माओवादीसँगको सहकार्यबारे कांग्रेसभित्र असन्तुष्टि

Home Feature

प्रचण्डको दोहोरो ‘बार्गेनिङ’


काठमाडौं । प्रायः अर्काको काँधमा चढेर बन्दुक पड्काउने बानी परेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको यसपालि सातो गएको छ । प्रायः उनले नेपाली कांग्रेसको काँधमा चढेर बन्दुक पड्काउँदै आए र दुई पटक प्रधानमन्त्री भए । चञ्चल स्वभावका प्रचण्डले पटक पटक कांग्रेसलाई धोका दिए । सो क्रममा गत २०७४ सालको प्रतिनिधि सभाको निर्वाचनमा पनि उनले कांग्रेसलाई धोका दिएर एमालेसँग चुनावी गठबन्धन गरे । पहिले स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेससँग मिलेर छोरी रेणु दाहाललाई भरतपुर महानगरपालिकाको मेयर बनाए ।
त्यसपछिको चुनावमा धोका दिए । यसको रीस कांग्रेसी नेता तथा कार्यकर्तामा नमरेको आँकलन गर्दै प्रचण्डले यसपालिको चुनावमा गठबन्धनको भर नपर्न कार्यकर्तालाई आग्रह गरेका छन् । विराटनगरदेखि धनगढी, बुटवलसम्मको यात्रामा माओवादी अध्यक्ष प्रचण्डले कार्यकर्तालाई आफ्नै खुट्टामा उभिन निर्देशन दिँदै गठबन्धनको भर नगर्न आग्रह गरेका हुन् । कांग्रेस नेता तथा कार्यकर्ताहरुले माओवादीका उम्मेदवारलाई असहयोग गर्न सक्ने संभावनालाई ध्यानमा राखेर माओवादी केन्द्रले स्थानीय तहको निर्वाचनमा आवश्यकता हेरेर गठबन्धन गर्न निर्देशनसमेत दिएको छ ।
अधिकांश जिल्लाबाट एमालेसँग मिलेर चुवान लड्नु पर्ने सुझाव आएपछि माओवादी केन्द्रले कांग्रेससँगै मिलेर निर्वाचन लड्नुपर्ने बाध्यता नभएको भन्दै आवश्यकता हेरेर चुनावमा गठबन्धन बनाउन निर्देशन दिएको हो । ‘कांग्रेसको त्यति भर देखिएन आगामी स्थानीय तह चुनाव एक्लै लड्ने मानसिकता बनाउन थालिएको छ’, माओवदी केन्द्रका एक नेताले भने । सत्तागठबन्धन दलभित्रको प्रमुख पार्टी कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धनबारे केही नबोल्नु र कांग्रेसका नेता कार्यकर्ताले निर्वाचनमा माओवादीसँगको सहकार्यलाई नरुचाउनुले पनि माओवादी केन्द्र अप्ठेरोमा परेको छ । कांग्रेसको संस्थापन इतर डा. शेखर कोइराला समूहले स्थानीय तहको निर्वाचनमा गठबन्धन नगरी एक्लै सहभागी हुनुपर्ने बताउन थालेपछि माओवादी केन्द्रले पनि गठबन्धनको भर नभएकाले एक्लै चुनाव लड्ने मानसिकता बनाउन थालेको माओवादी केन्द्रका नेताको दाबी छ ।
माओवादी अध्यक्ष प्रचण्डले पछिल्ला पार्टीका प्रदेशस्तरीय प्रशिक्षणमा पुगेर पनि सत्तागठबन्धन चुनावमा पनि रहला र खाउँला भन्ने कुनै नेता कार्यकर्तालाई नसोच्न आग्रह गर्दै आफ्नै तागतका साथ चुनावलाई जीवनमरणको विषय बनाएर जित्ने योजनाका साथ लाग्न निर्देशन दिए । त्यसको अर्थ गठबन्धनप्रति प्रचण्डको विश्वास कम भएको आँकलन गर्न सकिन्छ ।
प्रचण्डले अहिलेको अवस्थामा पार्टीको परीक्षणसमेत हुने भएकाले गठबन्धन विना नै निर्वाचनको तयारी गर्न निर्देशन दिएका हुन् । काठमाडौंमा भएको एक कार्यक्रममा उनले ‘आउनेवाला निर्वाचन चाहे त्यो स्थानीय वा प्रदेश र संघको होस् त्यो सबै हाम्रा लागि सामान्य औपचारिक निर्वाचनमात्रै रहेको छैन । हाम्रो लागि यो जीवन मरणको लडाइँ भएर आउँदैछ । त्यसका लागि पनि पहिले हामीले आफ्नै खुट्टामा उभिएर आफ्नै तागतका साथ चुनाव जित्ने गरी लाग्नुपर्ने छ’, भनेका थिए । सो कार्यक्रममा त्यसो भनेका प्रचण्डले बुटवलको एउटा कार्यक्रममा कांग्रेसले लखेटेमा एमालेसँग सहकार्य हुन सक्ने भन्दै कांग्रेसलाई धम्क्याएका थिए । स्थानीय तहको निर्वाचनमा ‘जसको नीति उसकै नेतृत्व’ को नारा लिएर मतदाताको घरघर पुग्ने योजना माओवादीले बनाएको छ ।
माओवादीकै एजेण्डाका आधारमा अहिले गाउँगाउँमा सिंहदरबारको अधिकार र करोडौं बजेट आउने स्थिति बनेको र गाउँको विकास र समृद्धिका लागि अब केन्द्रमा आएर सिंहदरबार धाउने वातावरणको अन्त्य भएको माओवादीको भनाइ छ । माओवादीको यही नीतिलाई भने जनताले सिंहदरबारका राजाहरु गाउँ पसेर गाउँ पनि सिध्याएको तर्कसमेत गरिरहेका छन् । जेहोस् यसपालि प्रचण्डको सातो गएको छ । आफूले हरेक पार्टीलाई धोका दिएको (विशेषगरी कांग्रेस र एमाले) दुनियाँ सामु छर्लङ्ग भएपछि अब कुनै पनि बहाना बाँकी नरहेको विश्लेषण गर्दै प्रचण्डले कार्यकर्तालाई दृढ हुन सुझाएका हुन् । तर प्रचण्डले अन्तिम समयसम्म केही न केही जुक्ति निकालेर कांग्रेस सभापति देउवालाई फसाइ छाड्ने विश्वास उनी निकटका नेताहरुको छ ।