संसारभरि हुने सा परिवर्तनहरूले स्थानीय जनतामा केही दिनसम्म केही न केही हदको नयाँ आशा र अपेक्षा चलाउने गर्दछ । कतिपय मुलुकमा ती आशा र अपेक्षाको लागि केही मलुवा वातावरण पनि बनिरहेको हुनसक्दछ भने केही ठाउँमा पहिलेको तुलनामा झन् बढी निराशा र अनास्था पनि वृद्धि गरिरहेको हुन सक्दछ । मन्दिरै मन्दिरको देश र तेत्तीस करोड देवता विराजमान हुने मुलुक भनेर चिनिएको यो देशको वर्तमानमा हालै भएको सत्ता परिवर्तनका घटना–खेलहरूप्रति जनतामा के अपेक्षा वा प्रतिक्रिया भएको छ–यसलाई बुझ्न र मान्न अथवा नकार्न पटक्कै सहज छैन । सर्वोत्कृष्ट संविधान बनाएको भनेर कुर्लनेहरूलाई देशका धेरै भ्रममा र मनमस्तिष्कबाट खिल्लि उडाइरहेको भए तापनि आफै उत्कृष्ट भनिएको संविधानको बेथिति र बेगतिबाट आज आफै अल्झन पुगेका छन् र संविधान लागू भएको छोटो समयमै बहुमतबाट पारित निर्मित सरकार धरापमा परेको वा पारिएको छ । सत्ता खाली नरहिरहने शाश्वत सत्यलाई पछ्याएर अहिले नयाँ सत्तासमिकरण बनिसके तापनि पार्टीमा लागेका मध्येका केही सत्ता गुमाउने पक्ष आज तिव्ररूपमा आक्रोशित बनिसकेका छन् भने नयाँ सत्तामा कुहिनो अडाएका मध्येहरू राष्ट्रको ढुकुटी के कताबाट लुट्ने र रित्याउने भन्ने चाँजोपाँजो मिलाउन नै व्यस्त छन् । जुन जनता कुनै दलसँग सम्बन्धित छैनन्, उनीहरूको लागि सत्ताको परिवर्तन–खेल कागलाई बेल साक्दा हर्ष र विस्मात दुवैबाट निरपेष रहनुको अरु कुनै विकल्प नै देखा परेको छैन ।
मुलुकमा शान्ति निर्माण र विकासले गति लिएर जनजीवन र राष्ट्र जीवन सुधारोन्मुख होला भन्ने आशा गर्न मानिसले छाडिसकेका छन् । भ्रष्टाचार, महंगी हटाई सुशासन पालना गराउन कुनै पनि दल लागि पर्ने छैनन् भन्ने साझा विश्वासले जनतालाई छोपिसकेको छ । आशा, उत्साह मात्र हैन, क्रोध र निराशा पनि कतै नदेखिएर एउटा अस्वाभाविक जीवनरेखा नेपालको बनिसकेको हो कि भन्ने लाग्न थालेको छ । उत्कृष्ट संविधानको लागि पूर्वाधारहरूसम्म पनि बनाउन कुनै दललाई चासो छैन, संविधान बने बाँधिएला भन्ने पिखारै सबै दल त्रस्त देखिएका छन् । बाँधिन सकिने अवस्था भ्रष्ट मनस्थितिको शुद्ध शत्रु नै बन्छन् ।
पछिल्लो सत्ता परिवर्तनको खेलले आफ्नो अन्तिम परिणति कहिले कसरी प्रदर्शित गर्ने हो, त्यो कुरा अहिले पनि कसैले प्रष्ट भन्न सक्ने स्थिति छैन । राजनीतिको सरल हिसाबलाई अहिलेको संविधानले संवैधानिक जटिलता थपिदिएको छ । राजनीतिमा दलहरू इमानदार भए राजनीतिक गतिविधि सञ्चालनको लागि संविधानको अक्षरसबाट पढिरहनुपर्ने, व्याख्या गरिरहनुपर्ने स्थिति नै आउँदैन । तर गणतन्त्रको संविधानमा उत्कृष्ट बन्यो भनेर प्रचारबाजी भइरहँदा राजनीतिक दलहरूले भनेका कुरा के हुन् र मनशाय के हुन् ठम्याई हाल्ने स्थिति चाहिँ सहज बनेको छैन । वामपन्थीहरू एक भएको भनी बनेको संगठन वामपन्थीबीचकै पूmटको कारण संकटमा परेको हो । पूmट र एकताको लागि कुनै कारण र सिद्धान्त नेपालमा अहिले चाहिन्न । माओवादी केन्द्रका अध्यक्ष लगायतका नेताहरूलाई भन्न नमिल्ने तर कुनै पनि बेलामा आक्रान्त पार्न सक्ने डरले गाँजिरहेको छ र त्यो स्थितिबाट पार पाउन नयाँ समिकरणले सघाउने आशामा छन् । अहिलेका दलहरूले सत्ता बनाउन, गिराउन जे पनि गर्न सक्छन् भन्ने कुरा सत्य भए पनि जे पनि गर्ने हुने भन्ने कुरा व्यवहार हुन सक्ला नै भन्न सकिन्न । यो पृष्टभूमिमा भविष्यको अडकल कसरी काट्ने ?