सभापतिमा देउवाको दोस्रो इनिङ्स सुरु भयो, सेञ्चुरी नहानेपनि हाफ सेन्चुरी हान्ने अवस्थामा पु¥याउँछौ

अन्तर्वार्ता

धनराज गुरुङ, नवनिर्वाचित उपसभापति, नेपाली कांग्रेस


सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट नयाँ नेतृत्व आएको छ । सभापतिमा शेरबहादुर देउवा सभापतिमा पुन निर्वाचित भइसकेका छन् भने अन्य पदमा युवा नेतृत्व आएको छ । महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका बेला उप–सभापतिमा युवा नेता धनराज गुरुङ निर्वाचित भएका छन् । उपसभापतिमा निर्वाचित गुरुङले पार्टी अब रुपान्तरणको अभियानमा होमिएको जनाएका छन् । कांग्रेस उपसभापतिमा निर्वाचित गुरुङसँग गरिएको कुरकानीको मुख्य अंश ः
नेपाली कांग्रेसको उपसभापतिमा निर्वाचित हुनुभएको छ, अब पार्टी रुपान्तरणको प्रक्रिया सुरु भएको हो ?
१४ औं महाधिवेशनको परिणामलाई हेर्दा अब कांग्रेसमा रुपान्तरण सुरु भइसकेको छ । हामीले रुपान्तरणको आवाज उठाउँदै आएका थियौं, यो आवाजलाई महाधिवेशन प्रतिनिधिहरुले सुनिदिनुभयो, अब कामले सावित गर्नुपर्ने बेला आएको छ । रुपान्तरणको कुरा शब्दजालमात्रै थियो भन्ने परिस्थिति बन्यो भने हामी नालायक बन्छौं । पार्टीभित्रको पहिलो रुपान्तरण हुनुपर्छ भनेर महाधिवेशनको मैदानमा यो नारा घन्काएर लिएका थियौं । हामीले रुपान्तरण र परिवर्तनको पक्षमा मत माग्यौं । हामी विजयी पनि भयौं । रुपान्तरणको अभियान हामीले सभापतिबाट सुरु गर्छौं ।
शेरबहादुर देउवाजीले हिजो एक कार्यकाल बिताउनुभयो । अब दोस्रो कार्यकालको यात्रा प्रारम्भ भएको छ । क्रिकेटमा टेस्ट म्याच हुन्छ, एउटै ब्याट्सम्यानले पहिलो र दोस्रो ईनिङ्स ब्याटिङ गर्नुहुन्छ । टेष्ट म्याचमा पनि पहिलो इनिङ्स्मा डकआउट हुनेले दोस्रोमा सेन्चुरी हान्ने गरेको छ । अहिले सभापतिमा देउवाको दोस्रो इनिङ्स सुरु भयो । हामी पनि ब्याट्सम्यान छौं। अब उहाँले सेञ्चुरी नहानेपनि हाफ सेन्चुरी हान्नुहुन्छ, हामी उहाँलाई यो ठाउँमा पु¥याउँछौं । विधि र विधानबमोजिम चल्ने पार्टी बनाउँछौं। हिजो हामीले विधि र विधान मिच्यौं, २ महिनाभित्र विभाग गठन गर्ने कुरा विधानमा लेखिएको छ । तर, पाँच वर्ष पुग्दा पनि विभाग गठनको लागि पत्राचार भैरहेको छ। हामी विधि र विधानअनुसार पार्टी चलाउने पक्षमा छौं ।
अबको अग्नि परीक्षा त तपाईँहरुको पनि सुरु भएको नि होइन ? कि तपाईँहरु पनि अब ६०–४० को भागवण्डामा केन्द्रित हुनुहुन्छ ?
हामी अग्नि परीक्षामा छौं, रुपान्तरण भनेको पद्धती अनुसार चल्ने पार्टी बनाउँछौं । विधि र पद्धती स्थापित गर्ने पक्षले भागबण्डा खोज्दैन । यो महाधिवेशनमा हाम्रो विचार समूहले ४० प्रतिशत मत पायो । हाम्रो प्यानलले लोकप्रिय मत पायो । भागबण्डामा हात थाप्न थाल्यौं भने हामी पनि पूरातनवादी भैहाल्छौं । महािधेवशनको दौरान चुनावी मैदानमा प्यानल बन्यो । अर्को समूहले ६० प्रतिशत मत पायो र हाम्रो समूहले ४० मत पायो । म ४० प्रतिशतको मात्रै उपसभापति होइन । सभापति देउवा पनि पनि ६० प्रतिशतको पनि होईन । सबैको सभापति हो । हामी पनि सबैको हो । पार्टीमा भागबण्डा हुँदैन ।
जनजनसम्म कांग्रेसलाई कसरी पु¥याउनुहुन्छ ?
जनजनको मनमनमा बस्ने कांग्रेस बनाउनको लागि, जनतासँग जोड्ने कुरा के–के हुन ? यो नियाँलेर जानुपर्छ । कुशासनले जनता वाक्क दिक्क भएका छन् । नेपालको राजनीति विकृति र विसंगतिको थलो बनेको छ। नेताहरुको नाम ठूलो–ठूलो भ्रष्टाचारको काण्डमा जोडिएको छ । अरबौंको भ्रष्टाचारमा । भ्रष्टाचारका फाइल अख्तियारको दराजमा छन्, त्यहाँ तोड्न सक्नुपर्छ । अब भन्नेमात्रै होइन, गर्ने ठाउँमा हामी पुगेका छौं । पार्टीलाई जनतासँग जोड्ने कुरा छन्, यसमा जनताले दुःख पाएको ठाउँमा हित गर्ने हो । भ्रष्टाचार भनेको कुशासन हो । अहिले सुशासन प्राप्त भएको छैन । अब हाम्रो रोडम्याप सुशासनबाट सुरु हुन्छ । अलमलिने नेताले गन्तव्य प्राप्त गर्न सक्दैन । हाम्रासामू पनि अवसर र चुनौती दुवै छन् । चुनौतीलाई म अवसरमा बदल्ने साहस लिएर आएको हुँ । जनताको बीचमा कांग्रेसलाई लोकप्रिय बनाउनको लागि काम गर्नुपर्छ । ३७ प्रतिशतको कांग्रेसलाई ५१ प्रतिशतको कांग्रेस बनाउने हो । हामीसँग कार्यक्रम छ। हामी यो लागू गर्छौं ।
मुलुकमा राजनीतिक व्यवस्था परिवर्तन भए, नेतृत्व परिवर्तन भए । तर जनताको अवस्था परिवर्तन भएन । त्यसलाई कसरी अन्त्य गर्नुहुन्छ ?
यो महत्वपूर्ण विषय हो । अब यसलाई अन्त्य गर्नुपर्छ। मुलुकमा विकृति र विसंगति कुरुप रुपमा झाँगिएका छन् यसलाई अन्त्य गर्नुपर्छ । यदि यो लागू गरिएन भने महाधिवेशन प्रतिनिधिहकरुले दिएको मत र जिम्मेवारी बोक्न नसकेको ठहरिन्छ । नवनिर्वाचित समिति आउन लागेको छ । सरकार पनि नयाँ ढंगले चल्न आवश्यक छ। यो सरकार त संविधान जोगाउने क्रममा बाई–प्रोडक्ट हो । यो संयुक्त सरकारलाई हाम्रो पार्टीबाट के सहयोग गर्नुपर्छ ? त्यो हामी गर्छौं । सरकारले घिनलाग्दो र नराम्रो काम नगरिदिए हुन्छ । अहिलेसम्म जुन जोगी आएपनि कानै चिरेको भन्ने भैरहेको छ । ओलीजी प्रधानमन्त्री हुँदा संसद्को ढोका बन्द गरेर अध्यादेशमार्फत देश चलाउनु भयो । हाम्रो सभापति देउवा प्रधानमन्त्री भएपछि पनि संसद्को ढोका बन्द गरेर देश चलाउन खोज्नुभयो । हामीले विरोध गरेको हो । हिजोको सरकार र आजको सरकार उस्तैउस्तै पदचापमा अघि बढ्ने हो भने त्यो परिवर्तन होईन । हामी कांग्रेसको नेतृत्वमा आईसकेको अवस्था छ । सरकार अब सजग हुनुपर्छ । लोतेपोतेबाट चल्नुहुँदैन । सरकारले नयाँ ढंगबाट चल्न आवश्यक छ ।
असअघि यहाँहरुले देउवाको कार्यकाल स्मरणयोग्य नभएको आरोप लगाउनुहुन्थ्यो । अहिले फेरि देउवा नै सभापतिमा निर्वाचित हुनु भएको छ । कसरी काम गर्नुहुन्छ ?
देउवा प्रधानमन्त्री हुँदा हामीहरु विचारको समूहको रुपमा बधाई दिन गएका थियौं । त्यतिवेला पनि प्रधानमन्त्रीको रुपमा पाँचौं कार्यकालमा स्मरणयोग्य काम होस भनेर हामीले भनेका थियौं । यहाँको चार कार्यकाल स्मरणयोग्य भएन । अब पाँचौ कार्यकाल वाह देउवा बनाउनुहोस । खोपसँगैसँगै भ्रष्टाचारको काण्डहरु एक÷दुई वटा फाइल खोल्न निर्देशन दिनुहोस भनें । तर, अहिलेसम्म भ्रष्टाचारको फाइल खोलेको कुरा सुन्न पाइनँ । भ्रष्टाचारको फाइल खोल्ने हो भने क्यान्टोनमेन्टबाट खोल्नुपर्यो भन्ने कुरा आयो । सर्पको खुट्टा सर्पले देख्छ भनेजस्तै हो । अब छुट यो सरकारलाई हुनेछैन । देखावटी काम गर्ने होइन । सारमा काम गर्न आवश्यक छ । हामी सरकारलाई सकारात्मक सुझाव दिन्छौं । सरकारलाई पनि मोडालिटी चेन्ज गरेर अघि बढ्नुहोस भन्ने आग्रह हुन्छ ।
अहिले गठबन्धनलाई निरन्तरता दिनुपर्ने आवाज उठेको छ, त्यसको विरोध तपाईँहरुले गर्दै आउनु भएको छ । अब आउने चुनावमा कांग्रेस एक्ले निर्वाचनमा जान्छ वा गठबन्धन बनाएर जान्छ ?
हिजो कांग्रेसले क–कसको बैशाखी टेक्यो, त्यो इतिहास हो । तर अब कांग्रेसलाई कसैको बैशाखी चाहिँदैन् । एक्लै चुनाव लड्छ। चुनावी मैदानमा पुगेर ५१ प्रतिशत पुर्याउन चाहन्छौं । बैशाखी टेकेर सवल खुट्टा टेकेको पार्टीसँग लड्न सकिँदैन् । हाम्रो दुवै खुट्टा सवल छन् । यो भुल अब हुँदैन । विगतमा भयो होला । विगतमा कांग्रेसीहरुले रुँदै अर्को चुनाव चिन्हमा भोट हाले होलान् । हामी अब प्रतिवाद गर्छौं । हामी विधि, विधान, सिद्धान्त र आर्दशबमोजिम नेपाली कांग्रेसलाई हाँक्छौं, यसैगरि पार्टी जनताको पक्षमा पुग्छ । हाम्रो कार्यक्रम लिएर चुनाव जित्छौं ।
विचार समूह र प्यानल त निर्वाचनको मैदानमा थियो । अब सबैलाई गोलबन्द गरेर अघि बढ्ने हो । डा. मिनेन्द्र रिजालले नैतिकताको रुपमा राजीनामा दिनुभयो । राम्रो गर्नुभयो । उच्च नैतिकताको आधारमा राजीनामा गरेको हो । हामी खेलको मैदानबाट बाहिरियौं । देउवा सबैको सभापति हो । धनराज, विश्वप्रकाश र गगन थापा पनि सबैको हो । प्रकाशमानजी गणेशमानजीको पुत्र हो, उहाँको त राजनीतिक संस्कारको पाठशालको घर नै थियो नि । मेरो बाल्यकालको कुरा गर्दा म त गोवर सोहोरेर आएको हुँ । प्रकाशमानजीलाई सानैदेखि राजनीतिक संस्कारको पाठशालको घर नै बन्यो । त्यो पाठशालामा हुर्किएको व्यक्तिलाई अहिले म केही भन्न चाहन्नँ ।