भूकम्पपीडितहरूलाई प्रदान गरिने आर्थिक राहतबारे संसदको पाँच महत्वपूर्ण दिन र क्षणहरूलाई बरवाद गरेपछि सत्तापक्ष र प्रतिपक्षबीच भएको केहीबुँदे समझदारीपश्चात संसदको बैठक पुनः थालिए पनि पछि सत्तापक्ष र प्रतिपक्षको निरन्तर व्यवहार र संस्कृतिलाई हेर्दा मुलुक र जनता अबका दिनहरूमा असार १४ को दिन प्रधानमन्त्री केपी ओली आजित भएर रन्केभन्दा बढी विक्षिप्तको अनुभूत गरिरहन बाध्य हुने कुरामा कुनै शंका छैन । सरकारले सबै कुरा बुझाएर नेपाली भाषाकै प्रयोग गर्दा पनि कुरा नबुझेको भनी नेपाली कांग्रेसले गरिरहेको कचिंगलप्रति लक्ष्य गर्दै केपी ओलीले नेपाली भाषामा नै सबैले बुझ्ने गरी कुरा राखिसक्दा पनि कांग्रेसले नबुझेको कुरा गरी जनतालाई भ्रममा राख्न गरेको प्रयास आश्चर्यजनक रहेको भनी एक प्रकारको विरक्तिपूर्ण आक्रोश नै व्यm गरिनुमा प्रधानमन्त्रीलाई कमसेकम यस मामिलामा धेरै दोष दिने ठाउँ देखिन्छ ।
सत्ता र प्रतिपक्ष संसदीय राजनीतिको दृष्टिले दुवै नै अनिवार्य र आवश्यक हुने भए तापनि जुन प्रकारले अझ गणतन्त्रको प्रारम्भपश्चात पनि सत्ता र प्रतिपक्षको नाममा जस्तो खेल र नौटंकीमा दुवै पक्ष लागेको पाइन्छ, त्यसबाट जनता, राष्ट्र र प्रजातन्त्र आगामी अझ कैयौ दशकसम्म पनि लाभान्वित हुन नसक्ने कुरा लेखेर राखे हुन्छ । हामी सत्ताको लोभ गर्दैनौं भनेर दुवै प्रकारको भूमिका निर्वाह गरिरहेको बेलामा दुवै पक्षले जुन वेशर्मीका साथ सत्ताकै र पार्टीहरूकै स्वार्थको लागि मात्र आफ्ना दलका नीतिका र कार्यक्रमहरू समर्पित गरेका छन्, त्यसबाट प्रजातन्त्र, गणतन्त्रमा यावत सिद्धान्त र व्यवहार लज्जित बनेका छन् । नेपाली भूमिमा यो लज्जाको लाग कोही लज्जित हुन नपर्ने र जिम्मेवार हुन नपर्ने दुरावस्था चाहिँ कति समय अझै रहिरहने हो, यकिनका साथ भन्न सकिन्न । जनताको कर्ममा नै यस्तै लज्जावोधको साक्षी बनिरहने मात्र भूमिका निर्धारित भएको त छैन होला, तर यो दुष्कर्म छोट्याउन वा निमिट्यान्न पार्न जनताले आफैं के भूमिका निर्वाह गर्न सक्लान् त ? यो कुरा कसरी बुझ्ने र कसले बुझाउने भन्ने कुरा बुझिहाले पनि गर्नुपर्ने दायित्व पूरा गर्न चाहिँ कहीं कतैबाट माखो पनि नमारिनुको सत्य र तथ्य उत्तिकै दुःखद पक्ष बनिरहेको छ ।
नेपालको राजनीतिक अवस्थाको सन्दर्भमा हाम्रा सञ्चारमाध्यम एवं अन्य क्षेत्रमा पनि पटक–पटक गम्भीर चिन्ता, छलफल हुने नगरेका चाहिँ हैनन् । छलफल चिन्ताको क्रममा कतिपयले निरन्तर निर्लज्ज र गैरजिम्मेदार बनिरहेका राजनीतिक दल वा नेताहरूले जबसम्म जनताबाटै गलहत्याइएको अनुभूति गर्न सक्तैनन्, तबसम्म यो दुर्भाग्यबाट देश र जनताले मुक्ति पाउन नसक्ने कुरा प्रष्टै छ नभनेका पनि हैनन् । तर सत्ताका केपी ओली र प्रतिपक्ष देउवा जस्ताबाट बारम्बार नबुझेझैं गरिएका अन्य पक्षहरूलाई नै पछ्याउन जनता पनि विवश भइरहेकै देखिन्छ । राजनीतिक नौटंकी र त्यस्ता दुष्परिणामहरूलाई बारम्बार भोगेर आजित र आक्रोशित भएका जनताबाट पनि हरेक निर्वाचनमा तिनै दल र नेताहरूलाई चुनिरहँदा मुलुक दुर्भाग्य व्यहोर्न बाध्य नभए के हुने ?
८५ प्रतिशत जनता धर्ममा विश्वास गर्छन् भन्ने भनाइ पनि व्यवहारसँग कतै मेल खाँदैन । द्रौपदीको चीरहरण हुँदै गर्दा तिनलाई आपत पर्दा म मद्दत गर्छु भन्ने भगवान कृष्णलाई पनि पछि द्रौपदीले सोधेकी थिइन्–प्रभु किन यति ढिलो गरी मद्दत गर्नुभयो ? तब कृष्णले जवाफ दिएका थिए–तिमीले मलाई गुहार गर्नु अघि पहिले हस्तिनापुर दरबारमा रहेकैबाट सहयोग पुग्ने आशा गरी मलाई ढिलो गुहार माग्यौं । बेलैमा मलाई सम्झेको भए म बेलैमा उपकार गरिहाल्थे नि !