कार्यकारीको सनकमा चल्दै देश

Home Feature नपत्याए पनि

काठमाडौं । जब एक व्यक्तिले म नै सबैथोक हुँ भन्छ तब त्यसले सिंगो मुलुकलाई डुबाउँछ । हुनत भनिन्छ हरेक तानाशाहको अन्त्य हुने बेलामा धेरै नै अत्याचार हुने गर्छ ।

राणाशासनको पतनको उदाहरण नै काफी छ । तर विपक्षी दलहरु अहिले सरकारको सनक ठ्याक्कै राणाशासनको अन्त्यतिरको चक्र भएको विश्लेषण गरिरहेका छन् ।


हुन पनि ‘म मात्र राज्य हुँ’ भन्ने अहंकारले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो छविमात्र बिगारेका छैनन् उनको अगाडि पछाडि लाग्नेलाई पनि बदनाम बनाएका छन् । उनी सत्ताबाट बाहिरिनासाथ उनको आदर्श अपनाउनेहरु घर न घाटका बन्ने विश्लेषण गर्न थालिएको छ ।


जीर्ण हुँदै जाँदा आफ्ना शरीरका अंगले त साथ दिँदैनन् भने तानाशाहको चरम रुप बढ्दै जाँदा नजिकका पात्र पनि टाढाका हुन्छन् भन्ने ब्रम्हज्ञान भइदिएको भए सम्भवतः ओलीले त्यसो गर्ने थिएनन् कि । त्यही अबुझका कारण उनी आफ्नै दलभित्रको घेराबन्दीमा परेका छन् ।


ओलीलाई देखाइदिने भन्दै विपक्षीहरूले गठबन्धन बनाएर मोर्चाबन्दी कसेका छन् । आफ्नै दलभित्रका प्रभावशाली नेताहरूलाई बाइकट गर्ने नीतिले केन्द्र र प्रदेश सरकारमा ओली खेमाको शक्ति क्षीण बन्दै गएको छ । कांग्रेसले सपनामा पनि पाँच वर्ष सरकारमा जाने कल्पना गरेको पक्कै थिएन ।


तर ओली समूहको एउटा खम्बा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेतृत्व गरेको सत्ता ढलेसँगै नेतृत्व कांग्रेसको हातमा आएको छ । तर गुरुङले पनि ओलीकै बाटोमा आएर फेरि दावेदारी दिए ।

जसरी राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीका हर गल्ती माफ गरिदिँदै उनैलाई नै पटक पटक अवसर दिँदै आएकी छिन् त्यसरी नै गण्डकी प्रदेश प्रमुखको काम पनि भण्डारीको भन्दा बाहिर गएन । तर केही पार नलागेपछि कांग्रेसको नेतृत्वमा प्रदेश सरकार गयो । त्यही रुप लुम्बिनी प्रदेश सरकारमा शंकर भण्डारीलाई जोगाउन त्यहाँका प्रदेश प्रमुखले अपनाएको पाइन्छ ।


कर्णाली र सुदुरपश्चिम प्रदेश सरकारबाट माओवादीलाई धपाएर ओली समूहले सत्ताकब्जा गर्ने अवसर नपनाएको हैन । तर आफ्नै दलभित्र माधव नेपाल समूह घातक बनेर निस्कँदा ओली समूह निरीह मात्र बनेन शक्ति युद्धमा पराजित बन्नुप¥यो । कांग्रेस यहाँ पनि सरकारमा पुग्यो ।


हालै सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा पनि ओली समूह पराजित भयो । तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलको हारलाई विपक्षीहरूले उत्सवको रूपमा मनाए । सबै घटनामा ओलीलाई कमजोर बनाउन आफ्नै दलभित्रको अर्को समूह कारक बनेको छ ।


ओलीनिकट नेताहरूमा आक्रोश देखिन्छ । आफूविरोधी समूहलाई ‘भित्तामा पु¥याउने’ रणनीतिले प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत गुमाउनु प¥यो । आफूलाई कमजोर बनाउने माधव नेपाल समूहलाई गरिएको कारबाही अदालतले रद्ध गरिदिएपछि ओली समूह झन् आक्रोशित बन्दै गएको छ ।
बत्ती पनि निभ्ने बेलामा चम्किलो हुन्छ भन्छन् नि ठ्याक्कै त्यस्तै भएको विश्लेषण गरिन्छ । बेलगाम अध्यक्ष ओलीलाई सर्वोच्चको केही फैसलाले लगाम लगाइदिएको छ । कर्णालीका ४ सांसदको पुनर्वहाली, १० औं महाधिवेशन आयोजक कमिटीको निर्णय मान्यता नदिनु, दल त्याग गरेर माओवादीबाट प्रवेश गरेका रामबहादुर थापा बादल लगायतका नेताहरूलाई भूमिकाविहीन बनाइदिएपछि ओली ब्याकफुटमा धकेलिनुपरेको छ ।


त्यसो त एकपछि अर्को असफलतामा रुमलिएका ओलीले माधव नेपालसँग एकल र कार्यदल गरी पटक–पटक वार्ता भए । पूर्ववत् अवस्थामा फर्किने भनेर विज्ञप्ति पनि आयो । जुन् सकारात्मक कदम पनि थियो । माधव समूहको नजरमा भने फगत त्यो एउटा शक्ति जोगाउने ‘पोलिटिकल स्टण्ड’ बन्यो । नभन्दै ओलीले त्यही बेइमानी गरे ।


‘मरिच आफ्नै रागले चाउरिन्छ’ भनेझैँ राज्य व्यवस्था र नेकपा एमाले ओलीको व्यक्तिवादी सनकका कारण संकटमा परेको छ । पाँच महिनामा २ पटक प्रतिनिधिसभा विघटन गर्ने ‘कलंकित’ इतिहास ओलीले बनाइसकेका छन् ।

‘म भाँचिन्छु तर झुक्दिन’ भन्ने अहम् नेकपा एमाले र स्वयं अध्यक्ष ओलीको पतनको यात्रा हो । यो यात्रामा साथ दिनेहरु पनि त्यही भुंग्रोमा पर्ने निश्चित जस्तै छ ।