नेकपामा ओलीलाई ट्रयापमा पार्ने नयाँ सूत्र, १५२ सदस्यद्धारा केन्द्रीय समितिको बैठक माग

Home Feature राजनीति समाचार

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई जसरी पनि ट्रयापमा पारेर गलाउने रणनीतिमा इतर समूहका नेताहरु लागेका छन् ।
ओलीले दुवै पद नछाडेपछि उनलाई केन्द्रीय समिति बैठकबाट हुत्याउने प्रयत्न सुरु भएको हो ।

नेकपाका १५२ केन्द्रीय सदस्यले केन्द्रीय समितिको बैठक माग गर्दै अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै पत्र बुझाएका छन् ।

पार्टी भित्रको विवाद चर्किदै गएपछि केन्द्रीय समितिको माग गर्दै बुधबार दिउँसो पार्टी मुख्यालय धुम्बाराही पुगेर नेताहरुले पार्टी कार्यालय सचिव श्रीराम ढकाललाई बुझाएका हुन् ।

यसअघि नेताहरुले महासचिव विष्णु पौडेललाई पत्र बुझाउने तयारी गरेका थिए । महासचिव पौडेल कार्यव्यस्तता देखाउँदै पार्टी कार्यालयमा उपस्थित नभएपछि नेताहरुले कार्यालय सचिव ढकाललाई पत्र बुझाएका हुन् ।

पत्र बुझाउनेमा माधवकुमार नेपाल र प्रचण्ड पक्षका नेताहरु रहेका छन् । धेरैजसो भने नेपाल पक्षका छन् । जसमा डा विजय पौडेल, जगन्नाथ खतिवडा, ठाकुर गैरे, रामकुमारी झाक्री, हिमाल शर्मा लगायत रहेका छन् ।

प्रधानमन्त्री ओली जारी स्थायी समिति बैठक रोकेर महाधिवेशनमा केन्द्रित भएको भन्दै केन्द्रीय सदस्यले आपत्ति जनाएका हुन् । नेकपाको विधान अनुसार २५ प्रतिशत केन्द्रीय सदस्यले बैठक माग गरे एक महिनाभित्र बोलाउनुपर्ने हुन्छ ।

४४१ केन्द्रीय सदस्यको २५ प्रतिशत ११२ जना हुन्छ । त्यो भन्दा कयौं बढीको संख्यामा सदस्यहरुले हस्ताक्षरसहितको पत्र बुझाएका हुन् ।