लकडाउन बैशाख २५ सम्म, सीमा बैशाख ३१ सम्म, नेपाल संक्रमणको उच्च जोखिममै

Home Feature राजनीति

काठमाडौं । कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले जारी गरेको लकडाउनलाई बैशाख २५ गतेसम्म लम्ब्याइएको छ । मन्त्रिपरिषद्को आइतबार साँझ बसेको बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको शनिबार बसेको बैठकले लकडाउनकै कारण कोरोनाको संक्रमण नियन्त्रण गर्न सफल भएको निष्कर्ष निकाल्दै एक साता लम्ब्याउन सिफारिस गरेको थियो । सरकारले भने कार्यदलको सिफारिस भन्दा तीन दिन बढी समय थपेर लकडाउन १० दिन पुर्याएको हो ।

सरकारले चैत ११ गतेबाट लकडाउन लागू गरेको थियो । पाँचौं पटक लकडाउन थपिएको हो । पहिलोपटक चैत ११ देखि चैत १८ गतेसम्म, दोस्रो पटक चैत २५ गते सम्म, तेस्रो पटक बैशाख ३ गतेसम्म, चौथो पटक बैशाख १५ सम्म र पाँचौं पटक बैशाख २५ गतेसम्म थपिएको हो ।

पछिल्लो समयमा लकडाउनकै बेलामा सरकारले काठमाडौंबाट नागरिकहरुलाई बाहिरी जिल्लामा जान अघोषितरुपमा छुट दिँदै आएको छ । राजधानीकै सडकहरुमा स्थानीय सवारी साधन बाक्लै चल्न थालेका छन् ।

यता, सरकारले अन्तराष्ट्रिय सीमा नाकामा वैशाख ३० सम्म अवागमन रोक्ने निर्णय गरेको छ । बैठकले बाह्य जगतबाट जोखिम नहोस् भनेर सीमा नाकामा आवागमन रोक्ने निर्णय गरेको हो । सरकारले चैत १० बाट सीमा नाकामा आवागमन रोकेको थियो ।

नेपालमा कोरोना संक्रमितको संख्या ५२ पुगेको छ । यसैबीच नेपाल कोरोना भाइरस संक्रमणको उच्च जोखिममा नै रहेको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नेपाललाई उच्च जोखिमबाट हटाएको भन्ने खबर गलत रहेको स्पष्ट छ । किनकि संगठनको नेपाल कार्यालयका अनुसार उच्च जोखिमबाट नेपाललाई अहिलेसम्म हटाइएको छैन ।

संगठनले अप्रिल २० मा जारी गरेको एक रिपोर्टमा विश्वका सबै देशहरु जोखिममा रहेको र त्यसविरुद्ध लड्न अझै तयारी आवश्यक भएको उल्लेख गरेको छ।

नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको कुल संख्या ५२ पुगेको छ। जसमध्ये १६ जना निको भएर अस्पतालबाट डिस्चार्ज भईसकेका छन्।