पाँचदलीय गठबन्धन एमाले र लोकतन्त्रको विरुद्धमा छ

अन्तर्वार्ता

कर्णबहादुर थापा – नेता, नेकपा एमाले


सरकारको नेतृत्व गरेको दल नेपाली कांग्रेसले ‘आवश्यकताका आधार’ मा स्थानीय तह निर्वाचनमा गठबन्धन गर्न सक्ने निर्णय गरेपछि स्थानीय तह निर्वाचनमा एमाले विरुद्ध पाँच दलीय गठबन्धन हुने पक्का भएको छ । पार्टी नेताहरुको चर्को विरोधकाबीच प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले आवश्यकताका आधारमा स्थानीय तह निर्वाचनमा गठबन्धन गर्न सक्ने निर्णय गराएपछि अब एमाले विरुद्ध पाँच दलीय गठबन्धन बन्ने पक्का भएको हो । एमालेलाई साइजमा राख्न भन्दै पाँच दलीय गठबन्धन गर्ने निर्णयसँगै चुनावी सरगर्मी बढेको छ । तर एमालेले भने यो गठबन्धन एमाले विरुद्ध मात्रै भएर लोकतन्त्रको पनि विरुद्ध भएको जनाएको छ । आफू एक्लै चुनाव लड्न नसक्ने भएपछि एमाले विरुद्ध पाँच दलीय गठबन्धन बनेको बताउने एमाले आफू गठबन्धनको पक्षमा नरहेको बताएको छ । पाँच दलीय गठबन्धन चुनावी तालमेललगायतका विषयमा एमाले नेता कर्ण थापासँग गरिएको कुराकानीको सम्पादित अंश ः
एमाले विरुद्ध त महागठबन्धन बन्ने भयो, अब चुनावमा एमाले पराजित हुनेभयो होइन ?
माथि माथि पार्टी नामका टाउका मिलेर हाम्रा विरुद्ध गठबन्धन गर्छन्, हामी त्यसको स्वागत गर्छौं । हाम्रो नेपाली जनतासँग गठबन्धन छ, हामी नेपाली जनताको साथ, सहयोग र समर्थनमा नेकपा एमालेले यो गठबन्धनलाई पराजित गर्छ । र, नेकपा एमालेको विजय यात्रालाई हामी सुनिश्चित गरेर अगाडि बढ्दै छौं ।
पाँच दलीय गठबन्धनसँग तपाईंहरु कसरी प्रतिश्पर्धा गर्न सक्नुहुनछ ?
जनताबाट उखेल्लिएका, जनतामा कुनै आधार नभएका दलबीच भएको गठबन्धनको के कुरा गर्ने ? आफ्ना नीति, विचार, सिद्धान्त र कुनै उद्देश्य नभएका दलहरुबीचको गठबन्धनदेखि हामी किन डराउने ? आफ्नै जगमा कुनै उद्देश्य प्राप्त गर्न सकिँदैन भन्ने निष्कर्षमा पुगेका पार्टीहरुलाई जनताले किन र के लागि भोट हाल्ने ?
गत निर्वाचनमा बाम गठबन्धनलाई बहुमत दिँदासमेत एमालेले सरकार सञ्चालन गर्न नसकेको हुनाले अब नयाँ गठबन्धनलाई मत दिने भनेर जनताले निर्णय गरे भने के हुन्छ ?
अनि पाँच दलीय गठबन्धनले कुन जनादेश प्राप्त गरेका छन् र ? जनतालाई धोका दिने र गद्दारी गर्ने त यिनीहरु हुन् । यदि कांग्रेसले कांग्रेसलाई कांग्रेस जस्तो बनाउने हो भने उनले नेकपा एमासँग नीति, विचारमा, ध्येय, उद्देश्य र लक्ष्यमा प्रतिश्पर्धा गरोस न । प्रतिश्पर्धा र एमाले र कांग्रेसबीच नै हुन्छ भन्ने कुरा सारा नेपाली जनतालाई थाहा छ नि । अनि गठबन्धन किन गर्दैछ त ? हामीले शेरबहादुर देउवाले भनेको सन्यौं नि–कांग्रेसले गठबन्धन नगर्ने हो भने एमालेले स्थानीय तह निर्वाचनमा दुई तिहाइ मत ल्याउँछ ।’ अनि उहाँलाई अरुले जित्छ भनेर उद्देश्य नमिल्ने, विचार नमिल्ने, सिद्धान्त नमिल्ने, कुनै काम कुरा र व्यवहार नमिल्ने दलसँग गठबन्धन गरेर जाँदै हुनुहुन्छ भने उहाँको भावनामा कुनै सफा नियत छ ? स्वच्छ लोकतान्त्रिक परिपाठी र लोकतन्त्रको रक्षा यस्तै किसिमको गलत उद्देश्यका लागि गर्ने चीजले प्राप्त हुन सक्छ त ?
यसअघिका चुनावमा पनि एक्ला एक्लै लड्दा एमाले नराम्रोसँग पराजित भएको कुरा भुल्नु भयो ?
एक्ला एक्लै चुनावमा जाँदा एमालेको सर्वनाक हार कहिल्यै पनि भएन । ०५४ सालको पार्टी विभाजन हुँदासमेत हामी एक्लै चुनावमा लगेका थियौं । त्यत्रो ठूलो विभाजन हुँदा पनि जनताले एमालेलाई सम्मानजन मत दिएर सशक्त प्रतिपक्ष दल एमाले बनेको हो । हामी हाम्रा नीतिमा र उद्देश्यमा चुनाव लडेका छौं । जनताले लगातार हामीलाई साथ र समर्थन दिएका छन् । २०७४ सालको चुनावमा त्यो बाम गठबन्धन सबैका लागि स्वीकार्य विषय थियो र एक प्रकारले त्यसलाई स्वभाविक मानिएको थियो । कांग्रेस, माओवादी, माधव नेपालको पार्टीको कुनै उद्देश्य र नीति मिल्छ ? अहिले त कांग्रेसले भनिसक्यो यी अरु पार्टी हाम्रा लागि बोझ भइसके । तर यिनीहरुले जसरी पनि हाम्रो संरक्षण गरिदिनुप¥यो, हामी एक्लैले चल्न सक्दैनौं भनेर हार गुहार गरेर कांग्रेससँग यिनीहरु टाँसिएका छन् । अनि कांग्रेसको एउटा ठूलो पंक्ति कांग्रेसको मूल्य, मान्यता, विचार सिद्धान्तको जगमा पार्टी जत्रो बन्ला, जनताले हामीलाई जति समर्थन गर्लान्, हामी एक्लै चुनावमा जानुपर्छ भन्ने ठूलो जनतमत कांग्रेसभित्र छ । अब अहिले त कांग्रेस भनेको त न कुखुरको चाल, न चीलको ताल जस्तो भयो । यो के का लागि भन्दा नेकपा एमालेको विजयलाई रोक्न सकिन्छ कि भन्ने उहाँहरुको षड्यन्त्र हो । यो षड्यन्त्रको भण्डाफोर जनताको बीचमा हामी गर्छौं र यो कुरा जनताले बुझेका छन् । त्यस कारण हामी नीति र उद्देश्यका साथ हामी चुनाव लड्छौं, जनता हाम्रो साथमा छन् । अहिलेको गठबन्धनले ठूलै परिणाम ल्याइहाल्छ कि भन्ने कुरामा हामीलाई विश्वास लागेको छैन ।
चुनावी अंकगणीत बदलेर स्थानीय तहमा दुई तिहाइ बहुमत ल्याउने कांग्रेसको रणनीति भएको सार्वजनिक भएको छ नि !
चुनावी अंक गणित केही पनि बदलिँदैन । नेपालमा धेरै राजनीतिक दलको आवश्यकता छैन । पार्टी धेरै जनताले चाहेका छैनन् । जनताले चाहेको परिवर्तन हो । जनताले चाहेको आफ्नो जीवनको खुशीयाली हो । एउटा राष्ट्रभक्तिको भावनाका साथ आत्मनिर्भर नेपाल बनाउने चाहना नेपाली जनताको हो । त्यसकारण जनताको चाहनासँग नेकपा एमालेको लक्ष्य र उद्देश्यहरु मिलेका छन् । यहाँ धेरै पार्टीको आवश्यकता छैन । एउटा फरक पार्टी भनेको नेपाल कांग्रेस हो, उ यथास्थितिको पक्षमा छ । यो देशमा धनी पुँजीपति र जमिन्दार वर्गको रक्षाका लागि एउटा पार्टी कांग्रेस हो । अर्को श्रमजीवि वर्गको प्रतिनिधित्व गर्ने पार्टी एमाले, यी दुई पार्टीकाबीच प्रतिश्पर्धा हुन्छ । अरु बीचमा भएका जति पनि पार्टी छन् उनीहरुको केही पनि आवश्यकता छैन । त्यसकारण कांग्रेसले गठबन्धन होइन, यसले स्वच्छ लोकतान्त्रिक परिपाटी अनुसार अगाडि बढ्नुपर्छ । यो हाम्रो आह्वान हो कांग्रेसलाई । किनभने देश बिगार्ने हो भने जे पनि गरे भयो । यदि होइन भने यस्तो किसिमको षड्यन्त्रकारी गठबन्धनको आवश्यकता छैन । यो गठबन्धन लोकतन्त्रका विरुद्ध र नेपाली जनताको विरुद्धमा भइरहेको छ ।
अब नेपाली कांग्रेसको निर्णयपछि बामगठबन्धन नबन्ने भएको छ । तपाईंहरुले पनि राप्रपालगायतका दलसँग गठबन्धन गर्ने गरी छलफल चलाउनु भएको थियो, त्यो कहाँ पुग्यो ?
हामी कुनै पनि गठबन्धनको पक्षमा छैनौं । स्थानीय तहको निर्वाचनमा स्थानीय तहको आवश्यकताले जे विषयलाई चित्रिछ गर्छ, त्यस अनुसार गर्ने भनेर निर्णय भएको छ । अर्को कुरा स्थानीय तह निर्वाचन एमाले एक्लै लड्न चाहन्छ । हामीसँग आउनु चाहने, जो हामीसँग मिल्न चाहन्छन् स्थानीय तहको आवश्यकताको आधारमा त्यसमा हामीले स्थानीय कमिटीहरुलाई नै अधिकार दिएका छौं । मुल कुरा गठबन्धन हाम्रो रोजाइको विषय होइन । यो अस्वस्थ प्रकारको जुन राजनीतिक छ, त्यसलाई हामी अन्त्य गर्न चाहन्छौं । यो अनावश्यक रुपमा पद प्राप्त गर्नका लागि विचार, उद्देश्य, लक्ष्य र ध्येय केही पनि नमिल्ने प्रकारको गठबन्धनले अस्वस्थ खालको परिस्थिति निर्माण गर्छ । हामी स्वच्छ प्रतिश्पर्धात्मक लोकतान्त्रिक प्रणालीलाई स्थापित गर्न चाहन्छौं ।
त्यसो भए एमाले कुनै पनि स्थानीय तहका कुनै पनि राजनीतिक दलसँग तालमेल नगर्ने निर्णयमा पुगेको हो त ?
नेकपा एमालेको एउटा लक्ष्य छ, उद्देश्य छ । सुखी नेपाली, समृद्ध नेपालको हामीले लक्ष्य बनाएका छौं । त्यो लक्ष्यमा हामी अगाडि बढ्न चाहन्छौं । त्यस्तो अवस्थामा गलत प्रकारले पद प्राप्तिका लागि सम्झौता गर्नु भयो भने त्यो उद्देश्य प्राप्त हुँदैन । हामी एउटा उद्देश्य लिएर हिँडेका छौं, हामी त्यो कुरा जनतालाई बताउँछौं । गठबन्धन होइन, कहिले काँही राजनीतिका तल्लो तहमा मिलेर एक अर्कालाई सहयोग गर्न र लिन सक्ने कुरा हुन्छ । नेकपा एमाले गठबन्धनको पक्षमा छैन । एमाले सहमति र सहकार्यको पक्षमा छ, त्यो हुन सक्छ, त्यो आवश्यकताले निर्धारण गर्ने विषय हो । गठबन्धन भन्नाले अहिले जुन नेकपा एमालेको विरुद्धमा वा नेपालको लोकतन्त्रको विरुद्धमा अरुलाई हराउनका निम्ति आफू एक्लै जित्न नसक्नेहरुले जित्नेलाई रोक्न खोज्दैछन् त्यो गलत हो भन्ने हाम्रो निष्कर्ष हो र हामी गठबन्धनको पक्षमा छैनौं ।