पश्चिममा पनि पूर्वराजाको अभिनन्दन

Home Feature

काठमाडौं । नागरिकले जसलाई विश्वास गर्छन् उसैलाई अभिनन्दन गर्छन् । नागरिकले जसलाई अभिभावक ठान्छन् उसैलाई नै सम्मान गर्छन् । दलहरुले लोकतन्त्रको धज्जी उडाइरहँदा अब जनताका लागि विश्वास गर्ने आधार केबल राजसंस्था नै भएको अनभूति हुन थालेको छ । त्यसको संकेत अहिले भइराखेको हो । हो, देशको राजनीति अस्तव्यस्त भइरहँदा पूर्वराजा ज्ञानेन्द्र शाहबाट देश भ्रमणसँगै नागरिकका पीरमर्का बुझ्ने क्रम चलिरहेको छ । पूर्वराजा सोही क्रममा पश्चिम भ्रमणमा निस्कने साइत जुरेको छ । आगामी शुक्रबार पूर्वराजा शाह पूर्वरानी कोमल शाहसँगै पश्चिम यात्रा थाल्ने कार्यक्रम तय भएको हो ।
पूर्वराजा राजपरिवारका अन्य सदस्यसहित पश्चिमाञ्चलसँगै कर्णाली र सुदूरपश्चिम प्रदेशमा जान लागेको पूर्वराजाको संवाद सचिवालयले जनाएको छ । भ्रमण देशवासी र देशको वस्तुस्थितिमा केन्द्रित रहनेसमेत संवाद सचिवालयले बताएको छ । पूर्वराजा पूर्वरानी कोमल शाहसहित यही बैशाख १५ गते नेपालगञ्ज जाने कार्यक्रम रहेको छ । पूर्वराजाको पश्चिम भ्रमणका क्रममा दुई स्थानमा नागरिक अभिनन्दनसमेत हुने भएको छ । १५ गते नेपालगञ्जमा बस्ने कार्यक्रम छ । १७ गते जुम्लामा नागरिक अभिनन्दन हुने भएको छ । १८ गते बागेश्वरी मन्दिरमा आरती गर्ने कार्यक्रम रहेको छ । त्यस्तै २० गते नेपालगञ्जमा नागरिक अभिनन्दन हुने भएको छ । पूर्वराजासँगै पूर्वराजपरिवारका अन्य सदस्यहरुसमेत सहभागी हुने सम्भावना रहेको निर्मल निवास स्रोतले बताएको छ । पूर्वराजाको गत महिना सुनसरीको इनरुवामा नागरिक अभिनन्दन भएको थियो । चैत २० गते भएको नागरिक अभिनन्दनमा हजारौंको सहभागीता रहेको थियो । उक्त अभिनन्दनलाई पूर्वराजाको नागरिकसँग नागरिकको भावना बुझ्ने पहिलो कडीको रुपमा लिइएको थियो । त्यहाँ
पुगेकाहरुले पूर्वराजालाई देशभरमै देख्न चाहेको सन्देश दिएका थिए । यो महिना पश्चिम यात्रा भइरहँदा आगामी दिनमा बाँकी क्षेत्रमा पनि कार्यक्रम हुने बुझिएको छ ।
पूर्वराजाको निरन्तर हुँदै गइरहेको यो नागरिक अभिनन्दनका कारण केन्द्रमा गणतन्त्रका पक्षहरुको सातो गएको छ । पछिल्लो समय गणतन्त्रधारी दलहरुप्रति नागरिक अभिरुची घट्दै गइरहँदा पूर्वराजाको गर्न लागिएको नागरिक अभिनन्दनका कारण शीर्ष नेताहरु झस्किएका छन् । बिना जग देशको ढुकुटी रित्याउन सक्रिय भएको आरोप शीर्ष नेताहरुलाई लाग्दै आएको छ । उनीहरु देश बनाउन भन्दा पनि शक्ति आर्जन गर्न हानथाप गरिरहेको आरोप छ । पूर्वराजाबाट दलहरुलाई विभिन्न सन्देश दिँदै देश नबनाए दुर्घटना बेहोर्नुपर्ने भनी सचेत गराइरहँदा बेवास्ता गर्दै आइरहेका छन् । तर पछिल्लो समय राजावादीहरु सक्रिय हुँदै जाँदा उनीहरुमाथि डर मडारिइरहेको छ ।
संसदमा राप्रपाले खरो भएर राजसंस्थाको वकालत गर्ने र विभिन्न राजावादी संस्थाहरु जाग्नुका साथै नागरिक तहमा पनि ‘राजा आऊ देश बचाउ’ को नारा लागिरहँदा यसको असर देश लुट्न पल्केका नेताहरुलाई परिरहेको छ । नागरिक तहमा राजाले राख्न दिएको श्रीपेज खोज्ने बेला आएको भन्दै नेताहरुलाई सचेत गराइरहेको अवस्था छ । २०६५ सालमा नारायणहिटी राजदरबारबाट बाहिरिँदासमेत पूर्वराजाले श्रीपेश सुरक्षित राख्नू भनी सरकारलाई भनिएबाट पनि त्यसको आवश्यकता अब जुनसुकै बेला पर्नेतर्फ पनि संकेतहरु देखिन थालेका पाइन्छन् । यसको छनक नेताहरुले पनि पाइसकेका छन् ।
आफूहरुले गरेको गल्तीको प्रायश्चित्त गर्नुको सट्टा नेताहरुबीच आफूहरुमा बाझाबाझ बढी भइरहेको छ । यसको असर भनेको गणतन्त्रलाई नै पर्ने हो । नेता त अवसरवादी हुन्छ जुनसुकै बेला देशलाई विपद् परे अर्को देशमा पनि भासिन सक्छ । तर राजा त आफ्नो देश छाडेर जाँदै जाँदैन । जनताको बीचमै रहन्छ । यसकारण पनि पूर्वराजाको नागरिक अभिनन्दन अर्थपूर्ण छ । अहिले हुन लागेको नागरिक अभिनन्दनका लागि संसदमा राजतन्त्र फर्किनु पर्ने जोड गरिरहेको राप्रपाका खरा सांसदद्धय धवलशमशेर जबरा र ज्ञानबहादुर शाहीले भूमिका खेलेका छन् ।