काठमाडौँ । सत्ताबाट बाहिरिएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आत्मसमीक्षा गर्न थालेका छन् । करिब नौ वर्षपछि संघदेखि प्रदेशसम्म प्रतिपक्षमा पुगका प्रचण्डले सरकारबाट बाहिर रहनुको कारणबारे आत्मसमीक्षा गर्न थालेका हुन् । प्रतिनिधि सभाका दुई ठूला दल कांग्रेस एमाले मिलेपछि सत्ताबाट बाहिरिएसँगै कांग्रेस र एमालेसँग आफ्नो सहकार्य नटिक्नुको कारण खोजी गरेका हुन् । उनले पहिलो पटक नेकपा एमालेसँगको सहकार्य कमजोर हुनुमा र पछिल्लो पटक नेपाली कांग्रेससँगको सहकार्य कमजोर हुनुमा आफ्नै पार्टीका नेताहरुको व्यवहार र कामभन्दा बढी प्रचार गर्नु तथा सहकार्यरत दलसँँग निँहु खोज्नु रहेको समीक्षा गरेका छन् । खुमलटारमा बसेर अहिले समीक्षा गरिरहेका छन् । आफू निकट रहेका नेताहरुसँग उनी यही विषयमा घन्टाँै छलफलमा रहेका छन् । सधै सत्तामा रहने प्रचण्डको पछिल्लो रणनीति कांग्रेस एमालेको सहकार्यबाट असफल भएको थियो ।
तेस्रो शक्तिको रूपमा स्थापित भएर कहिले कांग्रेस, कहिले एमालेलाई प्रयोग गरेर सत्तामा टिक्ने प्रचण्डको प्रयास १९ महिनापछि विफल भएपछि यसको समीक्षातर्फ लागेका छन् । खासगरी पार्टीभित्र रहेका ‘स्टण्डबाज’ का कारण कांग्रेससँगको सम्बन्ध बिग्रेको उनको मूल्यांकन रहेको छ । ‘नारायणकाजी श्रेष्ठले अनावश्यक रुपमा ‘स्टण्ड’ गर्न खोज्दा कांग्रेससँगको सम्बन्ध दीर्घकालीन रुपमा बिग्रेको महसुस गर्नुभएको छ, श्रेष्ठले यो विषयमा सञ्चारमाध्यमलाई पनि अनावश्यक रुपमा प्रयोग गरेको पार्टी अध्यक्षको बुझाइ छ’, खुमलटारमा प्रचण्डसँग आत्मसमीक्षामा सँगै रहेका एक पदाधिकारीले भने ।
पार्टीभित्र यसअघि अध्यक्ष प्रचण्ड र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ सत्ता केन्द्रित हुँदा सम्बन्ध बिग्रेको आरोप लागे पनि पछिल्लो पटक प्रचण्ड भने श्रेष्ठकै कारण सत्ताबाट बाहिर रहनु परेको निष्कर्षमा पुगेका हुन् । प्रचण्डले यसको संकेत गत बुधवार पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रममा बोल्दा पनि गरेका थिए । ‘यो गठबन्धन बढो अमूर्त ढङ्गले बनेको छ जनताले त्यसलाई बुझिरहेका छन् । विगतको इतिहास पनि छ । घटनाक्रम पनि छ । संविधान मिच्ने, समावेशी, समानुपातिक प्रतिनिधित्वको प्रणालीलाई उल्ट्याउने, सङ्घीयतालाई परिमार्जित गर्ने होइन त्यसलाई पनि पछि हटाउने खतरा छ, हाम्रो पार्टीभित्र खेल्न खोज्नेहरु पनि देखिए’, उनले भनेका थिए ।
पदाधिकारी स्थायी कमिटी र केन्द्रीय कमिटी, केन्द्रीय निकायहरू र विभिन्न जनसंगठन र वर्गीय संगठनहरूका भेला सम्मेलन गर्दै युनिफाइड रूपमा एकताबद्ध भएर जनतामा जानुपर्नेमा दृढ रहेको बताइरहँदा उता नारायणकाजी श्रेष्ठले प्रचण्डले नेतृत्व हस्तान्तरण गरेका आफू लिन तयार रहेको बताएर प्रचण्डलाई थप शंसकित बनाएका थिए । श्रेष्ठले यसो भनिरहेको विषयलाई प्रचण्डले निकै ध्यानपूर्वक सुनिरहेका थिए । अहिले अध्यक्षपछि शक्तिशाली मानिएको महासचिवमा वर्षमान पुन र जनार्दन शर्माबीच टकराब हुँदा गत महाधिवेशनमा देव गुरुङलाई ल्याएर सन्तुलन गरेका प्रचण्डले नारायाणकाजीको यो भनाईलाई ध्यानपूर्वक सुनेर केही जवाफ फर्काएका थिएनन् ।
पार्टीभित्रको नेतृत्वको विषयमा दबाब बढिरहेको बेलामा वरिष्ठ उपाध्यक्ष श्रेष्ठले पार्टीको नेतृत्व गर्ने जिम्मेवारी दिए तयार रहेको बताएर प्रचण्डलाई झस्काएका थिए । ‘अध्यक्ष कमरेडले ३५ वर्ष मैले पार्टीको अध्यक्षता गरेँ, मैले मात्रै कति जिम्मेवारी लिने भनेर हामीमध्ये
कोहीलाई तपाईँहरू अब चलाउनुस् भनेर कुनै दिन भनेको स्थितिमा हामी चलाउन तयार हुनुपर्छ’, उनले भनेका थिए । तर प्रचण्ड बाँचुन्जेलका अध्यक्ष हुन् भन्नेमा कुनै सन्देह छैन । उनले छोड्लान् र आउँला भन्ने एकलकाटे नारायणकाजीका पछाडि कति जना खडा होलान् ? भनेर कार्यकर्ताले विश्वास गर्ने ठाउँ नै छैन । किनकि प्रचण्ड छन् र माओवादी टिकिरहेको छ नत्र जनार्दन, वर्षमानहरुले टुक्रा टुक्रा बनाइसक्थे भन्नेहरु धेरै छन् । प्रचण्डको स्वार्थसँग टिक्न नसकेर मोहन वैद्य र बाबुरामहरु धेरै पहिले नै टाढिएका हुन् ।