१२ औं लघुकथा दिवस सम्पन्न

समाज

काठमाडौं । लघुकथा समाज नेपालले भदौ ५ गते बर्सेनि मनाउँदै आएको लघुकथा दिवस यो वर्ष भर्चुअल रूपमा मनाएको छ । कोरोना कहरका कारण उत्पन्न विशेष परिस्थितलाई ध्यानमा राख्दै भर्चुअलरुपमै भए पनि कार्यक्रम गरिएको हो ।

शुक्रबार अपरान्ह आयोजित भर्चुअल कार्यक्रममा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले २०७७ सालको ‘पद्मा–रामचन्द्र लघुकथा सम्मान’ साहित्यकार विजय सागर तथा ‘धनमान लघुकथा पुरस्कार’ साहित्यकार दिव्य गिरीलाई प्रदान गरिएको भन्दै प्रमाणपत्र वाचन गरेर सुनाएका थिए ।

सो दुवै सम्मान तथा पुरस्कारका साथै नगद राशी १० हजार १ रुपैयाँ प्रदान गरिने छ ।

कार्यक्रममा सम्मान तथा पुरस्कार स्थिति सहज भएपछि सम्मानित स्रष्टाहरूलाई उपलब्ध गराईने जानकारी दिइयो ।

भर्चुअल कार्यक्रममा प्रमुख अतिथि साहित्यकार अशेष मल्लले विगतका दिवसहरूमा गर्दै आएको लघुकथा मञ्चन गर्न नसकिएको भन्दै लघुकथा समाजले लघुकथाका क्षेत्रमा इतिहास बनाइरहेको उल्लेख गरे ।

कार्यक्रममा लघुकथाकार ममता मृदुलको लघुकथासंग्रह ‘सेलाएको सयपत्री’ सार्वजनिक गरियो ।
लघुकथा दिवसका दिन आयोजित उक्त भर्चुअल जमघटमा प्राडा लक्ष्मणप्रसाद गौतम, कृष्ण बजगाईं, धु्रव मधिकर्मी, सम्मानित व्यक्तिहरू विजय सागर, दिव्य गिरी, सम्मान तथा पुरस्कारका संस्थापकहरू डा. पुष्करराज भट्ट तथा धनमान श्रेष्ठ एवम् श्रीबाबु कार्की उदास, छविरमण सिलवालले बोलेका थिए ।

कार्यक्रममा राजु क्षेत्री अपुरो, कल्याण पन्त, डा. मित्र पाठक, रुद्र ज्ञवाली, हरिप्रसाद भण्डारी, वनमाली निराकार, सिन्धु गौतम तथा विमोचित पुस्तककी स्रष्टा ममता मृदुलले लघुकथा वाचन गरे ।