लकडाउन जेठ २० सम्म, सरकार भन्छ –वाध्यता

Home Feature राजनीति समाचार

काठमाडौं । सरकारले कोरोना भाइरसका कारण लकडाउन आगामी २० गतेसम्मका लागि थप गर्ने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले १५ दिनका लागि बन्दाबन्दी जारी राख्ने निर्णय भएको बताए ।

मन्त्री खतिवडाले सरकारले कोरोना रोकथामका लागि बन्दाबन्दी जारी राखे पनि सँगसँगै आर्थिक गतिविधि अघि बढाउनुपर्ने बाध्यता रहेको बताएका छन् । मन्त्रिपरिषदको बैठकमा बन्दाबन्दीको ‘मोडालिटी’ परिवर्तनको सम्बन्धमा पनि छलफल भएको उनले बताए ।

उनले सरकारले यसअघि गरेको निर्णयका आधारमा कृषि, उद्योग, निर्माणलगायतलाई निरन्तरता दिइने पनि बताए । सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री डा खतिवडाले भने, “साना ठूला आयोजनाको निर्माण भइरहेकामा त्यसलाई निरन्तरता दिइनेछ ।”

बैठकमा अहिले क्वारेन्टाइनमा बसिरहेकालाई कसरी उत्पादनसँग जोड्ने भन्ने विषयमा छलफल भएको मन्त्री खतिवडाले बताए । उनीहरुको सुरक्षा अपनाएर कसरी आफ्नै गाउँमा के गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको छ । बैठकमा रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि जडीबुटीजन्य र औषधिजन्य वस्तुको उपयोग बढाउनुपर्ने विषयमा पनि छलफल भएको उनले जानकारी दिए ।

वाध्यता भन्ने सरकारले कोरोना भाइरसबाट बच्नका लागि अपनाइएका अन्य उपायहरु निकै नै फितला रहे पनि सरकारले त्यसबारेमा केही बोलेको छैन ।

त्यसैगरी कोरोनाबाट संक्रमित तीन सय नजिक पुग्दा र दुई जनाको ज्यान जाँदासमेत पनि सरकारले ठोस योजना ल्याउन सकेको छैन ।