प्रधानमन्त्रीज्यू बिन्ती बचाउनुस्

Home Feature राजनीति समाचार


सबै ‘अ’ भ्रष्ट हुँदा कोरोनाले मार्ने निश्चित, मर्न तयार हुनुस्

जनभावना विश्लेषक, काठमाडौं । हामी यतिबेला निकै गम्भीर परिस्थितिमा छौं । नोभल कोरोना भाइरस (कोभिड–१९) दे देशभर नै असर गरेको छ । विश्वभरलाई अस्तव्यस्त पारिरहेका बेलामा नेपाल अछुतो हुने प्रश्न आउँदैन । तर हामीले यस कोभिड–१९ बाट टाढा हुने प्रयासबाट बच्न सक्ने छौं । यतातर्फ सरकारले ध्यान नदिँदा हामी कुनै न कुनै दिन कोरोनाबाट मर्ने निश्चितप्रायः छ ।

मृत्युदेखि सबैलाई डर लाग्छ । सम्भवतः हाम्रा प्रधानमन्त्री केपी शर्मा ओली पनि यसबाट टाढा हुनुहुन्न । तर प्रधानमन्त्री ज्यू तपाईँले आफ्नो ज्यान बचाउन गरेका अनेक प्रयत्न दुनियाँलाई थाहा छ । दुई पटकसम्म मृगौला प्रत्यारोपण गरेको पनि दुनियाँलाई थाहा छ । दुनियाँलाई यो पनि थाहा छ कि तपाईले आफ्नो स्वास्थ्यका लागि दैनिक कति रुपैयाँ राज्यबाट खर्च गरिरहनु भएको छ ।

राष्ट्रको कार्यकारी भएको हैसियतले त्यो छुट तपाईलाई छ । त्यो सुविधा तपाईलाई छ । तपाई बाँच्नुपर्छ । तपाईले यो मुलुकलाई हाँक्नका लागि स्वस्थ्य हुनु जरुरी छ । बिरामी भइरहने होइन तपाई अत्यन्त स्वस्थ्य हुने हो । अनि सबै नागरिकलाई स्वस्थ्य राख्ने हो ।

तर नि प्रधानमन्त्री ज्यू तपाईमात्र हैन देशको हरेक नागरिक बाँच्ने अधिकार छ । उनीहरुलाई बचाउने तपाईको दायित्व हो । उनीहरुलाई बचाउने प्रयत्न गर्ने हो । तपाई अहिले हेरेर बस्ने अधिकार तपाईलाई छैन । तपाई त्यो गरिमामय कुर्सीमा बसेपछि एक जना मानिस पनि मार्ने अधिकार तपाईलाई अधिकार छैन ।

अहिले तपाई त्यसै गरिरहनु भएको छ । आफ्नो कुर्सी र आफूलाई जोगाउन तपाईले हरसम्भव प्रयास गरिरहनु भएको छ । तर तपाईलाई त्यो कुर्सीमा पु¥याउने सबैलाई भुलिरहनुभएको छ । समग्र नेपालले बाँच्ने भीख मागिरहेको छ । तपाई त्यो भीख फैलाएका हातलाई हिर्काउँदै हुनुहुन्छ । नगरिदिनुस् बिन्ती ।

कोरोना भाइरसले कसैलाई पनि आफ्नो र पराई भन्दैन । यसले धेरैलाई मारिसकेको छ । नेपालमै पनि सय जनाभन्दा मरिसकेका छन् । २६ हजार भन्दा बढी संक्रमित भइसकेका छन् । यसले सिंगो मुलुकलाई तहसनहस पारेको छ । बचाउनुस् प्रधानमन्त्री ज्यू ।

यस्तो बेलामा पनि सरकारले भ्रष्टाचार गरेको सुहाउँदैन । व्यक्तिको लासमाथि भ्रष्टाचार गर्ने अधिकार कसले पो लिएर आएको हुन्छ । प्रधानमन्त्रीज्यू विनम्र आग्रह छ । सडकदेखि सदनमा भ्रष्टाचारको फेहरिस्त आइसकेको छ । कोरोनाकै नाममा अर्बौं सकिएको देखाएर गरिने भ्रष्टाचार कतै सहनयोग्य हुँदैन ।

वाइडबडी खरिद प्रकरणदेखि नै तपाईले भ्रष्टाचारमा हस्तक्षेप गर्नुभएको छ । ‘भ्रष्टाचारमा शून्य सहनशीलता’ भनेर तपाईले आफ्नालाई भ्रष्टाचार गर्ने लाइसेन्स बाँड्नु भयो । यदि गलत लाग्दैन भने वाइडबडी खरिद प्रकरणमा संसदीय समितिले दिएको प्रतिवेदन चपाइदिनुभयो । तपाई आफैले समिति गठन गर्नुभयो । त्यो समितिलाई पूर्णता नदिई तपाईले नै समय तुहाइदिनुभयो ।

विश्वका जुनसुकै देशमा पनि यस्तो गर्ने प्रधानमन्त्रीलाई जेलमा स्वागत गरिन्छ । तपाई सुरक्षित हुनुहुन्छ प्रधानमन्त्री ज्यू । कसैले केही गर्दैन । किनकि पहिलो स्पष्ट बहुमतको कम्युनिष्ट सरकारको नेतृत्व गर्ने तपाई निकै नै शक्तिशाली हुनुहुन्छ । त्यही शक्तिले गर्दा नै भ्रष्टाचारमा मुछिएका मन्त्री गोकुल बाँस्कोटालाई राजीनामा दिन लगाउनु भयो । कार्वाही गर्नुभएन । बाँस्कोटाजस्तो कुनै मन्त्री नभएको भनेर चर्चा गर्न भ्याउनु भयो ।

भयो प्रधानमन्त्रीज्यू अब भ्रष्टाचार भन्ने शब्द तपाईको मुखलाई सुहाउँदैन । अनि अब भ्रष्टाचार रोक्ने दुई आयोग अख्तियार दुरुपयोग अनुसन्धान आयोग पनि खारेज गरिदिनुस् । तपाई र तपाईका वरिपरिकाले गर्ने भ्रष्टाचारमा अख्तियार बोल्न सक्दैन । अनि कहाँ गयो सम्पत्ति सुद्धीकरण विभाग । अनि कहाँ गयो सर्वोच्च अदालत । अदालतले पनि तपाईको हुकुमी शासनलाई गजक्क परेर हेरिरहेको छ । अदालत पनि भ्रष्ट भएको छ । यसो हुने छुट कसैलाई छैन । एक विश्लेषक भन्छन्, ‘सबै ‘अ’ भ्रष्ट हुँदा कोरोनाले मार्ने निश्चित छ, मर्न तयार हुनुस् ।’ के त्यही नै अवस्था रहेको हो त ? हामी सबैले मृत्यु कुरेको हो त ?

बस् प्रधानमन्त्रीज्यू यो कसका लागि गर्दै हुनुहुन्छ ? बिन्ती प्रधानमन्त्रीज्यू अहिले एकजुट हुने बेला हो । तपाईका मतदाता रहेमात्रै तपाई हुनुहुनेछ । नेपालीहरु रहेमात्र तपाई देशको प्रधानमन्त्री हुनुहुनेछ । कोरोनाले छट्पटाएर मारेर तपाईले के पाउनु हुन्छ ? यतिधेरै विज्ञ पालेर राख्नुभएको छ प्रधानमन्त्रीज्यू कम्तीमा ५० लाख जनता भएको काठमाडौं उपत्यकालाई बचाउनुस् । समुदायमा कोरोना गएपछि फेरि नियन्त्रण गर्न कठिन हुन्छ । तमासा नहेर्नुस् प्रधानमन्त्रीज्यू । फेरि पनि बिन्ती प्रधानमन्त्रीज्यू बचाउनुस् !!