ओलीले चाहेजस्तो ‘किचन क्याबिनेट’

समाचार


काठमाडौं । एमालेको दशौं महाधिवेशनबाट पार्टी केपी शर्मा ओलीले चाहे जस्तो ‘किचन क्याबिनेट’ बनेको छ । चितवनमा मंगलबार सम्पन्न एमालेको महाधिवेशनबाट वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिवमा सर्वसम्मत भएका टिम नै अहिलको ओलीको ‘किचन क्याविनेट’ बनेको हो । अध्यक्ष ओलीसँग रहेको अहिलेको टिम वरिष्ठ उपाध्यक्षदेखि महासचिवसम्म हेर्दा राजनीतिक रुपमा कठोर रहेको छ । वरिष्ठ उपाध्यक्षदेखि महासचिवसम्मको कार्यकारी टिमलाई हेर्ने हो ओली सरकारलाई सहयोग गर्ने र सरसल्लाहकार समूहमा रहेर बसेकै टिमले पार्टीलाई आफ्नो कब्जामा लिएको छ । ओलीलाई अप्ठेरो पर्ने बित्तिकै लुम्बिनी प्रदेशबाट कुँदेर आउने शंकर पोखरेल महासचिव बनेका छन् ।
प्रमुख राजनीतिक सल्लाहकार रहेका विष्णु रिमाल उपमहासचिव बनेका छन् । शालीन ढंगले ओलीलाई सहयोग गर्ने प्रदीप ज्ञवाली पनि उपमहासचिव बनेका छन् । संयोग चाहिँ यो छ कि नवौं महाधिवेशनमा उपमहासचिवमा हारेका शंकर पोखरेल सर्वसम्मत महासचिव भए भने नवौं महाधिवेशनमै सचिवबाट पराजित भएका विष्णु रिमाल उपमहासचिव भए । अहिलेको महाधिवेशनमा सबैभन्दा अलोकप्रिय रहेका ईश्वर पोखरेल वरिष्ठ उपाध्यक्ष र शंकर पोखरेल महासचिव तथा विष्णु रिमाल उपमहासचिव बनाउनु ओलीका लागि सबैभन्दा ठूलो सफलता रह्यो । ओली आफू चुनाव लड्न तयार भएर पनि उनीहरुलाई पहिला सर्वसम्मत गराउन सफल भए । यसले ओलीलाई पार्टी भित्र शक्तिशाली मात्रै बनाएको छैन सिंगो एमालेको सांगठनिक संरचना वैधानिक रुपमा कब्जा गरेका छन् । ओलीकै आडमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाललाई पनि पार्टी शक्ति आर्जन गर्ने अवसर पनि जुटेको छ । एमाले(माओवादी एकिकरणको समयमा घटुवामा परेपछि माओवादीको आलोचना गर्दै आएका ईश्वर पोखरेलले वरिष्ठ उपाध्यक्ष भएका छन् । उनले नेकपा कालमै बहुदली जनवादको वकालत गर्दै आएका थिए । यसमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको पनि चासो रहेको थियो । नेकपा कालबाटै राष्ट्रपतिको भावाना अनुरुप वकालत गर्दै आएका ईश्वर पोखरेललाई यसपटक सर्वसम्मत बनाउन ओली बाध्यकारी भए ।
त्यस्तै मदन भण्डारीले समेत मन पराएका शंकर पोखरेललाई सर्वसम्मत महासचिव बनाउन पनि राष्ट्रपतिको ठूलो प्रेसर परेको थियो । सोही मुताविक ओलीले यी दुवैलाई पहिलो नम्बरमै सर्वसम्मत गराएर मात्रै महाधिवेशन हललाई निर्वाचनतर्फ धकेले । ओलीले आफ्ना विश्वासपात्र र महासचिवका दुई आकांक्षीमध्ये कसलाई छान्छन् भन्ने विषयमा निकै अप्ठेरोमा थिए । एमालेमा महाधिवेशनबाट ओली अध्यक्ष बन्ने पक्काजस्तै भएकाले पनि यसपटक महासचिव पदमा सबैको चासो थियो । एमाले विधानअनुसार पदाधिकारीमा एउटै व्यक्ति दुईपटकभन्दा बढी दोहोरिन पाउँदैन ।
त्यसैले ईश्वर पोखरेल महासचिव नहुने पक्का भएपछि ओलीलाई विष्णु पौडेल र शंकर पोखरेल छान्नुपर्ने अवस्था आइलागेको थियो । अध्यक्ष ओलीसहित ईश्वर पोखरेल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, सुवास नेम्वाङ, रामबहादुर थापा बादल लगायत नेता उमेर हदकै कारण आगामी महाधिवेशनअघि राजनीतिक रुपमा अवकाश पाउने अवस्थामा अहिलेको महासचिव नै भावी अध्यक्ष हुने प्रवल संभावना हुन्छ । महासचिव भएर सिंगो पार्टीको संगठन चलाएपछि उसले पार्टीभित्र पकड थप कसिलो बनाउने मौका पाउँछ । त्यसैले अन्तिम समयसम्म विष्णु पौडेल र शंकर पोखरेल दुवैले दाबी कायम राखे । ओलीलाई नजिकबाट चिन्ने कतिपय
लाई भने उनले कसलाई छान्छन् भन्नेमा कुनै द्धिविधा थिएन । ओली पोखरेललाई आफ्नो उत्तराधिकारीका रूपमा देख्न चाहन्छन् भन्ने संकेत उनले पछिल्ला केही समयदेखि दिइरहेका पनि थिए । गोदावरीमा भएको विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदन पढिरहेका ओलीले घाँटी सुकेको बहानामा पोखरेललाई उक्त प्रतिवेदन पढ्न दिए ।
पाँच हजार एमाले प्रतिनिधि सामु ओलीले पोखरेलका पक्षमा दिन खोजेको स्पस्ट संकेत दिए पनि संगठनमा विष्णु पौडेलको होल्ड थियो । त्यसकारण पनि ओली पदाधिकारीमा सकेसम्म चुनाव नहोस् र भए पनि दुई पोखरेललाई सर्वसम्मत बनाउन सकियोस् भन्नेतिर लागे । त्यही मेसोमा विष्णु रिमाल पनि उपमहासचिवमा बढुवा भए । उनीहरु तीन जना विचारमा स्पष्ट भएका र पार्टीमा समन्वय गर्नेभन्दा आलोचकका विचारलाई बेवास्ता गर्दै अघि बढ्ने प्रवृत्ति भएका नेताहरु हुन् । ओलीको साथ यी तीनलाई कार्यकारी तहमा रहनेछ । ओली आफ्नै विरोधिप्रति कठोर हुन्छन् । त्यसमाथि पार्टीको कार्यकारी तहमा भएका दुई नेताहरुको साथले पार्टीमा कठोर नेताहरुको बाहुल्यता बढ्ने देखिएको छ । एमालेको जन्म नै कोर्डिनेशन केन्द्रबाट बनेको माले हुँदै भएको हो । अहिले एमालेमा कोर्डिनेशन केन्द्रका एक जना वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल मात्रै छन् ।
विगत सात वर्षदेखि पोखरेलका नेता रहेको ओलीले विगतमा लामो समय माओवादीको आलोचना गरेर पार्टीमा शक्ति आर्जन गर्दै आएका थिए । माओवादी द्वन्द्व र माओवादी शान्ति प्रकृयामा आएपछि पनि माओवादीका गतिविधिको आलोचना गरेर पार्टीमा शक्ति आर्जन गरेका हुन् ।
ओलीले एक्लै माओवादीको आलोचना गर्दा वैचारिक रुपमा साथ दिँदै आएका शंकर पोखरेललाई विना प्रतिस्पर्धा महासचिव बनाउन सफल भएका छन् । माओवादी द्वन्द्वको समय होस् वा अन्य समयमा पनि ओलीले लोकतन्त्रको वकालत गरे । ओलीको साथमा रहेका शंकर पोखरेल निरन्तर लोकतन्त्रको वकालत गर्दै आएका थिए ।
तर ओली पार्टी सत्तामा आएपछि सर्वसम्मत गर्नेतर्फ लागे । शंकर पोखरेल पनि त्यही मार्गमा सामेल भए र प्रतिनिधिबाट निर्वाचित हुन चाहेनन् । यसर्थ नवौं महाधिवेशनमा उपमहासचिवमा पराजित भएका शंकर पोखरेललाई महासचिव बनाउनकै लागि दशौं महाधिवेशन लम्बिएको थियो भन्न असहज छैन ।