वर्षाको चिन्ताः छैन ज्यानको अत्तोपत्तो

Home Feature समाचार

काठमाडौं । बजेट स्वाहा पार्ने नाममा असार महिनामै डोजर चलाउने सरकारी नीतिका कारण मुलुकले ठूलो क्षति व्यहोरिरहेको छ । त्यसको असर जनताले भोगिरहेका छन् । नेपालमा अहिलेसम्मकै ठूलो संख्यामा नेपालीको बाढीपहिरोका कारण मृत्यु भएको छ ।

थुप्रै बेपत्ता भएका छन् । उनीहरुको अत्तोपत्तो छैन । कयौं गाउँमा सम्पर्क समेत नहुँदा उनीहरुको ज्यानको अत्तोपत्तो नै छैन ।

सरकारले उचित व्यवस्थापन गर्न नसक्दा धेरैको ज्यान गएको हो । यसैबीच जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन देशभर बदलीसँगै वर्षाको सम्भावना रहेको जनाएको छ ।

मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिकै रहेकाले सोमबारसम्म उक्त प्रणालीको असर रहने भएको हो । हाल देशभर सामान्य बदली रही सबै प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ ।

आइतबार देशभर सामान्यदेखि पूर्ण बदली रही धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ । सोमबार देशैभर सामान्यदेखि पूर्ण बदली रही सबै प्रदेशमा हल्कादेखि मध्यम वर्षाका साथै प्रदेश १, २, वाग्मती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २१ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २७ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ ।