बाम गठबन्धनमा चिनियाँ दबाब

Home Feature

काठमाडौं । यतिबेला चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियाञ्चाओ नेपाल भ्रमणमा छन् । चार दिने भ्रमणमा आइतबारदेखि नेपालमा रहेका लिउको एउटै उद्देश्य हो नेपालका मुख्य कम्युनिष्ट पार्टीहरुसँग वामगठबन्धन गर्ने । सके वामगठबन्धन नसके चुनावी गठबन्धन भए पनि गराएर नेपालमा फेरि कम्युनिष्टको सरकार गठन गरेर आफू सुहाउँदो काम गराउने योजनामा सीपीसी रहेको बुझिन्छ । नेपालका दुई ठूला कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसँग भिडियो संवाद गरेपछिमात्र लिउ नेपाल आएका हुन् । लिउ आकस्मिक रूपमा नेपाल भ्रमणमा आएका हुन् । सीपीसीको विदेश विभाग प्रमुख सम्हालेपछि लिउको पहिलो विदेश भ्रमण नेपाल रहेको बताइएको छ । कूटनीतिक स्रोतका अनुसार चार दिने नेपाल भ्रमणमा आएका लिउको मुख्य उद्देश्य वाम गठबन्धनका लागि बल पु¥याउनु रहेको छ ।
‘निर्वाचन अघि नै वामगठबन्धन गर्न दबाब दिने उद्धेश्यले उनी नेपाल आएका हुन्’, स्रोतले भन्यो । स्थानीय तहको निर्वाचनअघि नै दुई पार्टीबीच गठबन्धन गराउने कोसिस भएको थियो तर एमालेबाट विभाजन भएको नेकपा एसका कारण गठबन्धन हुन सकेको थिएन । अहिले भने सकेसम्म एमालेबाट विभाजन भएको एस पार्टीलाई पनि मिलाउने गरी चिनियाँ पक्षले तयारी गरेको छ । आउने चुनावमा संसदमा वामपन्थीहरूको उपस्थिति बलियो होस् भन्ने चिनियाँ चाहना रहेको छ र सकेसम्म एमाले र माओवादी केन्द्र आउने चुनावमा गठबन्धन गरेर जाउन् भन्ने पनि रहेको छ । खासगरी चिनियाँ नेताहरुले एमाले र माओवादी केन्द्रका नेताहरुलाई चीनमै बोलाएर वाम गठबन्धनको विषयमा कुराकानी गरेका थिए ।
केपी ओली सकारात्मक बने केही समयभित्रै वामगठबन्धन हुने चिनियाँहरुको बुझाइ रहेको छ । नेपालमा अमेरिकी प्रभाव बढेको चर्चा भइरहेका बेला चिनियाँ कम्युनिष्ट पार्टीका वरिष्ठ नेताको आकस्मिक भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ । स्रोतका अनुसार भ्रमणका क्रममा लिउले उच्च राजनीतिक तहमा भेटवार्ता गर्नेछन् । नेता लिउले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली लगायतसँग भेटवार्ता गर्ने तयारी रहेको छ ।
अमेरिकी लविङमा नेपाल पुगेको भन्दै आलोचना हुन थालेपछि परराष्ट्रमन्त्री डा. नारायण खड्काले चीन भ्रमणको प्रयास गरेका थिए । तर चीनले खड्काको भ्रमणप्रति अनिच्छा देखाइरहेको छ । त्यही क्रममा लिउको भ्रमण भएको हो । ५८ वर्षीय नेता लिउ चीनका पूर्व वरिष्ठ कुटनीतिज्ञ हुन् । गत जुन महिनामा उनी चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभाग प्रमुख नियुक्त भएका थिए । तत्कालीन विदेश विभाग प्रमुख सोङ् थाओको स्थानमा लिउ नियुक्त भएका हुन् । त्यसैले उनको नेपाल भ्रमण परिचयात्मक भनिए पनि सरकारी अधिकारीहरुका अनुसार चिनियाँ वरिष्ठ नेताको भ्रमणमा पार्टीगत, द्विपक्षीय र भूराजनीतिक गरी तीन आयाम छन् ।
नेपालका राजनीतिक दलसँग सीपीसीको सम्बन्ध विस्तार गर्नु उनको भ्रमणको एउटा एजेन्डा हो । त्यसैगरी
बेल्ट एन्ड रोड अवधारणा (बीआरआई) फ्रेमवर्क भित्र रहेर चिनियाँ सहयोगमा रेल र सडक जस्ता विकास परियोजनामा अघि बढाउन नेपालको ढिलाइबारे यहाँको राजनीतिक नेतृत्वसँग छलफल गर्नु उनको अर्को एजेन्डा हो । साथै अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) नेपालको संसदबाट अनुमोदन भएपछि त्यसको बारेमा पनि चासो राख्न सक्ने कुटनीतिक क्षेत्रका विज्ञहरुले जनाएका छन् ।
जे भए पनि लिउले चिनियाँ सुपर ग्लू लिएर आएका छन् । अब यो ग्लू कत्तिको टाँसिन्छ त्यसबाट नै वामगठबन्धन साकार हुन सक्नेछ । यसअघि २०७४ सालको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा चुनावी एकता र २०७५ को जेठ ३ गते पार्टी एकता गरेका एमाले र माओवादीलाई टाँस्ने काम चीनले नै गरेको थियो । तर त्यो चाइनिज सुपर ग्लूले केबल तीन वर्षमात्र काम गर्न सक्यो । अहिले लिउले त्यस्तै सुपर ग्लू बोेकेर आएका छन् वा अन्य विकल्प पनि खुला राखेका छन् त्यसबाटै नेपालका कम्युनिष्ट पार्टीहरुको भविष्य निर्धारण हुनेछ ।