हात्ती बुझाएर काठमाडौं, बन्द गरिएन नाका

Home Feature राजनीति विचार

काठमाडौं । कोरोना कहरले विश्वलाई आफ्नो चपेटामा लिएको छ । कोरोना भाइरस चारैतिर भौतारिइरहेको अनुभव सबैले गर्दै आएका छन् । कोभिड १९ को सुरुआत भएपछिको आठ महिनामा आठ लाख भन्दा बढी मानिसको ज्यान लिइसकेको छ । भाइरसबाट विश्वभरि संक्रमित हुनेको संख्या करिब साढे दुई करोड पुग्न लागिसकेको छ । पहिले चीनको वुहानमा मात्रै सीमित थियो कोरोना भाइरस । त्यसैले त्यसको रोकथामका लागि वुहानमा लकडाउन सुरुमै लाग्यो । तर भाइरस रोकिएन ।

वुहान हुँदै बाहिरिएको कोरोना भाइरस युरोप अमेरिका हुँदै पश्चिमी मुलुकहरूमा फैलियो । यता त्यसको समाचार मात्रै फैलिँदै गयो । तर बिस्तारै एसियाका मुलुकहरूमा कोरोनाको कहर व्याप्त हुँदैगयो । अहिले नेपाल पनि यस्को दह्रिलो चपेटामा परिसकेको छ ।

गएको चैत्र ११ गतेदेखि सरकारले लकडाउन जारी ग¥यो । कोरोना भाइरसको रोकथामका लागि सरकारले गरेको यो पहिलो काम थियो ।

फलतः धेरै मानिस काठमाडौंमा बस्ने भएकोले रोगले पनि काठमाडौंमा नै धेरैलाई पक्डन सक्ने डरले आफ्नो घरगाउँ तिर बाहिरिए । यसरी काठमाडौं सुनसान भएर गयो ।

लकडाउनलाई खुुकुलो गर्ने क्रममा काठमाडौंलाई बचाउनु सरकारको मुख्य दायित्व हुन्थ्यो । तर सरकारको ध्यान काठमाडौं तिर अलिकति पनि गएन । यदि गएको भए राजधानी भित्रीने हरेक नाकामा राज्यले कडाई गर्ने थियो ।

काठमाडौं भित्रिन चाहनेले पनि आफ्नो पीसीआर टेस्ट गराएर मात्रै काठमाडौं भित्रिने व्यवस्था मिलाउने थिए । तर त्यसो अलिकति पनि भएन ।

एकजना मानिस सप्तरीबाट परिवारका साथ काठमाडौं भित्रिएका थिए, असारको पहिलो साता । उनले आफूले टाकटुक मिलाएर साँगा नाकाबाट काठमाडौंको बाटो तताएको सुनाए । उनले केही रकम खर्च गरे ।

फलस्वरुपः उनले पीसीआर टेस्ट नगरे पनि उनलाई काठमाडौंै भित्रिन दिए । त्यहाँ पीसीआरको रिपोर्ट भन्दा हजारहजारका हात्तीले महत्वका साथ काम गरेको थियो । ती मानिस बडो गर्वका साथ आफूले हात्ती बुझाएर काठमाडौं भित्रिएको जानकारी गराउँदै थिए ।

यस्ता हात्ती र गैँडा बुझाएर काठमाडौं भित्रिनेले नै काठमाडौंलाई ‘रेडजोन’ बनाउन मद्दत गरेको निश्चित हो । त्यो लापरवाहीको परिणाम अहिले सबैभन्दा बढी त्यही नाकाहरुमा बस्ने सुरक्षाकर्मीहरुले भोगिरहेका छन् ।

यदि त्यसैबेला काठमाडौं भित्रिने सबै नाका, त्यो थानकोट होस् वा फर्पिङ, साँगा होस् वा जहरसिंह पौवा, ककनी होस् वा भट्टेडाँडा, सबैतिर उत्तिक्कै कडाई गरिदिएको भए आज राजधानी यति विघ्न डरलाग्दो अवस्थामा पुग्ने थिएन ।

राज्य संयन्त्रको चरम लापरवाहीको नतिजा अहिले काठमाडौं बस्नेहरुले भोग्नु परिरहेको छ । यदि त्यसैबेला काठमाडौंले अर्थतन्त्रमा ५० प्रतिशतभन्दा बढी योगदान दिन्छ र कोरोनाको हटस्पट बन्नबाट राजधानीलाई बचाउन विशेष ध्यान दिएको भए यतिबेला काठमाडौं आफ्नो काम गरिरहेको हुन्थ्यो र मोफसलमा रहेका बिरामीहरुलाई सेवासुविधा उपलब्ध गराइरहेको हुन्थ्यो । तर यो लापरवाहीले काठमाडौंलाई डेन्जर जोनमा परिणत गरिदिएको छ ।

यदि त्यसैबेलादेखि राजधानी प्रवेश गर्ने नाकाहरुमा कडाई गरिदिएको भए यतिखेर पुष्पकमल दाहाल प्रचण्ड वा नेता माधव नेपालका सुरक्षाकर्मीहरुमा कोरोना देखिने थिएन । नत नेपाल प्रहरी र सशस्त्र प्रहरीमा नै यतिधेरै कोरोना संक्रमित भेटिन्थे । नत काठमाडौंमा समुदायस्तरमा नै कोरोना फैलिने डर रहन्थ्यो ।