मन्त्रीहरु फिर्ता बोलाउँदै माधव नेपाल

राजनीति समाचार

काठमाडौं । अहिले नेकपा एमालेबाट विभाजित भएर नयाँ पार्टी बनेको नेकपा (एकीकृत समाजवादी) लाई छट्पटी छ । सबैभन्दा ठूलो छट्पटी आसन्न निर्वाचनमा गठबन्धन भएन भने के गर्ने भन्नेमा हो । गठबन्धन नभए नेकपा एसले एक ठाउँमा पनि जित्ने आधार छैन । त्यसैले अध्यक्ष माधवकुमार नेपाल छट्पटीमा छन् । यसै त नयाँ पार्टी त्यसमाथि सरकारमा गएका आफ्नो पार्टीका मन्त्रीहरुले राम्रो काम नगरिदिएपछि बचेखुसेको क्रेज पनि घट्ने चिन्ता थपिएको छ । एसले केही मन्त्रीलाई फिर्ता बोलाएर मन्त्री हुन नपाएका नेताहरुलाई सरकारमा पठाउने गृहकार्य थालेको छ ।
आधा कार्यकालका लागि मात्रै मन्त्री भएकाहरुलाई फिर्ता बोलाएर उनीहरुको स्थानमा मन्त्री हुन बाँकी सांसद र स्वतन्त्र नागरिकलाई मन्त्रिपरिषदमा पठाउने तयारी थालेको बुझिएको छ । माधव नेपालले जे गर्दा आफ्नो पार्टीको भलो हुन्छ त्यही गर्ने रणनीतिमा छन् । सांसदहरु जीवनराम श्रेष्ठ, शेरबहादुर कँुवर, निरादेवी जैरु, मेटमणी चौधरी लगायतका सांसदलाई मन्त्रीमा पठाउने तयारी छ । स्वतन्त्र नागरिकहरुमा कानूनविदद्वय युवराज संग्रौला वा गोविन्द बन्दीमध्ये एक जनालाई मन्त्रिपरिषदमा पठाउने स्रोतको दाबी छ । उनीहरुले नमाने मात्रै पार्टीका अन्य नेताहरुलाई पठाउने स्रोतले जनाएको छ । मन्त्रिपरिषदमा रहेका नेताहरुलाई फिर्ता बोलाउने र त्यहाँ कसलाई पठाउने भन्ने बारेमा पार्टी अध्यक्ष माधवकुमार नेपाललाई जिम्मा दिइएको स्रोतले जनाएको छ । क–कसलाई फिर्ता बोलाउने भन्ने बारेमा केही तय भएको छैन । जे हुन्छ सहमतिमै हुन्छ । अहिले त्यसको तयारी भएको छ’, एस पार्टीका एक नेताले भने ।
गत साता बसेको सत्ता गठबन्धनको बैठकमा पनि यो विषय उठेको स्रोतको दाबी छ । एस पार्टीले आफ्ना केही मन्त्रीलाई फिर्ता बोलाउने बताएपछि अन्य पार्टीले पनि यो विषयमा सहमति जनाएका थिए । सरकारमा रहेका चारवटै पार्टीले आफ्ना केही मन्त्रीलाई फिर्ता बोलाउन लागेको नेकपा एसको दाबी छ । आफ्नो पार्टीले मात्र फिर्ता बोलाउँदा सन्देश गलत जाने भएकाले सबै पार्टीले परिवर्तन गर्न लागेको दाबी गरिएको छ । माओवादी केन्द्र र जसपाले यसअघि नै मन्त्रीहरुलाई आधा कार्यकालका लागि मात्रै नियुक्त गरिएको भन्दै आकांक्षी रहेका केही सांसदलाई थुम्थुम्याएर राखेका थिए ।
नेकपा एसबाट पर्यटनमन्त्री प्रेम आले र श्रम मन्त्री किसान श्रेष्ठलाई मात्र फिर्ता बोलाउँदा त्यसको सन्देश सकारात्मक नजाने भएकाले सबै मन्त्रीहरुलाई फिर्ता बोलाउन लागिएको बताइन्छ । आले र श्रेष्ठ एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट्न बालकोट गएपछि एसमा छट्पटी छ ।
आलेको पृष्ठभूमि गतिलो नभएको र उनलाई आगामी चुनावका लागि चाहिने रकमको चाँजोपाँजो मिलाउन मन्त्री बनाएको दाबी गरिन्छ । तर तिनै मन्त्री निस्केपछि खर्च कसरी चल्ने होला भन्ने पनि छ । अर्कातिर मन्त्री आले जुनसुकै बेला पनि कोल्टे फेर्न सक्ने भएकाले यसै भन्ने अवस्था छैन ।
एस पार्टीबाट विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेम आले, किसान श्रेष्ठ, भवानी खापुङ मन्त्री
भएका छन् । एस पार्टीको केन्द्रीय कमिटी बैठकमा सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाउनुपर्ने कुरा उठेको थियो । गत हप्ता सम्पन्न बैठकमा केही केन्द्रीय सदस्यहरुले सरकारमा सहभागी मन्त्रीहरुको काम सन्तोषजनक नभएको भन्दै पार्टीले फिर्ता बोलाउनु पर्ने आवाज उठाएका थिए ।