शिक्षा त गोल भो ! शिक्षामन्त्री नै अजबका ! कहिले हुन्छ एसइई, ११ र १२ को परीक्षाको टुंगो ?

विचार समाचार सम्पादकीय

जनभावना डेस्क । गुरु राम्रो हुनुपर्छ । गुरु त भगवान हुन् । ‘गुरुब्र्रम्हा गुरुर्विष्णु गुरुर्देवो महेश्वर गुरुर्साक्षात् परब्रम्हा तस्मै श्री गुरुवे नमः’ भनिन्छ । गुरु ब्रम्हा, विष्णु र महेश्वर हुन् ।

शिक्षा दिने गुरुले राम्रो शिक्षा दिएन भने विद्यार्थीको भविष्य गोलचक्करमा जान्छ । त्यसैले होला भगवानसंग जोडिएको ।

तर नेपालका गुरु र शिक्षाको वातावरण बनाउने सरकार नै सम्मानयोग्य नभएपछि के होला ? भएको छ त्यस्तै । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बजेटमा आफूले दिएको खाका समावेश नगरिएको भन्छन् ।

सरकारी विद्यालयलाई सशक्त बनाउनु पर्नेमा निजी विद्यालयलाई सामुदायिक विद्यालयको समेत जिम्मा लिन आग्रह गर्छन् । कोरोना भाइरसका कारण भएको लकडाउनले ७० लाखभन्दा बढी विद्यार्थीलाई पढ्न समस्या भएको छ । तर उनी अस्तव्यस्त पार्ने गरी कोरोना चर्किएका बेलामा विद्यालय खोल्ने भन्दैछन् ।

भर्चुअल शिक्षा दिने भन्दैछन् । कसरी सम्भव छ उनलाई मतलब छैन ।

त्यस्तै माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई), कक्षा ११ र १२ को परीक्षाका बारेमा अहिलेसम्म के गर्ने भन्ने टुंगो छैन । उनले अब एक साताभित्र निर्णय गरिने जानकारी दिएका छन् ।

शिक्षा पत्रकार सञ्जाल (इजोन) ले बिहीबार आयोजना गरेको भर्चुअल संवादमा उनले ती परीक्षाका विषयमा विभिन्न तीन विकल्पमा अध्ययन भइरहेको र त्यसका बारेमा आगामी साताभित्र निचोडमा पुगिने बताए ।

उनले अहिले परीक्षा सञ्चालन गर्न सकिन्छ वा सकिँदैन, परीक्षा सञ्चालन गर्न सम्भव नभए राष्ट्रिय परीक्षा बोर्डले मान्यता दिन कस्तो कानूनी उपाय अवलम्बन गर्नुपर्छ र कक्षा १० को परीक्षालाई नयाँ रूपमा सञ्चालन गर्न सकिन्छ वा सकिँदैन भन्ने विकल्पका मन्त्रिपरिषद्ले निर्णय गर्ने जानकारी दिए ।

उनले बन्दाबन्दीपछि अन्तिममा शिक्षण संस्था नै खुल्ने र त्यतिञ्जेलका लागि अस्थायी समाधान गर्न वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका कार्यान्वयनमा ल्याइएको उल्लेख गरे ।

“आगामी असार १ गतेबाट विद्यालय खोल्न खोजिएको होइन”, उनले भने, “तत्कालका लागि विकल्प मात्र हो । ४५ दिनपछि पनि यस्तै अवस्था रहेमा विभिन्न तीन योजनाका साथ अगाडि बढ्नेछौँ । दशैँ अगाडि कसरी जाने र दशैँ पछाडि कसरी जाने भन्ने योजना बन्नेछ ।”

मन्त्री पोखरेलले निर्देशिका कार्यान्वयनमा स्थानीय तहको भूमिका नै महत्वपूर्ण हुने स्पष्ट गर्दै भने, “पहिलो १५ दिनको काम हेरौँ । सबै विद्यार्थी त्यसबाट लाभान्वित भए त्यसलाई शैक्षिकसत्रसँग जोड्न सकिन्छ र त्यसले औपचारिक मान्यता पाउने छ ।”

उनी आफूसंग कुनै योजना छैन । विदेशको योजना सिक्न खोजिरहेका छैनन् । परीक्षणमा जान खोजिरहेका छन् । भर्चुअल कक्षाका लागि पनि सहज इन्टरनेट र राम्रो क्षमताको मोबाइल चाहिन्छ । अनि के सबै अभिभावक विद्यार्थीका लागि त्यो किसिमको क्षमता राख्छन् ?