सुर्खेत । यहाँका महिला पछिल्लो समय आत्मनिर्भर हुने बाटोमा छन् । सामान्य खर्चका लागि समेत परिवारका पुरुष सदस्यको कमाइमा भर पर्दै आएका महिलाले यतिबेला आफ्नो खर्चको जोहो आफैँले गर्न थालेका छन् । महिला रोजगारीमा व्यस्त भएर आत्मनिर्भर हुन थालेपछि आर्थिक अभावका कारण उनीहरूले भोग्ने पीडामा कमी आउन थालेको छ । ‘पहिला मेरो कुनै आम्दानी नै थिएन, घरखर्च चलाउन सधैँ श्रीमान्सँग पैसा माग्नुपर्ने बाध्यता थियो,’ वीरेन्द्रनगर–४ की भूमिसरा कुमालले भनिन्, ‘अहिले श्रीमान्सँग हात थाप्नुपरेको छैन । घरखर्च र छोराछोरी पढाउन पुग्ने कमाइ म आफैँ गर्न थालेकी छु ।’
कोपिला भ्याली समाजले वीरेन्द्रनगरमा सञ्चालनमा ल्याएको कोपिला भ्याली सिलाइकटाइ केन्द्रमा सीप सिकेर उनले काम थालेकी हुन् । सिलाइकटाइ तालिमले उनलाई पैसा आउने बाटो मात्रै देखाएन, परिवारमा हुने हिंसाबाट पनि जोगाइदिएको छ । पैसा कमाउन थालेपछि पहिला कुट्ने लोग्नेले समेत सम्मान गर्न थालेका छन् । परिवारबाट अपहेलित तथा आर्थिक अवस्था कमजोर भएका महिलाका लागि कोपिला भ्यालीले व्यावसायिक सीप सिकाउने र क्षमताअनुसारको काम दिन थालेपछि यी महिला आर्थिक रूपमा आत्मनिर्भर बनेका छन् । केन्द्रमा नै तालिम सिकेकी भूमिसरा अहिले त्यही केन्द्रमा अन्य महिलालाई सिलाइकटाइ तालिम दिने गर्छिन् । तीन सन्तानकी आमा भूमिसरालाई छोराछोरी पढाउन र घरखर्च चलाउन अहिले कसैसँग माग्नुपर्ने अवस्था छैन । उनले भनिन्, ‘पहिले तेरो कमाइ के छ भनेर कुट्ने श्रीमान् अहिले कहिलेकाहीँ मसँग नै खर्च माग्छन् ।’ उनले हिजोआज कसैको नराम्रो भनाइ सुन्नुपरेको छैन । भूमिसरा भन्छिन्, ‘कुनै दिन पैसा माग्दा डराउनुपथ्र्यो । किनकि घरमा कमाइ थिएन । आज त श्रीमान्ले पनि सम्मान गर्छन्, गाउँलेको पनि व्यवहार फेरिएको छ ।’ भूमिसरा अहिले वार्षिक तीन लाख रुपैयाँ आम्दानी गर्छिन् ।
वीरेन्द्रनगर– ११ चनौटेकी सविना नेपालीलाई पनि कुनै समय बिहान–बेलुकाको छाक टार्न धौ–धौ थियो । १४ वर्षको उमेरमा विवाह गरेकी नेपालीका श्रीमान्ले दोस्रो विवाह गरेपछि दुःखका दिन सुरु भए । उनी भन्छिन्, ‘श्रीमान्ले दोस्रो विवाह गरेपछि मलाई घरखर्च चलाउन कठिन भयो, त्यति मात्र होइन, श्रीमान्बाट धेरै यातना पाएँ ।’ त्यही पीडा सहन नसकेर उनले सम्बन्धविच्छेद गरिन् । तर, हिजोआज समाजमा सविना उदाहरणीय कामकाजी महिला बनेकी छिन् ।
सविना भन्छिन्, ‘काम पनि रामै्र छ, मासिक तलब पनि राम्रै पाइन्छ । यही कमाइले नै घरखर्च र साथमा रहेकी १० वर्षकी छोरी पढाउन पुगेको छ ।’ कुनैबेला कमाइ नभएको आरोपमा परिवारबाट एक्लिएकी सविना अहिले वार्षिक दुई लाख ४८ हजार रुपैयाँ कमाइ गर्छिन् । कोपिला भ्याली सिलाइकटाइ केन्द्रमा उनले विगत दुई वर्षदेखि अन्य महिलालाई पनि सिलाइकटाइको तालिम दिँदै आएकी छन् ।
वीरेन्द्रनगर–६ निवासी ममता विकको जीवनमा पनि अहिले परिवर्तन आएको छ । विकलाई पहिला १० वर्षकी छोरीलाई कसरी पाल्ने भन्ने चिन्ताले पिरोल्थ्यो । तर, जब उनले कोपिला भ्यालीमा सिलाइकटाइको तालिम लिइन्, उनको जीवनमा परिवर्तन आयो । १६ वर्षको उमेर विवाह गरेकी विक अहिले छोरीको भविष्य आफ्नै जस्तो नहोस् भन्नेमा छिन् ।
ममता भन्छिन्, ‘हतारमा बालविवाह गर्न पुगेँ, श्रीमान् विदेश गएको चार वर्ष पुग्यो, फर्केर आएका छैनन्, पैसा पनि पठाएका छैनन् ।’ उनले थपिन्, ‘श्रीमान् नै सबथोक भनेर बसेँ, अहिले धोका पाउँदा बल्ल आँखा खुले, मेरो गल्ती छोरीलाई दोहो¥याउन दिन्नँ ।’
कोपिला भ्यालीमा सीप सिकेपछि अहिले उनले वार्षिक एक लाख ८६ हजार रुपैयाँ कमाउँछिन् । सिलाइकटाइ सिकेर नै उनले अहिले घरखर्च र छोरीको पढाइ खर्च जुटाएकी छिन् । उनले भनिन्, ‘पहिले जस्तो अरूको भर पर्नुपरेको छैन, सीपअनुसारको काम पाएकी छु । कसैसँग झुक्नुपरेको छैन, उल्टै सहयोग माग्न थालेका छन् ।’ उनले थपिन्, ‘आफ्नो कमाइ भएपछि शत्रु पनि आफ्नो हुँदोरहेछ ।’
कालिकोटकी गौकला सिंहले पनि सिलाइकटाइको काम गरेरै परिवार खर्च टारेकी छन् । कुनै समय कालिकोटमा खेती किसानी गर्ने गौकला अहिले भने सिलाइकटाइले आफ्नो जीवनस्तरमा सुधार आएको बताउँछिन् । उनले भनिन्, ‘पहिला त कसैले सहयोग माग्दा पनि पत्याउँदैनथे, अहिले कमाइ भएपछि सबैले सम्मान गर्न थालेका छन् ।’ आफ्नो दुःखका कथा सुनाउँदै उनले थपिन्, ‘श्रीमान्को कमाइ थिएन, बाहिरबाट आएको भनेर साहुले ऋण पनि पत्याउँदैनथे, अहिले भने सम्मानपूर्वक सबैले पत्याएका छन् । सबैभन्दा ठूलो आर्थिक रहेछ ।’
आफ्नो कमाइ नहुँदा सधँै तिखो वचन सहनुपथ्र्यो गौकलाले । रोजगारी पाएपछि भने श्रीमान्को व्यवहारमा परिवर्तन आएको छ । उनले सिलाइकटाइबाटै पाँचजनाको खर्च टार्दै आएकी छिन् । आयआर्जनको बाटोमा लागेपछि घरपरिवार, श्रीमान् र समाजबाट हेपिएका र हिंसामा परेका महिलाको जीवनमा परिवर्तन आएको छ । कोपिला भ्याली समाज केन्द्रले अहिले ४० जना महिलालाई रोजगारी दिइरहेको छ ।