कोरोनाबाट एकैदिन २१३ संक्रमित थपिए, एक सयले जिते कोरोना

Home Feature समाचार समाज

काठमाडौं । नेपालमा आइतबार एकै दिन १०२ जना कोरोना भाइरस संक्रमितले कोरोना जितेका छन् । योसँगै अहिलेसम्म ४६७ जनाले कोरोनालाई जितेका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले विभिन्न अस्पतालबाट १०२ जना डिस्चार्ज भएका जानकारी दिए । मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा देवकोटाले डिस्चार्जमध्ये दुई महिला र १०० पुरुष रहेको बताए ।

अहिलेसम्म डिस्चार्ज हुनेको सङ्ख्या ४६७ पुगेको छ । तीमध्ये पुरुष ३९९ र महिला ६८ जना रहेका छन् । उनीहरुमध्ये धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १२ जना छन् । ती सबै झापाका हुन् । त्यस्तै बाराका ३४ र महोत्तरीका एकजना छन् ।

बुटवल कोरोना अस्पतालबाट २७ जना डिस्चार्ज भएका छन् । उनीहरु रुपन्देही र कपिलवस्तुका हुन् । कोरोना विशेष अस्पताल दाङबाट बाँके बर्दिया र कपिलवस्तु र दाङका १० जना डिस्चार्ज भएका छन् । रौतहट गौरबाट सबै रौतहटका १८ जनाले कोभिड जितेर घर फर्किएका छन् ।

त्यस्तै देशका विभिन्न प्रयोगशालामा गरिएका परीक्षणबाट नयाँ सङ्क्रमितको सङ्ख्या २१३ रहेको छ । तीमध्ये २०९ पुरुष र चार महिला छन् । योसँगै देशभरको हालसम्म कूल सङ्क्रमित सङ्ख्या तीन हजार ४४८ पुगेको छ । यीमध्ये पुरुष तीन हजार २१२ र महिला २३६ रहेका छन् । हालसम्म देशका ७१ जिल्लामा कोभिड–१९ को सङ्क्रमण फैलिएको मन्त्रालयले जनाएको छ ।