कालोकोट भिडन्तः प्रजातान्त्रिक धार बलियो

Home Feature

काठमाडौं । सर्वोच्च बार एसोसिएसनको यही शनिबार हुँदै गरेको निर्वाचनमा कडा टक्कर हुने देखिएको छ । निर्वाचनमा वृहत प्रजातान्त्रिक र प्रगतिशील गरी दुई प्यानल चुनावी मैदानमा उत्रिएका छन् । नेपाली काँग्रेसको नेतृत्वको प्रजातान्त्रिक धारसंग राप्रपा नेपालले सहकार्य गरेको छ ।

त्यसैगरी प्रजातान्त्रिकलाई मधेसी मोर्चा, राप्रपा तथा नयाँ शक्ति नेपाललेसमेत सघाउने वचन दिएको सचिवका उम्मेदवार विष्णु लुइटेलले बताएका छन् । लुइटेलले बारको इतिहास र अहिलेको अवस्था हेर्दा प्रजातान्त्रिकले बहुमत ल्याउने निश्चित भएको बताए । सर्वोच्च बारमा जम्मा पाँच सय ८० मतदाता छन् । यसमा प्रजातान्त्रिक धारको बहुमत छ । तर बिग हाउस, तटस्थ र सिनियर भनिनेबाट निर्णायक बन्नेछ । त्यो निर्णायकबाटै आफूहरूले जित्नेमा आशावादी रहेको प्रगतिशील समूहका उपाध्यक्षका उम्मेदवार नारायण प्रसाईले ठोकुवा गरे ।

प्रसाईले कम्युनिष्टजति सबै आफ्नै खेमामा रहेको त बताए नै राप्रपा नेपालको देशभक्त पनि आफ्नै प्यानललाई सघाउन तयार रहेको बताए । त्यसैगरी उनले पनि मधेसी मोर्चा आफूहरूसंग नजिक रहेको जिकिर गरे । नयाँ शक्ति नेपालसमेत आफूहरूलाई सघाउन तयार रहेको प्रसाईको भनाइ छ ।

विभिन्न तथ्य र विगत केलाउने हो भने शैलेन्द्रकुमार दाहाल नेतृत्वको प्रजातान्त्रिक धार बलियो अवस्थामा छ । त्यसैगरी राप्रपा नेपाल तथा माओबादीबाट बाहिरिएर खडा भएको नयाँ शक्तिको शक्तिले पनि प्रजातान्त्रिक अझै बलियो बन्ने देखिएको छ । तर रामप्रसाद भण्डारी नेतृत्वको प्रगतिशील पनि त्यत्तिकै जितका लागि विश्वस्त छ । कालोकोटको उन्माद कता जान्छ केही दिनको सरगर्मीले देखाइहाल्नेछ ।