कृषि विकासका नाममा दलाली

Home Feature अर्थ समाचार

काठमाडौं । खेती किसानीको कुरा गर्दा हरेक नेपालीको मन प्रफुल्ल हुन्छ । कताकता हृदयमा उमङ्ग छाउँछ । अहिले कृषि प्रधान देश भनेर नभनिए पनि कृषिमा आश्रित परिवारका मानिस नै आज पनि व्यापार व्यावसायमा जमेका छन् । अधिकाँशका परिवार खेती किसानीबाटै आजको अवस्थामा पुगेका हुन् । यसमा कसैको दुईमत रहन्न ।

तर आज नयाँ पुस्ताले बाउ बाजेले गरेको खेती किसानी बिर्सिएका छन् । कृषि पेसा खेती किसानी गर्ने किसानहरुकै लागि दिक्क लाग्दो भइदिएको छ । किनभने सारा नेपालीलाई खानपानको व्यवस्था गर्ने र विदेशमा लगेर बेच्न मिल्ने कतिपय कृषि उत्पादन गर्ने किसानलाई राज्यले कहिले पनि सकारात्मक दृष्टिकोणबाट हेरेन । चाहे त्यो जुनै सरकार होस्, कोइरालाको सरकार होस् वा देउवाको । माधवको सरकार होस् वा प्रचण्डको, बाबुरामको सरकार होस् वा ओलीको । जहिले पनि किसानको भागमा पीडा मात्रै पर्दै आएको छ । तिनलाई सक्दो सुविधा दिनुपर्नेमा खेती किसानीमा लाग्ने कृषकहरुलाई सहयोग गर्नुको साटो तिनलाई दोहन गर्ने व्यापारी र व्यावसायी तथा उद्योगका उद्योगीहरुलाई सेवा सुविधा दिँदै आएको छ ।

कृषिको विकासमा ध्यान पुर्याउने हो भने मुलुकको समृद्धिका लागि अरु केही गर्नु पर्दैन । त्यसका लागि धेरै ठूलाठूला नारा पनि दिइरहनु पर्दैन । जडिबुटीको उत्पादनको नारा बढी दिइन्छ तर त्यसको व्यवस्थित उत्पादन, प्रशोधन र निर्यातमा वास्ता गरिँदैन । जडीबुटी भारत वा चीन वा अन्य तेस्रो मुलुक जस्ले बढी माँग्छ, त्यो मुलुकमा पठाउने व्यवस्था अहिलेसम्म कुनै सरकारले गर्न सकेबो देखिँदैन ।

सधैँको गुनासो हो, इलामको पाँच ‘अ’ को उत्पादनको बजारको अभाव । इलामको अदुवा, अलैँची, अम्रिसोलगायत अर्थोडक्स चियाले अरबौं कमाउन सक्ने सरकार संचालन गर्ने सबै पार्टी र तिनका नेतालाई थाहा छ । तर त्यसको व्यापक बजार खोज्ने काम तिनीहरुबाट कहिले पनि भएको देखिएन । जति स्थानीय व्यापारीले बजार खोजेका छन् त्यसैमा ती महँगा कृषि उत्पादन बिक्री हुँदै आएका छन् ।

सरकारले चाहेको खण्डमा चीन र भारत मात्रै नभएर विदेशको बजार खोज्न सक्थ्यो । तर सधैँ भारतले लिएन भारतले अवरोध गर्यो, भारतले यस्तो गर्यो मात्रै भनिन्छ । भारतले लिएन भने त्यसको विकल्प पहिलेदेखि खोजिएको भए आज डरलाग्दो गरि व्यापार घाटाको अवस्था नै आउने थिएन । तर सरोकारवाला निकाय नै चाहँदैन कृषि उत्पादनको विश्वमा बजार बढोस् । यदि सोच्थ्यो भने विदेशमा नेपाली कृषि उत्पादनले व्यापकता नपाउने कुरै हुन्थेन ।

यस पटक धेरै विदेशिएका नेपाली घर फर्किए । तुलनात्मकरुपमा धान खेती पनि निक्कै क्षेत्रफल जमिनमा भएको तथ्याङक सार्वजनिक गर्ने काम सरकारको सरोकारवाला मन्त्रालयले डम्फु बजाएर गर्यो । तर धान खेती गरिएको त्यो जमिनमा विभिन्न मलहरुको आवश्यकता पर्छ भन्ने सरकारले बिर्सियो । सरकारका यस्ता निकायमा त विज्ञ व्यक्तिहरु पनि जागिर खाइरहेका होलान् ।

धानको बिउँ तयार गर्दा नै धान रोपे पछि खेतमा मल चाहिन्छ भन्ने तिनलाई पक्कै थाहा थियो होला । थाहा हुँदाहुँदै पनि कृषि विकास मन्त्रालयले त्यसको व्यवस्था गर्नु पथ्र्यो होला । तर किन गरेन ? यो प्रश्नको जवाफ सायद कसैले दिँदैनन् । किनभने तिनलाई प्रश्नको जवाफ दिनु भन्दा पनि समय घर्किए पछि आवश्यक सामान झिकाएर त्यसमा चरम कमिशन खाने बानी परेको छ । र जुनै सरकार आए पनि कमिसनको जालोले तिनलाई जेलेको नै हुन्छ । यसरी त कृषिको नाउँमा सधै दलाली मात्रै हुँदै आएको देखिन्छ । जसले किसानलाई पीडा दिनु बाहेक अरु केही दिन सकेको छैन ।

के यसरी नै हुन्छ कृषिको विकास र मुलुकको समृद्धि ? यसले त व्यापारी, बिचौलिया र कर्मचारीलाई मात्रै फाइदा पुग्छ । अनि सरकारमा जिम्मेवारी लिएर बस्ने नेताले त्यसबाट पनि थोरबहुत मह त चाट्छन् होला नै ।

माथि उल्लेखित प्रसंग त प्रतिनिधि प्रसंग मात्रै हुन् । नेपालभरिमा धेरै यस्ता उत्पादन छन्, जसको आर्थिक महत्व धेरै छ । ति महत्वलाई ध्यानमा राख्ने हो र कृषि विकास र कृषि उत्पादनको निर्यातमा ध्यान दिने हो भने कृषिले नै मुलुकलाई समृद्धि तिर डोहोर्याउने निश्चित छ । कृषिमन्त्री घनश्याम भुसालबाट धेरैले यो काम हुन्छ भन्ने आशा गरेका थिए । तर लाग्छ, उनी पनि त्यो जालोमा फँसे ! जहाँबाट सायद उम्किन गाह्रो छ ।