काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीभित्र कुरुप प्रदर्शन गरेका छन् । सबैभन्दा ठूलो लोकतान्त्रिक पार्टी भनिएको कांग्रेसलाई कुरुप बनाउने क्रममा देउवाले प्रशासनको आडमा भए पनि वडा अधिवेशन गराएका छन् । यसक्रममा उनले पार्टीको मूल्य र मान्यतालाई तिलाञ्जलि दिएका छन् । उनले संस्थापन इतर कसैको पनि कुरा सुनिरहेका छैनन् । चाहे रामचन्द्र पौडेल हुन् वा अन्य नेताहरु उनले कसैलाई पनि टेरेका छैनन् । तानाशाही सभापति बन्ने क्रममा उनले आफ्नो खेमाका उपाध्यक्ष विमलेन्द्र निधीलाई त गुमाइसकेका छन् नै हेर्दाहेर्दै आफ्नो अस्तित्व पनि रोकिँदै जाने भएपछि पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आफू एक्लैले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन् । देउवाले आफू पुनः पार्टी सभापति हुनका लागि वर्षौंदेखिका क्रियाशील सदस्यलाई हुत्याएर नयाँ, आफ्ना आसेपासे र अन्य दलकै भए पनि कार्यकर्तालाई क्रियाशील बनाएको खवर छ ।
उनले डडेलधुरामा त प्रशासनको सहयोग लिएर चुनाव गराएका छन् । ताकि सबै आफ्ना प्रतिनिधि आउन् र आफूलाई सभापति बन्नका लागि सघाउन् । पार्टीमा आफूसँग स्पष्ट बहुमत हुँदा पनि केन्द्रीय समिति र अन्य बैठकमा बहुमतले निर्णय नगरी विपक्षीका माग र मुद्दाको सम्बोधन गर्दै आएका देउवा महाधिवेशनको प्रक्रियामा भने अन्ततः पेलेरै अघि बढेका छन् । डडेलधुराबाट बाँकी २० जिल्लामा पनि क्रियाशील सदस्यताको विषयमा देउवा पक्ष यसैगरी अघि बढ्नसक्ने संकेत गरेको छ ।
क्रियाशील सदस्य कांग्रेसको वडा अधिवेशनका मतदाता हुन् । त्यहीकारण नेताहरूले आफूअनुकुल सदस्य थप गर्ने प्रयास गर्छन् । देउवाले डडेलधुरामा त्यही गरेका छन् । मान्छे छानी–छानी नाम काटिइएको छ । यतिसम्म कि वडासभापति र रुख चिन्हबाट निर्वाचित स्थानीय जनप्रतिनिधिको समेत नाम काटिएको छ । समायोजनका नाममा पाँच सय हाराहारीको नाम थपिएको छ । पार्टीको चुनावका लागि हरेक वडामा प्रहरी खटिएका छन् । यस्तो लाग्छ यो आम निर्वाचन हो । निर्दलीय व्यवस्थामा पनि यस्तो चुनाव नहुने डडेलधुराबाट विभिन्न नेताहरुले बताएका छन् । जिल्लामा विधि विपरीत सदस्य थपिएको विषय उठाएपछि देउवाले स्थानीय तहसम्मको टिकट बाँडेर समेत कार्यकर्तालाई अधिवेशनमा सहभागी गराएको आरोप इतर पक्षको छ ।
डडेलधुरामा देउवाले पेलेरै वडा अधिवेशन गरेपछि वरिष्ठ नेता रामचन्द्र पौडेलले आपत्ति जनाएका छन् । ‘जिल्ला सभापतिकै सहभागिता बेगर शक्तिको दुरुपयोग गरी वडा अधिवेशन गराउनु लोकतन्त्रकै उपहास भयो । पार्टीको सिद्धान्त, निष्ठा र लोकतन्त्र, तर व्यवहार अलोकतान्त्रिक,’ भनी पौडेलले यो महाधिवेशनका लागि शुभसंकेत नभएको बताएका छन् । त्यस्तै एक दर्जन केन्द्रीय सदस्यहरू चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, रत्ना शेरचन, गुरुराज घिमिरे, गगन थापा, बद्री पाण्डे, सरिता प्रसाईं, जीवन परियार, प्रदीप पौडेल, रामकृष्ण यादव र किरण यादवले सामूहिक विज्ञप्ति जारी गर्दै डडेलधुरामा भएको वडा अधिवेशनको विरोध गरेका छन् । उनीहरुको विज्ञप्तिमा भनिएको छ, ‘‘डडेलधुरामा विधि र प्रक्रिया विपरीत केन्द्रबाट थोपरिएका क्रियाशील सदस्यहरू खारेज गरी विधिसम्मत रुपमा जिल्लाबाट पठाइएका क्रियाशील सदस्यहरूको नामावली कायम गरेर मात्र अधिवेशनको प्रक्रिया सुरु गरियोस् भन्ने माग गरिरहेको जिल्ला कार्यसमितिको आग्रह बमोजिम विधिसम्मत अधिवेशन गराइनुपर्छ ।’
उनीहरुले केन्द्रीय कार्यसमितिको बैठक अविलम्ब बोलाउन र महाधिवेशन हुने वातावरण सुनिश्चित गर्नसमेत माग गरेका छन् । सदस्यताको विवाद मिलाउन नसकेका कारण कांग्रेसले वडा अधिवेशन गर्न बाँकी २० जिल्लामा ५ असोजमा वडा अधिवेशन गर्ने मिति तोकेको छ । गत शुक्रबार कार्यतालिकामै संशोधन गर्दै केन्द्रीय निर्वाचन समितिले २७ भदौका लागि तोकिएको पालिका तहको अधिवेशन ९ असोजका लागि सारेको छ । त्यतिमात्र हैन १२ असोजमा प्रदेशसभा क्षेत्रीय अधिवेशन, १५ असोजमा प्रतिनिधिसभा क्षेत्र र एकमात्र क्षेत्र भएका जिल्लाको अधिवेशन र १८ असोजमा एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन गर्ने नयाँ कार्यतालिका बनाएको हो । संशोधित प्रदेश अधिवेशन र केन्द्रीय महाधिवेशन भने यसअघि तोकिएकै मितिमा हुनेछ । कांग्रेसले मंसिर ९–१३ मा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका छ । तर डडेलधुरा शैलीमा गरिएको अधिवेशनपछि आउने नेतृत्वले कांग्रेसलाई भलो गर्ने कुनै आशा देखिँदैन ।
यतिसम्मकी आफ्नो पक्षमा नतिजा पार्नका लागि अन्य दलका सदस्यलाईसमेत क्रियाशील सदस्य बनाएर लैजाँदा वर्षौंदेखि निस्वार्थ क्रियाशील सदस्य भएकाको दशा के होला ? के देउवालाई अझै अगाडि जान दिन मिल्छ ? अहिलेका प्रवक्ता एवं होनहार युवा नेता विश्वप्रकाश शर्माले आफूलाई महामन्त्री बनाएर तीन कार्यकाल कांग्रेसलाई सरकारको नेतृत्वमा लैजाने ग्यारेन्टी दिलाएका छन् । के आफ्नै पार्टीभित्रको यो कुरुप दृष्य शर्माले नदेखेकै हुन् ? या उनले यही दृष्यलाई मजबुद बनाएरै पार्टीलाई सत्तामा पु¥याउन खोजेका हुन् ?