लकडाउन मात्रै समाधान हो र ?

लेख विचार समाज

जनभावना डेष्क । अहिले पूरा विश्व कोराना भयले आक्रान्त छ । अधिकांश देश ठप्प छन् । कलकारखाना, उद्योग धन्दा, कामधाम सबै रोकिएको छ । यातायात बन्द छ । कोरोनाभाइरस एकबाट अर्कोमा अनियन्त्रित भएर नफैलियोस् भनेरै चारैतिर लकडाउन गरिएको छ ।

विश्वका अति विकसित मुलुक हुन् वा गरिब मुलुक सबैको अवस्था एउटै छ । सबैतिर ठप्प छ । हुनत बेलाबेलामा लकडाउन खोल्ने वा यसलाई खुकुलो बनाउने चर्चा नचलेको होइन । तर चर्चामा मात्रै सीमित रहन्छ । खुकुलो हुँदैन । बरु थपिँदै पो गएको छ ।

नेपालमा लकडाउनले ७१ दिन पार गरिसकेको छ । जेठ २० गतेपछि अर्को १२ दिनलाई फेरि लकडाउन थप्ने निर्णय गरिसकेको छ सरकारले । अब जेठ मसान्तसम्म देश लकडाउनमा रहने छ ।

संसारले झेल्नुपरेको यो पीडाबाट हाम्रोजस्तो सानो देश पपनि अछुतो रहन सक्ने कुरा भएन पनि । यो समयमा मानिसको जीवन रक्षा नै महत्वपूर्ण भएको छ । काम ठूलो नभएर अहिले कोरोनाभाइरसबाट ज्यान जोगाउनु नै ठूलो भएको । भोलि कमाएर खानु त छँदैछ । त्यसैले पनि ठप्प छ विश्वसँगै नेपाल ।

तर हाम्रोजस्तो गरीब मुल्ुकमा लकडाउनले झनै तर्साएको छ । दिनभरि काम गरेर बेलुका एक छाक खाने परिवारहरू नेपालमा धेरै छन् । तिनको अवस्था कस्तो होला भनेर हामी अहिले अनुमान पनि गर्न सक्दैनांै ।

हुनेखानेको कुरा नगरौँ । तर खान लाउन पुग्ने मध्यमवर्गीय परिवारको अवस्था पनि आज दयनीय बनेको छ । आफूले जोहो गरेर राखेको पैसो दैनिकीमा खर्च हुँदै गएकोले तिनको अवस्था पनि खस्कँदो छ । लाखौँ पसल बन्द छ । तिनको पसलबाट हुने आम्दानी कति घट्यो होला ? त्यही पसल आम्दानीको स्रोत हुनेका लागि अवस्था सहज होला र ?

हरेक पसल, ति हजामका हुन् वा पत्रिका पसल वा मिठाई पसल । तिनको कमाई बन्द छ । तिनले घर बहाल पनि कसरी तिर्ने ? अप्ठेरो त्यो पनि छ । केही खाद्यान्न पसल र औषधि पसल चलेको देखिन्छ । तर तिनले पनि सानो समयमा कति नै बेच्न सक्छन र । त्यो पनि सामाजिक दूरी पालना गरेर ।

हालै एउटा छापामा खबर आयो, एउटी सुत्केरीले खान पाइनन् । तिनलाई र तिनको बच्चाका लागि कुनै दयालुले खानाको व्यवस्था गरिदिए । तर के ती सुत्केरी महिलाका लागि एक छाकको खान्कीले मात्रै टर्छ त ? यतातिर राज्यले सोच्नु पर्ने होइन र ?

एक बिहान टोलमा चर्चा हुँदै थियो, एउटा बसको विषयमा । टोलमा बस थन्किएको थियो, गएको ६५ दिनदेखि । कोही भन्दै थिए, ‘बिचरा, ऋण लिएर बस चलाउन सुरु गरेको थियो फलानोले । किनेको चार महिनामै लकडाउन भयो । अब त्यसले के गरी तिर्ला कर्जा ?

कतिपय संस्था र कम्पनीहरुले आफूले राखेका कामदारलाई कामबाट हटाउन थालिसकेको पनि सुनिएको छ । तलब खुवाउन धेरैलाई हम्मेहम्मे परेको कसैबाट लुकेको कुरा होइन ।
तर यि सबै अप्ठ्याराहरुको उपचार के ? लकडाउन मात्रै यो कहरको समाधान हो र ?

यसबेला समस्याले सबैलाई गाँजेको छ । त्यसैले यो अवस्थाले भोली अराजकता नल्याओस् भनेरै राज्यले अब लकडाउनलाई खुकुलो बनाउँदै जानुपर्ने भएको छ । केही सीमाहरुमा बाँध्दै लकडाउन खुकुलो बनाउनुको विकल्प देखिँदैन । यतातिर राज्यले सोच्नु जरुरी भइसकेको छ ।

हो, लकडाउन खुकुलो गर्नासाथ कोरोनाभाइरसको जोखिम झन बढेर जानसक्छ । तर त्यसका लागि सतर्कता कसरी अपनाउनु पर्छ, आमनागरिकले ? त्यसको खोजी गरेर र सतर्कता अपनाउँदै लकडाउन खुकुलो बनाउँदै काममा जानसक्ने वातावरण तयार गर्ने बेला भइसकेको छ ।

हैन भने लकडाउनले समस्याको समाधान गर्ने होइन कि झन्झन् समस्या थप्न सक्छ ।