सरकारमा जान खुट्टा उचाल्दै लोसपा

Home Feature राजनीति

काठमाडौं । तराई–मधेस केन्द्रित दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सरकारमा जान आतुर देखिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले हरियो संकेत दिएसँगै सरकारमा जानका लागि लोसपाका केही नेताहरुका हर्षका हड्डी हाँसेको बताइन्छ । पछिल्लो समय देउवा लोसपाका नेताहरुसँग निरन्तर छलफल र संवादमा छन् । पछिल्लो दुई हप्ताको बीचमा देउवा र लोसपाका अध्यक्ष महन्थ ठाकुरबीच तीन पटक कुराकानी भएको छ ।
यी दुई नेताबीच दुई पटक प्रत्यक्ष तथा एक पटक टेलिफोनमा कुराकानी भएको छ । त्यस्तै सामूहिक पनि देउवाले कुराकानी गरेका छन् । उनले गत हप्तामात्रै लोसपाका पाँच शीर्ष नेता ठाकुर, राजेन्द्र महतो, शरद्सिंह भण्डारी, अनिल झा र सर्वेन्द्रनाथ शुक्लबीच कुराकानी गरेका थिए । देउवासँगको सामूहिक छलफलपछि लोसपाका नेताहरूले आन्तरिक छलफल गरेका थिए । लोसपा स्रोतका अनुसार स्थानीय तहको चुनावअघि नै सरकारमा जाने पक्षमा भण्डारी र अनिल झा छन् । प्रधानमन्त्री देउवा पनि लोसपालाई चुनावअघि नै सरकारमा ल्याउने विषयमा सकारात्मक भएको लोसपा निकट स्रोतको भनाइ छ ।
लोसपालाई सरकारमा ल्याउन सके आगामी स्थानीय तहको चुनावमा एमाले र लोसपाबीच सहकार्य नहुने, चुनावमा एमाले एक्लिने र यसको फाइदा
कांग्रेसलाई पुग्ने देउवाको बुझाइ छ । यद्यपि लोसपाका नेताहरु प्रधानमन्त्रीसँगको भेट सरकारमा जाने भन्दा पनि लोसपाले उठाएका माग मुद्दा सम्बोधन गराउने विषयमा केन्द्रित रहेको बताउने गरेका छन् ।
लोसपाका कार्यकारिणी समितिका सदस्य केशव झाले देउवा र लोसपाका नेताहरुबीच भएको भेटवार्तामा लोसपाले उठाएमा माग सम्बोधन गराउने विषयमा छलफल भएको बताए । तर लोसपा स्रोत भन्छ, बाहिर जे भने पनि चुनावअघि नै सरकारमा जान भण्डारी र झाले तीब्र पहल गरेका छन् ।
महतो उपप्रधानमन्त्रीसहित महत्वपूर्ण मन्त्रालय लिएर सरकारमा जाने पक्षमा छन । ठाकुर भने आफू नगइ आफू निकट एक व्यक्तिलाई सरकारमा पठाउने चाहनामा छन् । स्रोतका अनुसार लोसपाले देउवासँग कम्तीमा ती वटा मन्त्रालयमा मागेको छ । देउवा भने तत्काल दुई वटा मन्त्रालयमा दिन तयार रहेको स्रोतको भनाइ छ ।
अहिले उद्योग वाणिज्य, आपूर्ति तथा रक्षा मन्त्रालय खाली छ । उद्योग त बीचमा दुई दिन बाहेक झण्डै एक वर्षदेखि खाली छ । खाली भएको ठाउँमा प्रधानमन्त्रीले नयाँ नियुक्ति गरेका छैनन् । नयाँ नियुक्ति नगर्नुले पनि लोसपालाई सरकारमा ल्याउने प्रधानमन्त्रीको चाहना रहेको लोसपाका नेताहरुको बुझाइ छ । देउवा प्रधानमन्त्री हुँदा लोसपाले देउवाको पक्षमा भोट दिएको थियो । एमसीसी लगायतका मुद्दामा लोसपाले देउवालाई साथ दिँदै आएको छ । तराई मधेस केन्द्रित अर्को दल जनता समाजवादी पार्टी जसपा सरकारमा रहे पनि देउवाले लोसपाका नेताहरुसँग सम्बन्ध राम्रो बनाएका छन् । लोसपाले देउवालाई प्रधानमन्त्री हुँदा सघाएको थियो । त्यस्तै अमेरिकी सहयोग अनुदान मिलेनियम च्यालेञ्ज कर्पोरेशन एमसीसी पारित गर्दा पनि लोसपाले सघाएको थियो । तर लोसपा देउवाको सरकारमा गएको छैन । यसअघि केपी ओलीका पालमा केही दिनका लागि झुल्किनका लागि मन्त्रीहरु भए पनि उनीहरुले एक महिना पनि रसास्वादन गर्न पाएनन् । यसपालि किन छाड्ने भन्ने उनीहरुको योजना छ ।