भगवान् राम १४ वर्षमा वनवास सकेर फर्के अयोध्या राजकाज चलाउन, त्यही गतिमा नेपाल

Home Feature विचार सम्पादकीय

काठमाडौं । नेपाली जनताले इच्छा र अनिच्छाबीच शनिबार गणतन्त्र दिवस मनाएका छन् । इच्छाले त्यो अर्थमा कि २४० वर्ष लामो राजसंस्था ढल्यो, अब राजाले अभिभावकको भूमिकाबाट विश्राम लिएर स्वतन्त्रपूर्वक आफ्नो जीवन जीउने छन् । तनावमुक्त हुनेछन् । अर्थात् देश र जनताको गहन जिम्मेवारीबाट आराम पाएका छन् । अब सबै जनप्रतिनिधिको टाउकोमा छ । उनीहरुले नै अभिभारा निर्वाह गर्नेछन् ।

त्यो परिकल्पना गर्दा गर्दै जनताले १३ वर्ष बिताएको पत्तो पाएनन् । १३ वर्षअघि २०६५ साल जेठ १५ गते नेपालमा राजतन्त्रको अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा गरिएको थियो । २०६२–०६३ को दोस्रो जनआन्दोलन (जहाँ हतियारधारी माओवादीले लुकेर खुलेआम सडकमा तेर्सिएका सात दललाई साथ दिइरहेको थियो, आन्दोलनका नाममा धेरै जनताको ज्यान नजाओस् भनी तत्कालीन राजसंस्थाबाट निकै सुझबुझ अपनाएका कारण) पछि गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ मा नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरे यता देशमा २०७२ सालमा नयाँ संविधान, २०७४ सालमा तीन तह संघ, प्रदेश र स्थानीय स्तरको निर्वाचन सम्पन्न भएको थियो ।

जनआन्दोलनदेखि पछिका अहिलेसम्मका वर्षमा केबल नाम मेटाउने काम भयो । स्मारक तोड्ने काम भयो र फेरि आफू निकटका व्यक्तिका स्मारक बनाउने होड चल्यो । अर्थात् यो १४ वर्षमा केबल राजसंस्थालाई बदनाम गरेर गणतन्त्रको नाममा नेताहरु हावी हुने काममात्र भयो ।

झट्ट हेर्दा एकात्मक राज्य व्यवस्थाको स्थानमा संघीय र राजतन्त्रको स्थानमा जनताका प्रतिनिधिले नेतृत्व सम्हाल्दै गणतन्त्र स्थापित देखियो । सिंहदरबारमा सीमित अधिकार स्थानीय तह तहमा पुगेको देखियो । तर उज्ज्योलोको चकम प्राकृतिक रुपले नआई जवरजस्ती चम्काउन खोजियो ।

मुलुकले भोगेको नियति हेर्दा यस्तो लाग्छ कि हीरा–मोतीमा कालो पोतेर फेरि त्यसलाई चम्काउन कमेरो दल्ने काम भयो । जसले गर्दा अहिलेसम्म पनि नेताहरुको ढोंगी प्रयोगले हीरा–छोपिएको छ । कमेरोले देश टल्काउने प्रयास भइरहेको छ । यसअर्थमा हीरा–मोती नासिएको छैन । केवल छोपिएको छ । गणतन्त्रको नाममा नेताहरुले गरेको बेइमानी बाहिर छताछुल्ल त भइसकेको छ । समयले कानूनको कठघरामा ल्याएपछि हीरा–मोतीमा लागेको दाग जानेछ र फेरि टल्किने छ विश्वकै सबैभन्दा सुन्दर देश नेपाल ।

त्यसो त दाम चढाउनेलाई थाहा छ राजसंस्थाको महत्व । नेताहरुले नै चढाएका हुन् दाम । जनताले कहिल्यै राजालाई दाम चढाएनन् । उनीहरुले राजालाई त विष्णुको रुप मान्छन् । त्यसरी नै पुज्छन् राजालाई । उनीहरुलाई के थाहा दामको महत्व । त्यसैले त गणतन्त्र आएपछि जनताले आफ्ना दिन आउने अपेक्षा गरेका थिए । गरिबी हट्ने अपेक्षा गरेका थिए । विकासको बिगूल फुकिने अपेक्षा गरेका थिए । त्यसकै लागि २०६२–०६३ मा ज्यानको आहूति दिएका थिए ।

जनताकै जनप्रतिनिधिले विकास गर्ने अपेक्षा गरिएको थियो । एउटा राजाले देशभर हेर्न सकेनन् भनेर लोकतन्त्र आएपछि सारा लोकले हेर्नेछन्, जनप्रतिनिधिले हेर्नेछन् भन्ने थियो । तर अहिलेसम्मको अवस्था हेर्दा तिनै जनप्रतिनिधि सत्ता र शक्तिको उन्मादमा रहँदा विकासको बाटो विनाशतर्फ केन्द्रीत भएको जनगुनासो व्याप्त छ । यथार्थ तीतो हुन्छ । अहिले तीतो व्याप्त छ ।

स्वार्थकै कारणले सरकार आफैमा सरकार हैन । ऊ राणाशासनमा जनताले भोगेको पीडा भन्दा पनि चर्को पीडा दिन अग्रसर छ । बार्गेनिङ गर्छ जनतासँग । बार्गेनिङ गर्छ छिमेकीसँग । देशसँग आफ्नो स्वार्थ साट्छ । त्यसैले भनिन्छ कि राजा रहेन भने उसले विदेशमा शरण लिन जान सक्दैन । किनकि उसको देश एउटै हुन्छ । तर नेता जो राजनेता हुन सक्दैन उसले स्वार्थमा अनेक देशलाई आफ्नो बनाएर स्वार्थी लगानी गर्न सक्छ । जुन देशमा पनि जान सक्छ ।

त्यसैले त डेढ वर्षदेखि कोरोनाले असर पारेको मुलुकमा जनताको ज्यान सत्ता संचालकलाई प्यारो लागेको छैन । शासन व्यवस्थामा दलीय र त्यसमा पनि गूट विशेषको हालीमुहाली चलाउने विकृति देखिएको छ । राज्य व्यवस्थामा इमान र आस्था र विधिको शासन अंगालेका भन्दा विचौलिया वर्गको पहुँच बढ्दा देखिएको छ । सत्ताका लागि आफ्नै दल फुटाउनेदेखि सांसद नियन्त्रणमा लिनेसम्मका विकृति काफी छन् ।

सत्ताकै लागि आफैंले लेखेको संविधान च्यात्नु कहाँसम्मको अपराध । सबैभन्दा ठूलो संविधान हो । देशको कानून हो । केपी शर्मा ओली नेतृत्वको सरकारले दुई पटकसम्म संसद विघटन गर्यो । पहिलो पटक विघटन गरेको संसदलाई सर्वोच्च अदालतले ब्युँताइदियो । फेरि अहिले अदालतमा विचाराधीन छन् अढाइ दर्जन मुद्दा ।

प्रधानमन्त्री ओलीमाथि अहिलेसम्मकै कुनै पनि प्रधानमन्त्रीलाई लागेका भन्दा कयौं गुणाबढी मुद्दा लागेका छन् । ती मुद्दा झापा काण्डमा निहत्था मानिसको हत्या गरेर जेल गएको मुद्दाभन्दा फरक छन् । देशद्रोहको मुद्दा । संविधान पालना नगरेको मुद्दा । भ्रष्टाचारको मुद्दा । अदालतको मानहानी गरेको मुद्दा । विविध ।

ओलीका पालामा भ्रष्टाचारका ठूला ठूला काण्डहरु भएका छन् । स्वास्थ्यमा समेत घोटाला भएको छ । अनि बिचौलियालाई खुलेआम छुट दिइएको छ । रातारात राज्यका स्रोतको दोहन गर्नेलाई सफाइ दिइएको छ । जुन देशमा संविधान नै बिटुलो बन्छ त्यो देशमा लोकतन्त्र बच्छ भनेर भन्ने कुनै आधार छैनन् ।

संसदीय व्यवस्था भएको देशमा अध्यादेशबाटै बजेट ल्याइन्छ भने त्यसलाई के भन्ने । त्यसैले त भनिन्छ जुन देशमा राजनीति नैतिकविहीन बन्छ त्यो देशमा निष्ट कहिल्यै हुन सक्दैन । त्यस्तै भइरहेको छ १४ वर्षदेखि अनिष्टै अनिष्ट ।

केबल राजनैतिक दलमा नैतिकताको खोजी हुँदैछ । नैतिकता बिना राजनीति सम्भव छैन । राजनीति सामाजिक सेवा हो । पेशा हैन । पेशा बनाउन खोज्दा गणतन्त्रको मर्ममाथि पटक पटक बलात्कार भइरहेको छ । बलात्कारीहरु नै देशमा हावी भइरहेका छन् ।

आपसमा बैमनस्य छ । बहुदलीय प्रणाली अंगालेको देशमा दलहरुबीच त पछिको कुरा आफ्नै दलमा मेल छैन । समझदारीमा कमी छ । विश्वासमा कमी छ । इच्छाशक्तिमा कमी छ । बढी छ त केबल उनीहरुबी असमझदारी, अविश्वास, व्यक्तिगत स्वार्थ र मैखाउँ–मैलाउँ–मैसब गरौंको पापी सोच ।

त्यसैले त अहिलेको यो विकृतिलाई रोक्नका लागि विकल्प खोजिँदैछ । १२ वर्षमा खोलो त फर्किन्छ भनिन्छ भने गलत सोचले उर्जा पाएको सरकारको अतिवादलाई निस्तेज पारेर फेरि देशलाई माया गर्ने, देश र जनताको सेतु बन्ने संस्थाको फेरि खोजी हुँदैछ ।

१२ वर्षको कथा त पार भयो अब फेरि भगवान् रामको इतिहासले सम्झना गराइरहेको छ । रामको इमानको परीक्षणको बेला आएको छ । भगवान राम पनि कठिन १४ वर्षको वनवास जीवन बिताएर फर्केका थिए । फर्केपछि अयोध्याको राजकाज पुनः चलाउन पाए । उनी फर्केपछि अयोध्यामा व्याप्त हुँदै गएको विकृति पनि मेटिएको थियो ।

नेपालमा अहिले त्यही परिकल्पना हुँदैछ । नेताहरुको विकृतिका कारण १४ वर्षको कठिन घडीपछि राजसंस्था फर्किने विश्लेषण गर्न थालिएको छ । एक राजा फालेर धेरै राजा बने । राजाले देश हेर्छ । नेताले आफन्त हेरेको स्पष्टै भएको छ ।

यो १४ वर्षमा पूर्वराजाले आफ्नो विचार राख्दा पनि त्यसलाई गलत ढंगले हेरियो । तर नेताहरुले गद्दारी गरेपछि अहिले फेरि राजसंस्थाको बिगूल फुक्न खोजिँदैछ ।

यतिधेरै जातजाति र धर्म संस्कृति भएको मुलुकमा अहिलेस्म्म कहिल्यै जातियता र धार्मिक लडाइँ भएन । तर नेताहरुले जे पनि गर्न सक्छन् भन्ने आशंका यद्यपि छ । अब यो नेपाल आमालाई बचाउने जिम्मेवारी आइपरेको छ । त्यो पनि देशलाई विपद् पर्दा विदेश पलायन हुने नेताको हैन आफ्नो देश छाडेर कतै नजाने राजाको ।

पूर्वराजा ज्ञानेन्द्र शाहबाट त्यसै भनिएको रहेनछ २०६५ को जेठमा कि यो श्रीपेच सुरक्षित साथ राखिदिनू । अब श्रीपेजको खोजी थाले हुने त होइन ?