पूर्वराजाबाट अभिभावकीय भूमिका

Home Feature राजनीति समाचार

मुलुकको स्वाधीनता संरक्षण र एकीकरणको सन्दर्भमा राजसंस्थाको सान्दर्भिकतालाई स्वीकार्न घुमाउरो रुपमा आग्रह

काठमाडौं । नेपालीमा एउटा भनाइ छ, ‘राजा भनेको राजै हो ।’ राजाले व्यक्तिगत हितको सोच कदापि सोच्न सक्दैन । व्यक्तिगत सोच सोच्ने राजा हुनै सक्दैन । राजाले सिंगो देश सोच्छ । राजाले आफूभन्दा पहिले जनता सोच्छ । तब हुन्छ राजा । राजाले सोच्ने चिज कुनै नेताले सोच्न सक्दैन । यो नेपालमा मात्र हैन विश्वभर नै चरितार्थ हुँदै आएको छ ।

त्यसैले होला पूर्वराजा ज्ञानेन्द्र शाहबाट अहिलेको सरकारले देखाएको असंवेदनशील व्यवहारबारे चित्त दुखाइएको । कोरोना भाइरसको महामारी फैलिरहेको बेलामा पनि सरकार असंवेदनशील भएर जनताको रक्षाका लागि नलागेकोप्रति पूर्वराजाबाट चित्त दुखाउ भएको हो ।

शाहबाट ‘यो अकल्पनीय व्याधीबाट जीवन गुमाएका र पीडाग्रस्त रहेका सबैप्रति श्रद्धा तथा समवेदनका साथ संक्रमित सबैको स्वास्थ्य लाभको कामना गर्दै ‘संक्रामक रोगको यो समयमा नेपाली जनताले भोग्नु परेको गास, वास र कपास लगायतका विविध समस्या समाधान गरियोस्’ भनी सन्देश जारी गर्दै सरकारलाई आग्रह समेत गरिएको छ ।

बुधबार जारी गरेको सन्देशमा सरकारको असंवेदनशीलता यहींबाटै छर्लङ्ग पारिएको छ । यो गम्भीर समयमा नेपालीले खान नपाएर मर्नु, आत्महत्या गर्नुजस्ता क्रियाकलाप हुँदा पनि सरकार चुप लागेको बसेकोप्रति पूर्वराजाको चित्त दुखाइ छ ।

पूर्वराजा शाहबाट यो अवधिमा बढ्दै गएको मानसिक वेदना, सामाजिक विकृति एवं आर्थिक बेथितिप्रति गहिरो चिन्तासमेत व्यक्त गरिएको छ । राष्ट्र विषम स्थितिबाट गुज्रिरहेको भन्दै पूर्वराजाबाट असार २३ गतेको आफ्नो जन्मदिनलाई उत्सवका रुपमा नमनाउने घोषणासमेत गरिएको छ ।

यो निर्णयपछि सामाजिक संजालमा कयौंले लेखेका छन्, ‘राजा भनेको राजै हो । छाती फराकिलो पार्ने पो राजा । अहिले त धेरै राजा भए देशमा । हामीलाई माया गर्ने त साँच्चिकै राजा ।’

पूर्वराजा शाहबाट आफ्नो भावनाप्रति श्रद्धा र शुभेच्छा राख्दै देशको सुन्दर सपना देख्ने सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई धैर्य, दृढता र साहसका साथ अघि बढ्न आग्रह पनि गरिएको छ ।

पूर्वराजा शाहबाट निषेध र प्रतिशोधको भावना राखेर कसैको हित नहुनेमा सत्ता सञ्चालकहरुलाई सचेत गराइएको छ । नेपाल राष्ट्रको एकीकरण र नेपाली स्वाधीनताको संरक्षण तथा सर्वतोमुखी विकासको चिन्तन राजसंस्थाबाट मात्र सम्भव हुने सन्देशसमेत दिन खोजिएको छ ।

शाहबाट परस्पर आरोप प्रत्यारोप गरेर या निषेध र प्रतिशोधको भावना राखेर कसैको हित नहुने बताउँदै घुमाउरो पारामा राजसंस्थाको सान्दर्भिकता र औचित्य पुष्टि गर्ने प्रयास गरिएको छ । शाहबाट वर्तमान परिस्थितिमा नेपाल राष्ट्रको एकीकरण स्वाधीनताको संरक्षण र सर्वतोमुखी विकासको चिन्तन कहिले कसले र कोबाट भयो त्यसको मनन गर्न आग्रह गरिएको छ ।

राष्ट्रियतालाई मूल मन्त्र र एकतालाई शक्ति मानेर अघि बढ्नुपर्ने भन्दै पूर्वराजाबाट मुलुकको स्वाधीनता संरक्षण र एकीकरणको सन्दर्भमा राजसंस्थाको सान्दर्भिकतालाई स्वीकार्न घुमाउरो रुपमा आग्रह गरेको देखिन्छ ।

‘नेपाल राष्ट्रको एकीकरण , नेपालको स्वाधीनताको संरक्षण र सर्वतोमुखी विकासको चिन्तन कहिले, कसले र कोबाट भयो, त्यो आम हेक्काको विषय भैसक्यो । त्यस्तो गौरवमय इतिहासलाई स्वीकार गरेर जान सक्नु पर्दछ ।’ पूर्वराजा शाहको सन्देशमा भनिएको छ ।

पूर्वराजाबाट अगाडि भनिएको छ, ‘यही ऐतिहासिक सम्पत्तिको जगेर्ना गर्दै अतितबाट पाठ सिक्दै अघि बढ्नु नै हाम्रो राष्ट्रिय कर्तव्य र धर्म हो ।’

राष्ट्रियता र एकता बढाउनु समग्र राष्ट्रहितमा रहेको पूर्वराजा शाहको भनाइ छ । सीमा विवाद, भ्रष्टाचार विभिन्न सन्धिसम्झौता हत्या हिंसा र आत्महत्याजस्ता विषयको समाधान र कारण खोज्न पनि भनिएको छ ।

‘हाम्रो देशभक्ति, स्वाधिन स्थिति एवं स्वाभिमानमाथि बराबर किन प्रश्न, सन्देह र विवाद विग्रह उत्पन्न हुन्छ ? जनताको सुरक्षा, स्वास्थ्य र जिविकाका विषयमा किन अलमल, असन्तोष र आक्रोश उठिरहन्छ ? रोगको महामारी, राष्ट्रियताको संकट, सीमा समस्या, राष्ट्रहित विरुद्धका सन्धि सम्झौता तथा हत्या, हिंसा र आत्महत्या जस्ता जल्दा बल्दा र दुःखद विषय सन्दर्भमा पनि किन सधैंभरि विवाद आइरहन्छ ?’ शाहबाट प्रश्न गरिएको छ ।

सन्देशमा ‘भ्रष्टाचार, लापरवाही, पक्षपात र भेदभावका कूरा किन दिनौं उठिरहन्छ ? यस्ता यावत विषयलाई लिएर हाम्रा होनहार युवाहरु, तमाम देशभक्त स्वतन्त्र नागरिकहरु सडक संघर्षमा किन उत्रिरहनुपर्ने अवस्था सिर्जना भइरहन्छ ? यी सबै सोचनीय विषय र विचारणीय कुराहरुको प्रश्नहरु उब्जिरहेको छ ।’ भनिएको छ ।

कामका लागि विदेशिनु परेका नेपालीप्रति सहानुभूति देखाउँदै पूर्वराजाबाट ‘विविध बाध्यताका कारण विदेशिएका कतिपय नागरिक स्वदेश फर्किएको भन्दै फर्कने सबैको श्रम, सीप र सामर्थ्यको सदुपयोग गरी आफ्नै देशभित्र इलम, उद्यम र कामधन्दाको व्यवस्था मिलाइनु नितान्त जरुरी रहेको छ’ भनिएको छ ।

पूर्वराजाबाट ‘बदलिँदो विश्व व्यवस्थालाई बुझेर अब हामीले हाम्रो आफ्नो प्रकृति, रीति, संस्कृति र पद्धतितिर फर्कनु जरुरी देखिन्छ । यसबाट नै हाम्रो स्वाभिमान र स्वाबलम्बनको परिपाटी फेरि कायम हुन्छ । केही दशकअघिसम्म आफ्नै गौरवगाथा, मौलिक मान्यता र आर्थिक क्षमतामा उभिएको देशको शिर फेरि ठाडो पार्नुपरेको छ ।’ भनिएको छ ।

समग्रमा पूर्वराजाको विज्ञप्तिमा राजसंस्थाको आवश्यकता दर्शाइएको छ भने सरकारको काम र दलहरुको व्यवहारले देशमा हत्या, हिंसा बढेको उल्लेख छ । राष्ट्रहित विरुद्ध गरिएका सन्धि सम्झौताप्रति पनि सचेत गराइएको छ ।

पूर्वराजाबाट यस्ता अभिव्यक्ति पहिले पनि दिएर नेताहरुलाई सचेत पार्न खोजिए पनि उनीहरु भने एक कानले सुनेर अर्को कानले उडाइरहेका छन् । यसले कुनै समय ठूलो दुर्घटना निम्तिने खतरा औंल्याइएको छ ।