माओवादीले निहत्था नागरिक मारेको बाँदरमुढे घटनाको १५ वर्ष पूरा, प्रचण्डले न्याय दिएनन् जनताले उनैलाई जिताए

Home Feature राजनीति समाज

काठमाडौं । समय पनि के आइलाग्छ । सम्भवतः त्यसको नजिकबाट अनुभूति गर्नेमा चितवनको बाँदरमुढेका पीडित परिवार बढी नै होलान् ।

उनीहरुलाई १५ वर्षअघि जेठ २३ गतेको त्यो दिन निकै दर्दनाक लाग्यो होला । सशस्त्र द्वन्द्वका समयमा चितवनको माडीस्थित बाँदरमुढेमा तत्कालीन माओवादीले कहिल्यै बिर्सन नसक्ने काम गर्यो ।

उक्त घटना १५ वर्षअघि २०६२ जेठ २३ गते तत्कालीन माओवादी कार्यकर्ताले सामान्य नागरिक चढेको बसमा विस्फोट गराउँदा ३५ जना सर्वसाधारण र ड्युटीमा नरहेका तीन सुरक्षाकर्मीको मृत्यु भएको थियो । घटनामा ७० भन्दा बढी मानिस घाइते भएका थिए ।

घाइते शारीरिक तथा मानसिक आघातमा अहिले पनि न्यायको प्रतिक्षामा छन् । उक्त घटनाको स्वतन्त्र र निष्पक्ष अनुसन्धान गरी पीडितलाई अझैसम्म सत्य, न्याय र परिपूरण हुन सकेको छैन ।

घटना भएको १५ वर्ष पुगे पनि पीडितले अझै न्याय पाउन सकेका छैनन् । तत्कालीन माओवादीका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बसमा बम विस्फोट गराइएको घटना ‘सशस्त्र द्वन्द्वको सबभन्दा ठूलो भूल’ भनी स्वीकार गरेको पनि वर्षौं भएको छ ।

प्रचण्ड आफै दुई पटक प्रधानमन्त्री भए । तर केही गरेनन् । पीडित झन् पीडित भए मानसिक रुपले । यतिसम्मकै उनै बाँदरमुढेका जनताले भोट दिएर उनलाई २०७४ को प्रतिनिधिसभाको चुनावमा जिताए ।