एमाले नेतृत्वमा ओलीको विकल्प खोज्न थालियो

Home Feature

विद्यालाई अघि सार्दै चीन !


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गम्भीर राजनीतिमा नरहेपछि एमालेभित्रै ओलीको विकल्प खोज्न थालिएको छ । त्यसका लागि उत्तम विकल्प पूर्व उपाध्यक्ष एवं दुई कार्यकाल राष्ट्रपति खाएकी विद्यादेवी भण्डारी हुन सक्ने भन्दै उनलाई अगाडि ल्याउन खोजिएको छ । त्यतिमात्र हैन ओलीले चीनकोसमेत विश्वास जित्न नसकेपछि चीनले ओलीलाई भन्दा विद्यालाई साथ दिन खोजिरहेको छ । त्यसैले त चीनले विद्यालाई खोजिरहेको छ । विद्याले असारमा चीनको औपचारिक भ्रमण गर्ने भएकी छिन् । एमाले एक नेता भन्छन्, ‘उहाँको भ्रमण यही महिना भन्ने थियो, आन्तरिक कारणले अर्को महिना हुने भएको छ ।’
एमालेभित्र केपी शर्मा ओलीको स्थानमा भण्डारी ल्याउने कसरत गरिरहेका केही एमाले नेताहरुले यो भ्रमणलाई अर्थपूर्ण राजनीति रहेको बताएका छन् । एमालेभित्र शेरधन राई, गोकुलप्रसाद बास्कोटा, कर्ण थापा लगायतका मध्यमस्तरका नेताहरुले भण्डारीलाई सक्रिय राजनीतिमा ल्याउन खोजिरहेका छन् । ‘सरकारकै निमन्त्रणमा भ्रमण हुन लागको यसमा महामहिमको कुनै जोडबल होइन, उच्च तहको भ्रमण हुनेछ’, पूर्व राष्ट्रपति भण्डारी निकट स्रोतले भन्यो ।
२०७७ बैशाखमा कोरोना भाइरस (कोभिड(१९) को महामारीलाई लिएर दुई राष्ट्रपतिबीच कुराकानी भएको थियो । टेलिफोन संवादमा चिनियाँ राष्ट्रपति सीले अरु बेलाभन्दा अन्तर्राष्ट्रिय समुदायबीच ऐक्यबद्धता र सहकार्य चाहिने बताएका थिए । त्यसयता नै पूर्व राष्ट्रपति भण्डारीले चीनलाई पहिलो प्राथमिकतामा राखेकी थिइन् । चीन भ्रमणलाई लिएर एमाले पंक्तिभित्र एमाले र चीनको सम्बन्धलाई सुमधुर बन्ने अपेक्षा पनि गरिएको छ । कोरोना संक्रमणकै समयमा एमाले र चिनियाँ कम्युनिष्ट पार्टी बीचको सम्बन्धमा हलुका दरार आएको थियो । नेपालका कम्युनिष्टहरुलाई एकै ठाउँ रहन चीनले दबाब दिँदै आएको बेला भण्डारीको नेतृत्वमा एमाले, माओवादी र नेकपा एसलाई एकै ठाउँमा ल्याउन सकिने चीनको बुझाइ रहेको एक थरी एमालेको धारणा छ ।
राजनीतिमा आउने चर्चाबीच गत जेठ १६ गते प्रज्ञा भवनमा भएको एक कार्यक्रममा भण्डारीले गरेको सम्बोधनबाट एमाले पंक्तिका केही व्यक्तिलाई उत्साही भएका छन् । साथै अहिले हुने चीन भ्रमणलाई पनि उनीहरुले राजनीतिक रुपमा हेर्न थालेका छन् । २०७२ सालमा
राष्ट्रपति हुनुअघि एमालेको उपाध्यक्ष रहेकी भण्डारी त्यसपछि पार्टीसँगको औपचारिक सम्बन्धमा छैनिन् ।
एमालेले आयोजना गरेको ‘राष्ट्रिय महिला भेला’को उद्घाटन अध्यक्ष ओलीको उपस्थितिमा भण्डारीले गरेकी थिइन् । अध्यक्ष नै उपस्थित भएको कार्यक्रममा पार्टीको कुनै औपचारिक पदमा नरहेकी भण्डारीले गरेको भेला उद्घाटनलाई राजनीतिक पुनरागमनको रुपमा हेरिएको छ । तर ओली भने भण्डारी र अष्टलक्ष्मी शाक्यको बीचमा बसेका थिए । ओलीले भण्डारीलाई भन्दा शाक्यलाई अगाडि बढाउन खोजेको जस्तो देखिन्छ । ओलीले यसअघि भण्डारीलाई अगाडि ल्याएर राजनीति गरेको भए पनि ओली निकटका केही नेताहरुका अनुसार ओली भण्डारीबाट आफूलाई असुरक्षित महसुस गर्छन् । चीनलेसमेत ओलीलाई मन नपराउनु, राष्ट्रिय राजनीतिमा पनि ओलीको बोली छुद्र हुँदै जानु र अर्को छिमेकी भारत पनि ओलीसँग सन्तुष्ट हुन नसकिरहेका बेलामा अबको एमालेलाई जोगाउने विकल्प विद्यामै रहेको भन्दै उनलाई नै अगाडि बढाउन खोजेको देखिन्छ । ओलीपछिको एमाले सम्हाल्ने नेता नै नभएको बेलामा विद्या अगाडि आउनु सकारात्मक भएकोसमेत बताइएको छ ।