नेपालको नयाँ नक्साबारे बोलेपछि भारतीय मिडियामा आलोचित बनेकी वीपी नातिनी मनिषा फर्किन् नेपाल

Home Feature मनोरञ्जन राजनीति

काठमाडौं । लम्पियाधुरासहितको नेपालले नयाँ नक्सा सार्वजनिक गरेपछि दिएको प्रतिक्रियालाई लिएर भारतीय संचारमाध्यमले विवादमा तानेपछि तनावमा रहेकी विपी कोइरालाकी नातिनी अभिनेत्री मनिषा कोइराला स्वदेश फर्केकी छिन् ।

उनी मंगलबार स्थलमार्गबाट भैरहवाको बेलहिया नाका हुँदै स्वदेश फर्केकी हुन् । मनिषा बेलहिया नाकाबाट स्वदेश फर्किएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताए । उनी आफ्नो बुबा प्रकाश कोइराला र आमासँगै निजी गाडीमा स्वदेश आएकी हुन् ।

नेपालले नयाँ नक्सा सार्वजनिक गरेपछि भारतीय मिडियाले त्यसको चर्को आलोचना गरेका थिए । भारतमै भएकी मनिषाले नयाँ नक्साबारे खुशी व्यक्त गर्दै ट्वीटरमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै लेखेकी थिइन्, ‘हाम्रो सानो राष्ट्रको मर्यादा राख्नुभएकोमा तपाईँलाई धन्यवाद । अब तीन महान राष्ट्रहरुबीच शान्तिपूर्ण र सम्मानजनक संवाद भएकको हेर्न हामी सबै इच्छुक छौँ ।’

सरकारले जेठ ५ गते नेपालको नयाँ नक्सा ल्याउने निर्णय गरेको थियो । मनिषाले ६ गते उक्त प्रतिक्रिया दिएकी थिइन् । भूमिव्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले लिम्पियाधुरासहित गुञ्जी, नाभी, कुटीलगायत केही भूभाग समेटिएको नेपालको नक्शा (राजनीतिक तथा प्रशासनिक) जेठ ७ गते सार्वजनिक गरिसकेको छ।

सोही अनुरुप निशान छापभित्र रहेको नेपालको नक्सा सीमा अनुरुप मिलाउने तयारी स्वरुप सरकारले संविधान संशोधनको प्रस्ताव जेठ ९ गते संसद्‍मा दर्ता गरेपछि जेठ १८ गते संघीय संसदको प्रतिनिधिसभा बैठकमा कानुनमन्त्री शिवमाया तुम्बाहाङफेले संविधान संशोधन विधेयक पेश गरेकी छन् ।

त्यस्तै जेठ १७ गते बसेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले संविधान संशोधन प्रस्तावको पक्षमा मतदान गर्न पार्टी संसदीय दललाई निर्देशन दिइसकेको छ ।

तर तराई केन्द्रीत दलले भने त्यसलाई अस्वीकार गरेका छन् । जनता समाजवादी पार्टीमा भने किचलो बढेको छ । बाबुराम भट्टराई पक्ष संविधान संशोधनमा साथ दिने भन्छ । तर अन्य तराईका नेताहरु भने पहिलेदेखि नै आफ्नो संविधान संशोधनको मागलाई पनि समेट्नु पर्ने बताइरहेका छन् ।