ललित स्मृति यु–१८ फुटबलको उपाधि आर्मीलाई

खेलकुद

काठमाडौं । ललित स्मृति १८ वर्ष मुनिको फुटबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लवले जितेको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ एन्फा कम्प्लेक्सको मैदानमा भएको फाइनलमा लुम्बिनी फुटबल क्लवलाई टाइब्रेकरमा पराजित गर्दै आर्मीले उपाधि जितेको हो ।

निर्धारित ९० मिनेटको खेलमा १–१ गोलको बराबरी भएपछि सीधै टाइब्रेकरमा निर्णय भएको खेलमा आर्मी ३–१ ले विजयी भएको हो । यसअघि खेलको छैटौं मिनेटमा जनोमलाल लिगलले गोल गर्दै लुम्बिनीलाई प्रारम्भिक अग्रता दिलाए पनि आर्मीलाई बराबरी गर्न भने ७५ औं मिनेटको खेल कुर्नु परेको थियो । प्रेजेन तामाङ्गले पेनाल्टीमार्फत गोल गर्दै बराबरी गरेका हुन् ।

१२ टिमले सहभागीता जनाएको प्रतियोगिताको उपाधि जितेसंगै आर्मीले तीन लाख तथा उपविजेता लुम्बिनीले डेढ लाख रुपैयाँ पुरस्कार पाएको छ । त्यस्तै व्यक्तिगततर्फ गोलकिपरमा संकटा क्लवका सुशील बस्नेत, डिफेन्डरमा आर्मीका सुमन अर्याल, मिडफिल्डरमा लुम्बिनीका दामोदर थापा क्षेत्री, फरवार्डमा लुम्बिनीकै जनोमलाल लिगल तथा प्रशिक्षकमा आर्मीका चक्र तामाङ्ग उत्कृष्ट घोषित भएका छन् । व्यक्तिगततर्फका उत्कृष्टले जनही १५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

एन्फाका पूर्व कार्यबाहक अध्यक्ष स्वर्गीय ललितकृष्ण श्रेष्ठको सम्झनामा यो प्रतियोगिता आयोजना गरिएको हो । एन्फा एकेडेमीका निर्देशक भएकै बेलामा गत वर्ष श्रेष्ठको करेन्ट लागेर निधन भएको थियो ।