दिल्लीमा देउवाले मर्यादा बिर्सेपछि..

Home Feature समाचार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले फेरि एक पटक ओहदा बिर्सेका छन् । उनले भारतको औपचारिक भ्रमणका क्रममा आफू नेपालको प्रधानमन्त्री भएकोसमेत हेक्का नराखी सिधै भारतीय जनता पार्टी भाजपाको कार्यालयमा गएर आफ्नो मर्यादा बिर्सेका हुन् । उनी छ वर्षदेखि चिसिएको नेपाल(भारत सम्बन्ध सुधार गर्ने नाममा सत्तारुढ भाजपाको कार्यालयमा पुगेका हुन् । तीन दिने भारतको भ्रमणका क्रममा पहिलो दिन शुक्रबार नयाँदिल्लीमा उत्रनासाथ उनी भाजपाको कार्यालयमा गए । पहिले नेपालको प्रधानमन्त्री भन्नासाथ भाजपाका नेताहरु भेट्नका लागि समय लिने गर्दथे । अहिले प्रधानमन्त्री नै सिधै भाजपाको कार्यालयमा गएर आफ्नो ओहदाको हेक्का राखेनन् ।
भारत भ्रमणमा गएका नेपालका प्रधानमन्त्री प्रतिनिधिमण्डलसहित पार्टी कार्यालयमै पुगेको यो पहिलो पटक हो । अध्यक्ष जेपी नयाको निमन्त्रणामा भाजपा कार्यालय पुगेका देउवाले कांग्रेस–भाजपा सम्बन्धलाई बढावा दिन चाहेको स्पष्ट सन्देश दिएका छन् । यसअघि देउवाले प्रधानमन्त्रीका रूपमा पाँचौं पटक शपथ लिएको महिना दिन बित्दै गर्दा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका ‘विशेष दूत’का रूपमा पाँचदिने भ्रमणका लागि काठमाडौं पुगेका भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवाले पनि सिधै
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए ।
व्यक्तिगत र पार्टीस्तरमा सम्बन्ध विस्तार गर्न आएका चौथाइवालेको भ्रमणका दौरान दुई पार्टीको संस्थागत सम्बन्धलाई अघि बढाउन देउवा–पत्नी आरजू राणा देउवाले हिन्दू संस्कृतिको सदुपयोग गर्दै गत भदौ ६ गते बालुवाटारमै रक्षाबन्धन बाँधिदिएकी थिइन् । त्यतिबेला राखी कूटनीतिमा सफल भएकी राणा अहिले देउवा भारत जाँदा पनि सँगसँगै भइन् । अब कुन किसिमको रणनीति यसपालि देउवाले अपनाएका हुन् त भन्ने खुलेको छैन । तर जे भए पनि प्रायः देशमा जम्बो रेकर्ड तोड्न माहिर देउवाले यसपालि मात्रै ५० जनाको नेतृत्व गर्दै भारत गएको भए पनि कुनै पार्टीको कार्यालयमा गएर रेकर्ड भने तोडेका छन् ।
देउवा भाजपाको मुख्यालयमा जानुलाई भारतका लागि नेपालका पूर्वराजदूत नीलाम्बर आचार्य प्रोटोकल भन्दा बाहिरको विषय भनी टिप्पणी गर्छन् । उनले देउवाले प्रोटोकल मिचेको स्पष्ट पारेका छन् । भारतका लागि नेपालका पूर्वराजदूत तथा नेपाली कांग्रेसका नेता दीपकुमार उपाध्याय पनि अचम्ममा छन् । उनका अनुसार यसअघिसम्म नेपालबाट प्रधानमन्त्रीहरु भारत जाँदा भेट्न चाहने भारतीय पार्टीका नेताहरू उनी बसेकै स्थानमा आउँथे । राजदूतहरुले भेटघाटको प्रबन्ध मिलाउँथे । अहिले त देउवा सिधै पार्टी कार्यालयमा पुगे । उनले यसलाई गहिरिएर विश्लेषण गर्नुपर्ने बताउँछन् । कुनै पार्टीको सभापति कार्यालयमा जानु स्वभाविकै हो । तर यहाँ त प्रधानमन्त्री गएको छ । फेरि पार्टी सभापतिको हैसियतले नै गएको भए पनि पोर्टफोलियो सभापतिको हैन प्रधानमन्त्रीको बोकेको हुन्छ । तसर्थ यति तल झरेर गएर देउवाले आफ्नो सत्तालाई थप टिकाउने रणनीति बनाउन खोजेका त हैनन् ? भन्ने टिप्पणी भइरहेको छ ।
नेपालको परराष्ट्र मन्त्रालय र भारतको विदेश मन्त्रालयले जारी गरेको देउवाको औपचारिक भ्रमणमा भाजपाको कार्यालय जानेबारे उल्लेख थिएन । फेरि देउवा कसरी पुगे कार्यालयमा भन्ने बारेमासमेत थप चाँसो बढेको छ । सत्तारुढ दलको कार्यालयमा पुग्ने देउवा विपक्ष दलका नेताहरुलाई भेट्ने कार्यक्रम तय नहुनु आफैमा आलोचनाको विषय हो । किनकि कुनै पनि देशको प्रतिनिधित्व गर्दै गएपछि उसले कसैलाई काखा र कसैलाई पाखा गर्न मिल्दैन । तर आफ्नो सत्तालाई अझ दरिलो बनाउने एक घृणित सोचका कारण देउवाले अरु कसैलाई वास्ता नगरी केबल भाजपासँगमात्र सम्बन्ध बनाउन खोजेको छ ।