चुनाव चिन्हका लागि २४ दल आन्दोलित

समाचार

काठमाडौं । राष्ट्रिय मान्यता प्राप्त नगरेका राजनीतिक दलहरूलाई स्थानीय निर्वाचनमा पार्टीको चुनाव चिन्ह नदिने कानुनी व्यवस्थाका विरुद्ध संघर्ष गर्न २४ वटा दलहरूले संघर्ष समिति गठन गरेका छन् । विवेकशील साझा पार्टीको केन्द्रीय कार्यालयमा बसेको उक्त बैठकले निर्वाचन आयोगमा दर्ता भएर सम्पूर्ण विधि प्रक्रिया पूरा गरेका दलहरूलाई स्थानीय निर्वाचनमा पार्टीको चुनाव चिन्ह प्रयोग नदिने कानुनी व्यवस्था अन्यायपूर्ण भएको ठहर गरेको छ ।
उक्त बैठकले सबै दलहरूले समानरूपमा आफ्नो दलको चुनाव चिन्ह स्थानीय निर्वाचनमा प्रयोग गर्न पाउनुपर्ने विषयमा गरेका यसअघि भएका सामूहिक
संघर्ष तथा पहलकदमीहरूको समेत अपनत्व लिँदै चुनाव चिन्ह संघर्ष समिति गठन गरि तुरुन्तै दबाबमूलक कार्यक्रमहरू आयोजना गर्ने निर्णय गरेको छ । साथै राष्ट्रिय मान्यता प्राप्त नगरेका आजको बैठकमा अनुपस्थित अन्य दलहरूलाई पनि चुनाव चिन्ह संघर्ष समितिमा सहभागी हुन आह्वान गरेको छ ।
बैठकमा निम्न दलहरूको सहभागिता तथा समर्थन थियो ः आमूल परिवर्तन मसिहा पार्टी, एकीकृत शक्ति नेपाल, जनजागरण पार्टी नेपाल, जनता समाजवादी पार्टी नेपाल, नेकपा (समाजवादी), नेपाल आमा पार्टी, नेपाल दलित पार्टी, नेपाल परिवार दल, नेपाल विवेकशील पार्टी, नेपाल संघीय समाजवादी पार्टी, नेपाल समाजवादी पार्टी, नेपाल समाजवादी पार्टी (लोहियावादी), नेपाल सुशासन पार्टी, नेपाली काँग्रेस (वी. पी.), नेपाली जनता दल, बहुजन समाज पार्टी नेपाल, मौलिक जरोकिलो पार्टी, राष्ट्रिय जनमुखी पार्टी लोकतान्त्रिक, राष्ट्रिय प्रजातन्त्र पार्टी, विवेकशील साझा पार्टी, समाजवादी पार्टी नेपाल, सर्वदलीय संघीय परिषद्, सामाजिक लोकतान्त्रिक पार्टी र सामाजिक लोकतान्त्रिक पार्टी ।