वैकल्पिक शक्ति समेट्न सके मात्र सुदृढ हुन सक्छ कांग्रेसको संगठन – डा.शोभाखर कँडेल

लेख

नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र र राजपाको विकल्पमा विभिन्न पार्टी च्याउ जसरी उम्रिएका छन् । निर्वाचन आयोगको तथ्यांकअनुसार ९५ वटा दल दर्ता छन् । तीमध्ये नेपाली कांग्रेसलाई टक्कर दिने गरी विभिन्न साना पार्टीले गतिविधि बढाएको देखिन्छ । सांगठनिक रूपमा टक्कर दिने भन्दा पनि कांग्रेसको जस्तै विचार लिएर गठन भएका यी दलको उद्देश्य कांग्रेसको संगठनलाई नै कमजोर बनाउने खालका छन् । यहाँ यस्ता केही दल उदाहरणका रुपमा प्रस्तुत छ ः
कल्याणकारी लोकतन्त्र स्थापनाका लागि राष्ट्रिय स्वाभिमान र राष्ट्रिय एकता, सुशासन र अवाञ्छित राजनीतिकरण अन्त्य, अर्थतन्त्रको उद्वेलन, शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षा, दिगो विकास, वातावरण, सम्पदाको संरक्षणको उद्धेश्य लिएको रवीन्द्र मिश्रको नेतृत्वमा विवेकशील साझा पार्टी सक्रिय छ । जहाँ बीपी त्यहाँ कांग्रेस, अबको कांग्रेस बीपी कांग्रेस, सबैको भरोसा बीपी कांग्रेस, घरघरमा बीपी कांग्रेस, युवाको रोजाइ बीपी कांग्रेस, किसान तथा महिलाको भरोसा बीपी कांग्रेस आदि नारा र नेपाली कांग्रेसकै राष्ट्रियता, प्रजातन्त्र र समाजवादको सिद्धान्त लिएर पुराना कांग्रेसी नेता हरिबोल भट्टराई नेपाली कांग्रेस (बीपी) मार्फत राजनीतिक गतिविधि अघि बढाइरहेका छन् ।
मुलुकमा राष्ट्रिय अस्तित्व अप्ठ्यारोमा परेको भन्दै वैकल्पिक शक्ति निर्माण गरी प्रजातन्त्र, हिन्दु राज्य र शाहवंशीय राजसंस्था स्थापना गर्ने उद्देश्य राखेको गोविन्द निरौला नेतृत्वको नेपाल समाजवादी कांग्रेस सक्रिय छ । त्यस्तै भ्रष्टाचार अन्त्य, राष्ट्रियता संरक्षण, राजनीतिक शुद्धीकरण, न्यायपालिकामा आमूल परिवर्तन र सामाजिक न्यायको प्रत्याभूति गर्ने नारासहित संसदीय प्रणाली र अमेरिकी प्रणालीको मिश्रण भएको पृथ्वीपथ (नेपालवाद) को सिद्धान्त लिएको अधिवक्ता बालकृष्ण न्यौपाने नेतृत्वको नेपालका लागि नेपाली पार्टी पनि संगठन निर्माणमा लागिरहेको छ ।
हिन्दु धर्म सापेक्ष राजसंस्था र मौलिक नीति, सार्वभौमिक सर्वोच्चता र राष्ट्रिय अखण्डता रक्षा, नेपालीको मौलिक धर्म, संस्कृति र परम्परा संरक्षण, जनता, राजसंस्था र राजनीतिक दलहरुबीचको समन्वयकारी राजनीतिक प्रणाली, सबल र सुदृढ सेना तथा न्याय, सुरक्षा, शिक्षा र स्वास्थ्य सेवा निःशुल्क गर्ने प्रतिबद्धताको सिद्धान्त बोकेको देवप्रकाश त्रिपाठी नेतृत्वको एकीकृत शक्ति नेपाल पार्टीले पनि आफूलाई वैकल्पिक शक्तिका रुपमा अगाडि सारेको छ । सतहमा हेर्दा नयाँ पार्टीहरु र प्रमुख पार्टीहरुबीचमा राजतन्त्र वा राजवंशका बारेमा बाहेक विचारमा त्यति भिन्नता देखिन्न । सबैले लोकतान्त्रिक र समाजवादी धार नै अवलम्बन गर्ने प्रयास गरेको देखिन्छ । वैकल्पिक भनिएका यी पार्टीका घोषणापत्र हेर्दा उनीहरु युवा केन्द्रित एजेन्डा अघि सार्न चाहन्छन् ।
अब प्रश्न उठ्न सक्छ ती नयाँ पार्टीले युवा तथा जनमानसमा आकर्षण गर्न सक्छन् ? वृद्ध तथा वयस्कहरुले त करिब करिब आआफ्नो बाटो तय गरिसकेका हुन्छन् तर भ्रष्टाचार र आनियमितताबाट वाक्क भएका युवाले नयाँ विकल्प नखोजिरहन सक्दैनन् । जसले नेपालको वर्तमान परिस्थिति अनुकूल र एक्काइसौं शताब्दी विश्वमा आएका राजनीतिक, आर्थिक एवम् सामाजिक विकासलाई अङ्गीकार गर्न सक्छ त्यसैतर्फ जनमानस आकर्षित हुनु स्वाभाविकै हो । जसको उदाहरण काठमाडौं महानगर–पालिकाको विगत निर्वाचनमा रञ्जु दर्शनाप्रति देखिएको आकर्षणलाई लिन सकिन्छ ।
नयाँ खोलिएका अधिकांश पार्टीका नेताकार्यकर्ता प्रमुख दलका परम्परागत विचारका तुलनामा एकाधबाहेक फरक देखिन्न । कतिपयले त नेपाली कांग्रेस नेतृत्वका गतिविधिबाट विरक्तिएर नयाँ दल गठन गरेका छन् । कांग्रेसबाट जाने अधिकांशले पार्टीमा क्रियाशील सदस्यतामा न्याय नभएको, त्यागी कार्यकर्ताको कदर नभएको, नयाँ सदस्यता लिएर निश्चित अवधि पार्टिलाई योगदान नगरी पार्टी कमिटी तथा निर्वाचनमा जिम्मेवारी दिने गरेको, प्रजातान्त्रिक समाजवादी विचारबाट विचलित भएको, सके सर्वसम्मत नभए बहुमतको निर्णय मान्ने प्रजातान्त्रिक आचरणअनुसार नचलेको, पार्टी कमिटीमा भएका निर्वाचनमा पराजितले भागबन्डा खोजेर नेतृत्वलाई अगाडि बढ्न नदिएर गोरु चुटेर हलो अड्काउने गरेको र सिद्धान्तलाई व्यवहारमा कार्यान्न्वयन नभएको आदि कारण देखाएको पाइन्छ । त्यसैले यस्ता विषयमा कांग्रेस नेतृत्व गम्भीर हुनैपर्छ ।
कांग्रेसभित्रको समस्या
कुनै पनि पार्टीको जीवन त्यसका साधारण, क्रियाशील वा संस्थागत सदस्य हुन् । नेपाली कांग्रेसको जीवन भन्नु पनि क्रियाशील सद्स्य नै हुन् । वैज्ञानिक आधारमा क्रियाशील सदस्यता वितरण भएमा कांग्रेस जीवन्त रहन्छ । तर सबैले परिवारवाद, आफन्त र आफ्ना समर्थकलाई सदस्यता दिलाएर आफू नेतृत्वमा आउने प्रयास गरेको पाइन्छ । अफ्ना परे ठिक र नपरे बेठिक भन्ने कुराबाट कुनै पनि नेता अछुतो छैनन् । नेतृत्व चयन गर्दा पनि राम्रो नभएर हाम्रोले ठाउँ लिएको पाइन्छ । पहिलो पुस्ता, दोस्रो पुस्तादेखि युवापुस्तासम्म यसको चंगुलबाट उम्किन सकेका छैनन् । चरम गुटबन्दीले युवालाई समेत जेलेको छ ।
किसान, मजदुर, महिला, दलित, भूपूसैनिक, तरुण दलदेखि नेपाल विद्ध्यार्थी संघसम्मका भ्रातृ संगठनहरु यसको सिकार भएका छन् । समयमा अधिवेशन सम्पन्न नहुँदा नेतृत्वको अभ्यास पनि हुन पाएको छैन । यसमा अरु कुनै खास कारण छैन चरमगुटबन्दी बाहेक । सबैलाई आफ्नोमा नेतृत्व नआउला भन्ने डर छ । कांग्रेसको मूल आधार भनेकै नेपाल विद्यार्थी संघ हो । जति यसलाई जिम्मेवार बनाउन सकिन्छ त्यति कांग्रेस जिम्मेवार र शुद्ध हुने हो । नेतैपिच्छेका खेमामा विभक्त संगठनबाट शुद्धताको कल्पना गर्न सकिन्न । मुख्य आधार नै एक नभएपछि जनमानसको आकर्षण बढ्ने कुरै भएन । कांग्रेसको अर्को समस्या सिद्धान्तलाई व्यवहारमा रुपान्तरण गर्न नसक्नु हो । वास्तविक रुपमा व्यवहारमा उतार्न नसक्दा विगतका आमनिर्वाचनमा पराजयको सिकार बनेकै हो । जब कांग्रेस एक भयो पाहिलो पार्टी बन्यो अन्यथा सफलता हात नलागेको इतिहास छ । जबसम्म युवालाई यसप्रति आकर्षित गर्न सकिन्न तबसम्म पार्टीको भावी जीवनको कल्पना गर्न सकिन्न । सिद्धान्तमा समाजवादी, व्यवहारमा सामन्तवादी, सिद्धान्तमा प्रजातन्त्रवादी, व्यवहारमा अराजकतावादी, सिद्धान्तमा राष्ट्रवादी, व्यवहारमा प्रभुवादी भएसम्म सबल कांग्रेसको कल्पना गर्न सकिन्न । कांग्रेसको अर्को समस्या आत्मघाती भोट हो । आफूले चाहेको उमेदवार भएन भने विपक्षीलाई भोट क्रस गर्ने आत्मघाती प्रवृत्ति पुरानै रोग हो । यो पनि गुटबन्दीकै परिणाम हो । सबै मेरा कार्यकर्ता हुन् भन्ने विश्वास सृजना गर्न नसक्नु नेतृत्वको अक्षमता हो ।
वैकल्पिक शक्ति र विचारप्रति आकर्षण
राजनीतिप्रति एक किसिमले वितृष्णा बढेको छ । रोजगारीका अवसर नपाउँदा युवा विदेश पलायन भएका छन् । अस्ट्रेलिया, आमेरिकाजस्ता देश मिनी नेपाल हुन लागिसके । त्यहाँको नागरिकता नलिँदासम्म त रेमिट्यान्स पठाउलान् र हाम्रा नेताहरुले रजाइँ गर्लान् त्यसपछि के ? के ब्रेनड्रेन रोक्न सकिएला ? आजको राजनीतिमा देखिएका घातप्रतिघात,
घोचपेच, गठन–विघटनको राजनीति केका लागि ? सिद्धान्त वा व्यवहार ? पद–प्रतिष्ठा कार्यशैली कस्तो ? डन, गुण्डा, व्यापारी, पैसावालाका साथ वा इमानदार कार्यकर्ताका साथ ? आफ्नो कमाइ– बैंक ब्यालेन्स, घरघडेरी आर्जन गर्ने पेसा वा राष्ट्रको सेवा, निःस्वार्थ सेवा ? यी प्रश्न जनमानसमा मडारिरहेका छन् ।
कांग्रेसको दायित्व
प्रजातान्त्रिक विचार लिएर नयाँ पार्टीहरुतर्फ जाने जनमानसलाई रोक्नु कांग्रेसकै दायित्व हो । विचार मिल्ने र नयाँ खोलिएका पार्टीहरुसँग संवाद गरी मूलधारमा फर्काउन पहल गर्नुपर्ने देखिन्छ । यस्तै बेलैमा कार्यकर्ताको गुनासा सम्बोधन गर्नुपर्छ । अन्यथा भयावह स्थिति नआउला भन्न सकिन्न । किनकि झिल्को सानै भए पनि डढेलो लगाउन काफी हुन्छ । आसन्न चौधौं महाधिवेशनमा कांग्रेसको सिद्धान्तलाई हुबहु व्यवहारमा उतार्न सक्ने, बीपी, सुवर्णशमशेर, गणेशमान तथा किसुनजीको आदर्श एवम् त्यागलाई आत्मसात् गर्न सक्ने, विचार र जाँगरमा युवा, किसान, मजदुर, व्यवसायी, वृद्ध, वयस्क, युवाका विचारलाई अंगीकार गरेर विगतका कमीकमजोरीलाई दोहरिन नदिने, एक्काइसौं शताब्दी अनुकूल राष्ट्रलाई हाँक्न सक्ने, स्वतन्त्र, निर्भीक, कर्मठ र अनुशासित नेतृत्वको अपेक्षा गर्न सकिन्छ । पुरानै मानसिकता र व्यवहार बोक्ने नेतृत्व आएमा वैकल्पिक शक्तितर्फ जनमानसको ध्यान जाने नै छ । (नेपाल समय)