कोरोना संक्रमणमा नेपाल निकै अगाडि, १० को मृत्यु, २६३४ संक्रमित, मात्र २९० निको

Home Feature समाचार समाज

काठमाडौं । नेपाल कोरोना भाइरसको हटस्पट बन्दै गएको छ । संक्रमित दिनानुदिन निकै बढ्दै गएका छन् । अहिलेसम्म २ हजार ६ सय ३४ जना संक्रमित भइसकेका छन् ।

बिहीबार मात्रै ३३४ जना नयाँ संक्रमित थपिएका छन् । १० जनाको ज्यान गइसकेको छ । सरकारले लकडाउन गर्दा गत चैत ११ गते २ जनामात्र संक्रमित थिए । अहिले दैनिक ३३४ जना संक्रमित हुन थाले ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीवार एकै दिन ३ सय ३४ जनामा संक्रमण देखिएको छ । जुन एक दिनमा संक्रमण हुनेमा अहिले सम्मकै बढी संख्या हो ।

मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले पछिल्लो २४ घण्टामा ३१९ जना पुरुष र १५ जना महिला गरी जम्मा ३ सय ३४ जनामा संक्रमण देखिएको जानकारी दिए ।

प्रवक्ता देवकोटाले पाँच दिन अघि भारतबाट आएका पाल्पा जिल्ला पूर्वखोला गाउँपालिकाका एक जना पुरुषको तानसेन स्थित मिसन अस्पतालमा जेठ २० गते मृत्यु भएको र स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको बताएसंगै मृतक १० पुगेका छन् ।

अहिलेसम्म २ सय ९० जना डिस्चार्ज भएका छन् । यो रेट हेर्दा भने संक्रमणले निकै नै ध्वस्त पार्ने देखिन्छ । निको हुनेको संख्या निकै कम भएर गएको छ । बिहीबार जम्मा १२ जना डिस्चार्ज हुँदा ३३४ थपिएका छन् ।