राष्ट्रिय सरकारको नारा कांग्रेस–एमालेको आत्मरति मात्रै

Home Feature

आलोपालो देश लुट्ने प्रपञ्च


काठमाडौँ । अहिले अप्रत्याशित राजनीतिक समीकरण देखिएको छ । संसदमा सबैभन्दा ठूला दुई राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमालेले सुटुक्क गरेको सहमति वा सम्झौताले ओलोपालो देश लुट्ने सहमति गरेको स्पष्टै छ । यी दुई दल एकअर्काका सबैभन्दा ठूला दुस्मन हुन् । तर यिनै दुस्मन जब देश लुट्ने बेला आउँछ तब एक हुन्छन् । खासमा स्वार्थ मिलेपछि एक हुन्छन् । अरुबेलामा सबैभन्दा ठूला दुस्मन हुन् । २०४६ सालदेखि यिनीहरुको स्वार्थ मिल्दै आएको छ । अरुबेला कार्यकर्ताहरुसमेत आपसमा लडाइँ गर्दै आए पनि जब केन्द्रमा स्वार्थ मिल्छ तब उनीहरु फ्याट्टै मिलिहाल्छन् । अहिले मिलेको स्वार्थ के हो अहिलेसम्म कुनै पत्तो छैन ।
यिनीहरुले अहिले गरेको सहमतिलाई न संविधानले चिन्छ र न सहमति भङ्ग भयो भने कानूनी उपचार नै खोज्न मिल्छ । तैपनि नेपालका राजनीतिक दलका नेताहरूले यस्ता खेस्रामा हस्ताक्षर गरेर आफ्नै उपहास गरिरहेका छन् । अहिले सामाजिक सञ्जाल, सञ्चार माध्यम, संसद् र सडकमा समेत नेपाली कांग्रेस र एमालेका नेताहरूबीच भएको कुनै सहमतिको चर्चा व्यापक भएको छ । नेपालको राज्य व्यवस्थाको सञ्चालन नै त्यही सहमतिअनुरूप हुने जसरी अथ्र्याउन खोजिएको छ । संसद्का दुईवटा ठूला दल कांग्रेस र एमाले मिलेर सरकार बनाएका छन् ।
अहिले भएको यत्ति हो । तिनका नेताले जति फुइँ लगाए पनि र सत्ता गुमाउनेहरूले जति तर्साए पनि हुने भनेको प्रधानमन्त्री तथा मन्त्रीहरूको अनुहारमात्र बदलिने हो । त्यही भयो । अहिले केपी ओली प्रधानमन्त्री भएका छन् । उनले विश्वासको मत पनि पाएका छन् । तर यिनीहरुबीच भएको भनिएको संविधान संशोधनको विषय के हो भन्ने बारेमा कसैलाई केही पनि थाहा छैन । त्यसो त संविधानको समीक्षा गर्ने बेला भएको छ । त्यसमा संशोधन गर्नुपर्ने केही बुँदा पनि पहिल्याइएला । तर यही सरकारले संविधान संशोधन गरिहाल्छ भन्ने ठान्नु मू्र्खतामात्र हो । यसैले कांग्रेस, एमालेको ’स्थिरता’को नाराजस्तै माओवादी केन्द्रको ‘प्रतिगमनको खतरा’ पनि कार्यकर्ता भुलाउने गफमात्र हो ।
संसद्को तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रलाई बाहिर राखेर राष्ट्रिय सरकार गठन हुन सक्तैन । सम्भवतः केही समय सरकारमा गइहाल्न माओवादी केन्द्र तयार पनि हुनेछैन । यसैले राष्ट्रिय सरकारको नारा फगत कांग्रेस र एमाले नेताहरूको आत्मरतिमात्रै हो ।
माओवादीमात्र हैन नेकपा एस र राष्ट्रिय स्वतन्त्र पार्टी पनि कठोर बनेर अगाडि बढ्ने निर्णयमा पुगेका छन् । कहिले कांग्रेस र कहिले एमालेलाई धोका दिँदादिँदै आफैँ नै सत्ताबाट बाहिरिन पुगेका माआवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले त समाजवादी मोर्चालाई ब्युँताएका छन् ।
दुवै दलको सुशासन पहिले नै देखिएको छ । बहिस्कृत हुनुपर्ने मानिसहरुले पार्टी चलाइरहेका छन् । विभिन्न मुद्दामा फसिने भय बढेसँगै कांग्रेस र एमाले मिलेका हुन् भन्नेमा शंका रहेन । यही अवस्थामा न त अब भुटानी शरणार्थी प्रकरण ब्युँतेला न त गिरीबन्धु जग्गा घोटाला प्रकरण । मिलिजुली देश लुट्ने बाहेक अरु कुनै चमत्कार हुने छाँट छैन । केबल आलोपालो देश लुट्नेमात्रै अभिष्ट भएको देखिन्छ ।