किरण र विप्लवका लागि समस्या प्रचण्ड नै हुन् । उनको व्यवहारले नै उनीहरुले माओवादी छाडेका थिए । त्यसैले पनि प्रचण्ड नेतृत्वमा नरहने हो भने पक्कै पनि उनीहरु फेरि एक ढिक्का हुने विश्लेषण भइरहेको छ । त्यसैगरी राष्ट्रिय जनमोर्चादेखि मालेसम्मलाई समेटेर अगाडि बढ्नका लागि गृहकार्य भइरहेको छ । उक्त गृहकार्यमा माधवकुमार नेपालको नेकपा एकीकृत समाजवादीलाई पनि जोड्न खोजिएको छ । तर पहिलो चुनौती भने माओवादीलाई नै एक गर्ने प्रयासमा महराको टिम लागेको छ । तिहार लगत्तै एउटा वृहत छलफल गर्ने तयारी भइरहेको बताइएको छ । उक्त छलफलमा माओवादी र एमालेको एकीकरण भई नेकपा बनेपछि फेरि टुक्रिँदा माओवादीमा नफर्केर अल्झिएकाहरु प्रभु शाहजस्ता थुप्रै नेतालाई पनि समेट्ने प्रयास भइरहेको छ । पार्टी एकता टुक्रिएपछि पनि माओवादीमा नफर्केकाहरु बादल, टोपबहादुर रायमाझी जस्ता नेताहरुलाई भने समेट्ने प्रयास गरिएको छैन ।