ओलीको सन्देश मोदीले सुनेनन्

Home Feature

काठमाडौं । केपी शर्मा ओलीले सरकारको नेतृत्व सम्हालेपछि भारतले नेपाललाई हेर्ने दृष्टिकोण फरक भएको छ । पहिले भाइ–भाइ नभने पनि ओलीले सम्हालेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भाइ नै मानेका छन् । सम्भवतः त्यसकै कारण नेपाल हेपिएको छ । भाइ–भाइबीचको अंशबण्डाजस्तै गरी नेपाली भूमिमा भारतले सडक बनाउँछ । भारत फेरि नेपाली भूमि समेटेको नक्सा बनाउँछ ।
त्यस्तै दवावमा आएका ओली पनि वाध्य भएर नक्सा थप्छन् । तर फेरि दाइको आदेशजस्तै गरी नक्साको फण्डा रोकिदिन्छन् । यतिसम्मकि पाठ्यक्रममा समेत नराख्न निर्देशन दिन्छन् । त्यतिबेला आफूलाई हटाउन भारतले भूमिका खेलेको समेत आरोप लगाए ।
अताल्लिएका ओलीलाई फेरि मोदीले सम्हाले । रअका प्रमुख सामन्तकुमार गोयललाई पठाएर सबै सेटिङ गरे । अहिले ओलीले मोदीकै निर्देशानुसार नै संसद विघटन गरेको आरोप ओलीमाथि छ । तर यसपटक मोदीले निराशा दिलाएका छन् ।
नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे ओलीको सन्देश लिएर परराष्ट्रमन्त्री स्तरीय नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन नयाँदिल्ली गएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली मोदीसँग भेट नगरी स्वदेश फर्कन वाध्य भएका छन् । उनलाई मोदीले टेर्दै टेरेनन् ।
ज्ञवाली स्वदेश फर्कनु अघिसम्म मोदीसँग भेटका लागि समय मिलाउन प्रयासरत थिए । तर मोदीले समय नदिएपछि भेट सम्भव नभएको हो । पालैपालो दुई देशमा हुँदै आएको नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकका बेला परराष्ट्र मन्त्रीले सरकार प्रमुखसँग भेट्ने परम्परा रहेको छ ।
ज्ञवालीसँग मोदीले भेट गर्ने समय नदिएपछि नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलाई भारतले कुन रुपमा लिएको छ भन्ने स्पष्ट हुन नसकेको मन्त्री ज्ञवालीको बुझाइ छ । तर भेट्न खोजेजस्तो गर्ने अनि नभेटी फर्कदा भारतले वास्ता गरेको रहेनछ भनी नयाँ सन्देश दिएजस्तो गरी गोप्य योजनालाई गोप्य नै राख्न खोजिएको त हैन ? भनी विश्लेषणसमेत हुन थालेको छ ।
मन्त्री ज्ञवालीले शनिबार बिहान भारतीय रक्षामन्त्री राजनाथ सिंहसँग भने भेट गरेका थिए । स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले भारतका विदेशमन्त्री एस जयशंकरसँग भएको वार्ताका क्रममा नेपाललाई आवश्यक कोभिड भ्याक्सिनको तत्कालको आवश्यकता भारतले पूर्ति गरिदिने सहमति भएको जानकारी दिए ।
सन् १९५० को सुगौली सन्धीको पुनरावलोकन, प्रबुद्ध समूहले तयार पारेको प्रतिवेदन, सीमासम्बन्धी कार्यहरु टुंग्याउने लगायतका विषयमा गहन छलफल भइ सकारात्मक निष्कर्ष निकालेको पनि उनले बताए । त्यस्तै कोभिडका कारण बन्द भएका हवाई तथा स्थलमार्गहरु क्रमशः खोल्दै जाने सहमति पनि भएको छ । रक्सौल–काठमाडौं रेलमार्गको सर्वेक्षण निरन्तर जारी राख्ने तथा जयनगर–कुर्था रेल चाँडै सञ्चालनमा ल्याउने दुई देशका अधिकारीहरुबीच सहमति भएको छ ।
पारवहन तथा रेल सम्बन्धी सम्झौता पुनरावलोकनको सहमति पनि भ्रमणका क्रममा भएको परराष्ट्रमन्त्री ज्ञवालीले बताए । बैठकले राजनीतिक सुरक्षा तथा सीमा कनेक्टिभिटी, पूर्वाधार एवम् आर्थिक सहयोग, व्यापार तथा पारवहन, ऊर्जा तथा जलस्रोत, संस्कृति, पर्यटन तथा शिक्षा गरी मुख्यतयाः पाँचवटा समूहअन्तर्गत आपसी सहयोगका विविध पक्षहरूमा समष्टिगत समीक्षा गर्दै द्विपक्षीय सहयोग प्रवर्द्धन गर्ने सहमति गरेको ज्ञवालीले जानकारी दिए ।
यो त केवल औपचारिकतामात्र थियो । खासमा उनले ओलीको कदमप्रति भारतले दिएको आश्वासन र लिएको धारणा बुझेर फर्केका छन् । चुनावको घोषणा गरेपछि कतिपय विषयहरु अगाडि बढ्दैनन् । तर सरकारलाई त्यसको कुनै पर्वाह छैन । जे नै भए पनि मोदीले प्रत्यक्ष रुपले नेपालीबाट ओलीको सन्देश नसुनेपछि ओलीलाई फेरि बेचैनी हुने निश्चित छ ।